Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारठमेल र दरबारमार्ग चौबीसै घण्टा खुला

ठमेल र दरबारमार्ग चौबीसै घण्टा खुला


काठमाडौं । सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेल र दरबारमार्ग क्षेत्र शनिबारदेखि २४ सै घण्टा खुला हुने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आचारसंहिता निर्माण गरी उक्त क्षेत्रलाई नयाँ वर्ष वैशाख १ गतेदेखि २४सै घण्टा सञ्चालन गर्न लागेको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले ठमेल र दरबारमार्ग क्षेत्रलाई सुरक्षित बनाउन भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको बताए । ठमेल र दरबारमार्ग क्षेत्रलाई पूर्ण समय व्यवसाय सञ्चालन गर्नेगरी रात्रिकालीन व्यवसाय सञ्चालन गर्ने तयारी गरेकाले सोहीअनुसारको सुरक्षा व्यवस्था सुदृढ बनाइएको उनले जानकारी दिए । ठमेल र दरबारमार्ग क्षेत्रमा पूर्ण समय व्यवसाय सञ्चालन गर्नेगरी ‘आचारसंहिता तथा मापदण्ड–२०८० स्वीकृत गरेको गरिएको छ । आचारसंहितामा व्यवसायीले पालना गर्नुपर्ने आचारसंंहिता, उपभोक्ताले पालना गर्नुपर्ने आचारसंहिता, स्थानीय बासिन्दाको अधिकार, दायित्व र सुरक्षा संयन्त्रले सुरक्षा प्रदान गर्नका लागि अवलम्बन गर्नुपर्ने विधि, प्रक्रिया उल्लेख गरिएको छ ।

ठमेल र दरबारमार्ग क्षेत्रलाई सञ्चालन गर्नका लागि तयार गरिएको विशेष सुरक्षा योजनाभित्र पर्यटक प्रहरीलाई अझै व्यवस्थित र प्रभावकारी बनाइनेछ । ठमेलभित्र व्यवसायी मात्रै नभई स्थानीय बासिन्दाको पनि बसोबासको क्षेत्र भएकाले स्थानीयलाई कुनै असर नपर्नेगरी व्यवस्था मिलाइएको छ । रात्रिकालिन मनोरञ्जनात्मक व्यवसायका क्रममा हुने ध्वनि प्रदूषणलाई नियन्त्रण गर्नेलगायत आचारसंहिता तयार गरिएको छ । भगवान्वहाल क्षेत्रमा स्थानीयको बसोबास भएकाले सो स्थानमा यस्ता कार्यक्रम गर्न रोक लगाइएको छ ।

ठमेल र दरबारमार्ग क्षेत्रमा २४ सै घण्टा व्यवसाय सञ्चालन स्थानका शौचालयलाई निश्चित संकेत दिएर प्रयोग गर्न पाउने व्यवस्था मिलाइएको छ । यसैगरी, पार्किङ व्यवस्थापन, आन्तरिक सुरक्षालगायतको व्यवस्था मिलाइएको छ । ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले ठमेल र दरबारमार्गको अर्थतन्त्रलाई चलायमान बनाउनका लागि उक्त बजारलाई २४ सै घण्टा खुला गर्न लागिएको बताए । दरबारमार्ग विकास बोर्डका संयोजक सञ्जय अधिकारीले २४ सै घण्टा बजार खुल्ने कुराले अन्तर्राष्ट्रियस्तरमा सकारात्मक सन्देश जाने बताए ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया