Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसरकारी खर्चको वृद्धिदर घट्यो

सरकारी खर्चको वृद्धिदर घट्यो

नौ महिनामा आठ खर्ब ८८ अर्ब खर्च


काठमाडौं । सरकारी खर्चको वृद्धिदर घटेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार चालू आर्थिक वर्ष २०८०/८१ को नौ महिना सकिन लाग्दा सरकारले बजेटको ५० प्रतिशत मात्रै खर्च गरेको छ ।

चैत २५ गतेसम्म कुल आठ खर्ब ८८ अर्ब ५९ करोड ९४ लाख रुपैयाँ खर्च गरेको छ । यसमध्ये चालू खर्चतर्फ छ खर्ब ३० अर्ब ३५ करोड ३५ लाख रुपैयाँ र पुँजीगत खर्चतर्फ ९२ अर्ब ५६ करोड ८७ लाख रुपैयाँको खर्च भएको छ ।

यस्तै वित्तीय व्यवस्थातर्फ एक खर्ब ६५ अर्ब ६७ करोड ७२ लाख रूपैयाँ खर्च भएको छ । सरकारले गरेको यो खर्चको वृद्धिदर गत आर्थिक वर्षकोको सोही अवधिको तुलनामा कम हो ।

महालेखाका अनुसार सरकारी खर्च गत आर्थिक वर्षको चैत २५ गतेसम्म १३ दशमलव ३७ प्रतिशतले वृद्धि भएकोमा चालू आर्थिक वर्षको सोही अवधिमा दुई दशमलव शून्य चार प्रतिशतले मात्रै बढेको देखिन्छ । गत आर्थिक वर्षको सोही अवधिमा भने सरकारले चालूतर्फ छ खर्ब ८१ अर्ब ६९ करोड १८ लाख रुपैयाँ, पुँजीगततर्फ एक खर्ब ११ करोड ८३ लाख रुपैयाँ र वित्तीय व्यवस्थातर्फ ८९ अर्ब दुई करोड १६ लाख रूपैयाँ गरी कुल आठ खर्ब ७० अर्ब ८३ करोड १७ लाख रूपैयाँ खर्च भएको थियो ।

चालू आर्थिक वर्षको करिब नौ महिनामा सरकारले कुल (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकम समेत) छ खर्ब ९७ अर्ब ३४ करोड ५९ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । जसमध्ये कर राजस्व छ खर्ब ३२ अर्ब ९८ करोड १३ लाख रुपैयाँ र गैरकर राजस्व ६४ अर्ब ३६ करोड ४६ लाख रूपैयाँ आर्जन गरेको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा सरकारको कुल राजस्व संकलन छ खर्ब ४० अर्ब ४४ करोड १४ लाख रूपैयाँ थियो । यसमध्ये कर राजस्वतर्फ पाँच खर्ब ७९ अर्ब ९१ करोड ७१ लाख रुपैयाँ र गैरकर राजस्वतर्फ ६० अर्ब ५२ करोड ४३ लाख रूपैयाँ रहेको थियो ।

महालेखाका अनुसार गत आर्थिक चैत २५ गतेसम्म १४ दशमलव छ प्रतिशतले घटेको राजस्व, चालू आवको पछिल्लो सोही अवधिमा आठ दशमलव ८८ प्रतिशतले बढेको छ ।

अर्थमन्त्रालय स्रोतका अनुसार नेपाल राष्ट्र बैंकमा सरकारको नाममा रहेको विभिन्न खाताहरूमा दुई खर्ब हाराहारी नगद मौज्दात छ । यस मौज्दातमा प्रदेश सरकार तथा स्थानीय सरकारको खातामा रहेको रकम पनि समावेश भएको छ । २०८० असार मसान्तमा यस्तो मौज्दात ६५ अर्ब ३६ करोड रूपैयाँ थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया