Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसशस्त्र प्रहरीको केन्द्रीय स्टोरमा शंकास्पद आगलागी

सशस्त्र प्रहरीको केन्द्रीय स्टोरमा शंकास्पद आगलागी


काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ)को सतुङ्गलस्थित केन्द्रीय स्टोरमा सोमबार साँझ शंकास्पद आगलागी भएको छ । आगलागी भएको भनिए पनि योजनाबद्धरूपमा आगो लगाइएको आशंका गरिएको छ । उक्त स्टोरमा जुत्ता, मण्डी, म्याट्रेस, चुस्ता, अस्पतालका सामग्रीलगायतका सामानहरू राखिएको थियो । ती सामान खरिदमा सशस्त्र प्रहरीको नेतृत्वले भ्रष्टाचार गर्नेगरेको छ ।

सशस्त्र प्रहरीले खरिद गर्ने विभिन्न सामानको बारेमा पटक–पटक प्रश्न उठ्ने गरेको छ । अहिलेको आगलागी जिन्सी सामान नष्ट गरेर भ्रष्टाचार छोप्ने प्रयासका रूपमा लिइएको छ ।

सशस्त्र प्रहरीको नेतृत्व विगतदेखि नै भ्रष्टाचार मुद्दामा पर्नेगरेका छन् । अहिलेको नेतृत्वप्रति नै प्रश्न उठिरहेको बेला आगलागी भएको छ । यसलाई धेरैले भ्रष्टाचार छोप्ने अचुक अस्त्रको रूपमा लिएका छन् । यद्यपि एपीएफले भने शंकास्पद आगलागी भन्ने तर्कलाई अस्वीकार गरेको छ ।

शंकास्पद आगलागी भन्ने आशंकालाई रोक्न सशस्त्र प्रहरीले आगलागीको विषयमा अध्ययन गर्न छानबिन समिति गठन गरेको छ । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशिराज दाहालको अध्यक्षतामा नौ सदस्यीय छानबिन समिति गठन गरिएको सशस्त्रका सहप्रवक्ता शैलेन्द्र थापाले बताएका छन् ।

आगो निभाउन सातवटा दमकल, एक्स्काभेटर, दमकल, ट्याङ्करसहित एक हजार बढी सुरक्षाफौज परिचालन गरिएको थियो । आगोलागीबाट गोदामका सामान पूर्णतः नष्ट भएको छ । यसअघि सशस्त्र प्रहरी बलको मुख्यालयमा रहेको महत्वपूर्ण कागजात राखिएको स्टोरमा समेत आगलागी गरिएको थियो ।

‘सशस्त्र प्रहरीको खरिद प्रक्रियाका विषयमा जहिले पनि प्रश्न उठ्नेगरेको छ’, अख्तियारमा बसेर अनुसन्धान अधिकृतका रूपमा काम गरिसकेका निजामतीतर्फका एक अधिकारीले भने, ‘सोमबार सशस्त्रको केन्द्रीय स्टोरमा भएको आगलागीलाई सामान्य दुर्घटनाको रूपमा लिइयो भने यसले उक्त संगठनमा थप अराजकता बढ्छ । सरकारले छानबिन गर्नैपर्छ ।’ सशस्त्र आफैँले गर्ने छानबिनप्रति भने ती अधिकारीले भ्रष्टाचार ढाकछोप गर्ने प्रयासका रूपमा मात्र लिएका छन् । नेतृत्वले गरेको भ्रष्टाचार मातहतका प्रहरीले उजागर गरेको कतै पनि छैन । ‘निजामतीतर्फ हो भने त्यस्ता छानबिनलाई मान्न सकिन्छ । तर, सुरक्षा बलतर्फ भने त्यसरी हिम्मत गरेर सत्यतथ्य बाहिर ल्याउने व्यक्ति छन् भन्ने आम नागरिकलाई पनि विश्वास छैन’, ती अधिकारीले भने ।

उक्त आगलागीको कारण पहिला खरिद गरिएका सबै सामान नष्ट भएका छन् भने अब फेरि तत्काल सामान खरिद गर्नुपर्ने अवस्था छ । यसले पहिलाको वास्तविक प्रमाण नष्ट गर्ने, गोदाममा रहेका सामान नष्ट गर्ने र पछि फेरि खरिद गरेर कमिसन लिने होड चलेको देखाएको छ । तर, सशस्त्र प्रहरीमै कार्यरत एक अधिकारी भने प्राविधिक कारणबाट भएको आगलागीलाई योजनाबद्ध भनेर सशस्त्र प्रहरीप्रति आशंका नगर्न आग्रह गर्छन् ।

आगलागीपछि उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र गृह मन्त्रालयका सचिव एकनारायण अर्याल सोमबार साँझ नै घटनास्थल पुगेर स्वतन्त्र र निष्पक्ष छानबिन गरेर सत्यतथ्य बाहिर ल्याउन निर्देशन दिएका छन् । सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल पनि घटनास्थल पुगेर निस्किएका थिए ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया