दोस्रो त्रैमासमा चार प्रतिशत आर्थिक वृद्धि भएको सरकारको अनुमान
काठमाडौं । सरकारले चालू आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमास (कात्तिक, मंसिर र पुस)मा चार प्रतिशत आर्थिक वृद्धि भएको प्रारम्भिक अनुमान गरेको छ । राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार कुल गार्हस्थ्य उत्पादनसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै तीन महिनामा चार प्रतिशत आर्थिक वृद्धि हासिल भएको अनुमान गरेको हो ।
दोस्रो त्रैमासमा अर्थतन्त्रको धनात्मक वृद्धि हुनुमा धानलगायत अन्नबाली र अन्य कृषि उत्पादनमा भएको वृद्धि तथा पर्यटन आगमनमा भएको वृद्धिसँगै होटल क्षेत्रको कुल मूल्य अभिवृद्धिमा भएको बढोत्तरी प्रमुख कारक रहेको प्रतिवेदनमा उल्लेख छ । यस्तै व्यापार क्षेत्रमा भएको झिनो वृद्धि तथा उद्योगबाहेकका अन्य क्षेत्रहरूको धनात्मक वृद्धिले गर्दा समग्र अर्थतन्त्र सकारात्मक वृद्धितर्फ उन्मुख रहेको कार्यालयले जनाएको छ ।
मौसमी प्रभाव समायोजित त्रैमासिक कुल गार्हस्थ्य उत्पादन आधारभूत मूल्यमा चालू आर्थिक वर्षको पहिलो त्रैमासिकको तुलनामा दोस्रो त्रैमासिकमा शून्य दशमलव सात प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान गरेको छ । पहिलो त्रैमासिकको तुलनामा दोस्रो त्रैमासिकमा प्रस्तुत गरिएका कुल १८ ओटा क्षेत्रमध्ये छवटा औद्योगिक क्षेत्रहरूमा आएको संकुचनको प्रभाव कुल गार्हस्थ्य उत्पादनमा देखिएको कारण अर्थतन्त्रमा समान्य वृद्धि देखिएको उल्लेख गरेको छ ।
चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक र गत आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिबीच क्षेत्रगत तुलना गर्दा प्रस्तुत गरिएका अर्थतन्त्रका १८ वटा औद्योगिक वर्गीकरणमध्ये १७ ओटा औद्योगिक क्षेत्रहरूको कुल मूल्य अभिवृद्धि वृद्धिदर धनात्मक छ । जसमध्ये आवास तथा भोजन सेवासँग सम्बन्धित क्रियाकलापको सबैभन्दा धेरै वृद्धिदर २९ दशमलव तीन प्रतिशत रहेको छ भने विद्युत् तथा ग्यास क्षेत्र १७ दशमलव एक प्रतिशत वृद्धिदर सहित दोस्रो धेरै वृद्धि हुने औद्योगिक क्षेत्र रहेको छ । यी औद्यागिक क्षेत्रलाई पछ्याउँदै यातायात तथा भण्डारण क्षेत्रले १४ दशमलव तीन प्रतिशत वृद्धिदर कायम गरेको छ ।
खानी तथा उत्खनन क्षेत्रको मूल्य अभिवृद्धि वृद्धिदर नौ दशमलव चार प्रतिशत रहने अनुमान गरेको छ । निर्माण क्षेत्रमा उत्खनन आएको दुई दशमलव दुई प्रतिशतको वृद्धिले यस क्षेत्रसँग प्रत्यक्षरूपमा भरपर्ने खानी तथा उत्खनन क्षेत्रको वृद्धिदरमा समेत सकारात्मक प्रभाव पारेको देखिन्छ । निक्षेप तथा कर्जामा भएको वृद्धिसँगै वित्तीय तथा बीमा क्षेत्रको नौ दशमलव एक प्रतिशत सकारात्मक वृद्धिदर भएको देखिन्छ ।
अर्थतन्त्रमा सबैभन्दा बढी हिस्सा ओगटेको कृषि, वन तथा मत्स्य क्षेत्रको मूल्य अभिवृद्धि तीन प्रतिशत हुने प्रारम्भिक अनुमान गरेको छ । धानलगायत अन्नबाली तथा पशुजन्य उत्पादनमा भएको वृद्धिले कृषि क्षेत्रको वृद्धिदरमा सकारात्मक प्रभाव पारेको तथ्यांक कार्यालयले जनाएको छ ।
थोक तथा खुद्रा व्यापार क्षेत्र भने यस त्रैमासिकमा समान्य वृद्धि शून्य दशमलव पाँच प्रतिशतमा सीमित भएको छ । व्यापारजन्य वस्तुहरूको आयातमा भएको गिरावटले गर्दा व्यापार क्षेत्रको वृद्धि सन्तोषजनक हुन नसकेको प्रतिवेदनमा उल्लेख छ ।
यस त्रैमासिकमा औद्योगिक वस्तु उत्पादन क्षेत्रको मात्र मूल्य अभिवृद्धि शून्य दशमलव चार प्रतिशतले ऋणात्मक रहन गएको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासिकको तुलनामा चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकमा औद्योगिक वस्तुको उत्पादनमा आएको कमीका कारण यो क्षेत्रको वृद्धि ऋणात्मक रहन गएको प्रारम्भिक अनुमान गरेको छ ।
मौसमी प्रभाव समायोजित त्रैमासिक वृद्धिलाई हेर्दा चालू आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा दोस्रो त्रैमासमा १८ ओटा औद्योगिक क्षेत्रमध्ये १२ वटाको उत्पादन बढेको र छवटाको घटेको तथ्यांक कार्यालयले उल्लेख गरेको छ ।
विद्युत तथा ग्यास, आपूर्ति सेवा क्षेत्रमा सबैभन्दा बढी नौ दशमलव तीन प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान गरेको छ । यो क्षेत्रलाई पछ्याउँदै यातायात तथा भण्डारण क्षेत्रको वृद्धिदर छ दशमलव पाँच प्रतिशत रहने अनुमान गरेको छ । सबैभन्दा बढी हिस्सा रहेको कृषि, वन तथा मत्स्य क्षेत्रको वृद्धिदर दुई दशमलव छ प्रतिशत हुने र समग्र अर्थतन्त्रको वृद्धिदर शून्य दशमलव सात प्रतिशत हुने प्रारम्भिक अनुमान गरेको छ ।
ऋणात्मक वृद्धि हुने कुल छवटा औद्योगिक क्षेत्रहरूमध्ये सबैभन्दा धेरै निर्माण क्षेत्रको सात दशमलव दुई प्रतिशत ऋणात्मक वृद्धिदर रहेको छ । पहिलो त्रैमासिकको तुलनामा दोस्रो त्रैमासिकमा निर्माणका कार्यले गति लिन नसक्दा यस क्षेत्रको वृद्धि ऋणात्मक रहन गएको हो ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- सिटिजन्स बैंक र लेमन ट्री प्रिमियरबीच सम्झौता
- मुक्तिनाथ विकास बैंकको नाफा २८ करोड
- ज्योति विकास बैंकको पहिलो त्रैमासिक नाफा १५ करोड ११ लाख
- कर्पोरेट डेभलमेन्ट बैंकको नाफा २१ लाख ६८ हजार
- गरिमा विकास बैंकको पहिलो त्रैमासिक नाफा २२ करोड ५७ लाख
- श्री इन्भेस्टमेन्टको नाफा ४१ लाख
- नारायणी डेभलपमेन्ट बैंक घाटामा
- कालीगण्डकी करिडोर: म्याग्दीको दाना खण्डमा धमाधम कालोपत्र हुँदै
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया