Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारआजदेखि काठमाडौँमा ‘ट्राफिक सचेतना विशेष अभियान २०८१’ सुरु

आजदेखि काठमाडौँमा ‘ट्राफिक सचेतना विशेष अभियान २०८१’ सुरु


काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सभ्य सडक संस्कारका माध्यमबाट सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले आइतबारदेखि ‘ट्राफिक सचेतना विशेष अभियान २०८१’ सुरु गरेको छ ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले उक्त अभियानको आइतबार बिहान शुभारम्भ गर्दै नेपालको सार्वजनिक यातायातलाई थप भरपर्दो र दुर्घटनारहित बनाउन विशेष अपरेशन सञ्चालन गर्ने घोषणा गरेका छन् । आवश्यक संशोधन गर्नुपर्ने नीति, नियम र ऐन संशोधन गरेरै भए पनि सार्वजनिक यातायातको रुट तथा सहज सडक यात्राको सुधारमा मन्त्रालय लागिरहेको गृहमन्त्री लामिछानेले बताए । ट्राफिक नियम पालनामा लापरवाही भइरहेको सन्दर्भ जोड्दै उनले अब प्रहरीको बोली नरम र कारबाही कडा हुनुपर्नेमा जोड दिए ।

सरकारले ट्राफिक प्रहरीलाई दिँदै आएको इन्सेन्टिभ पुनः वितरण गर्ने जानकारी गराउँदै गृहमन्त्री लामिछानेले अब नियम उल्लङ्घन गर्नेविरुद्ध जानकारी (रिपोर्टिङ) गर्नेलाई समेत पुरस्कार दिनेगरी काम गर्ने तयारीमा मन्त्रालय लागेको जानकारी दिए ।

गृहमन्त्री लामिछानेले यो वर्ष परिवर्तनको वर्ष भएको बताउँदै केही परिवर्तनको थालनी भइसकेको भन्दै प्रविधिमैत्री ट्राफिक व्यवस्थापनमा सरकारले जोड दिइरहेको बताए । उनले सडकमा ट्राफिक लाइट जोडिँदा राष्ट्रिय समाचार बन्ने अवस्थाले नै नेपाल कति पछाडि छ भनेर देखिने उल्लेख गरे ।

गृहमन्त्री लामिछानेले सडक सुरक्षा सुधारका लागि आफू पूर्ण प्रतिबद्ध रहेको बताउँदै विगतमा सडक सुरक्षा कार्यदलले तयार पारेको प्रतिवेदन उपलब्ध गराउन आग्रह गरे । उनले सबै क्षेत्रमा राजनीति हाबी भएर समस्या बल्झिरहेको बताए ।

गृहमन्त्री लािमछोले रोड परीक्षण नगरी लाइसेन्स दिनै नहुनेमा जोड दिंदै दुर्घटना न्यूनीकरणका लागि जरोमा जानुपर्ने भन्दै त्यो जरो भनेको लाइसेन्स दिने प्रक्रिया भएको बताए । उनले जुन प्रहरीको क्षेत्रमा लापरवाहीका कारण दुर्घटना हुन्छ, त्यहाँका इन्चार्जको वृत्ति विकास र मूल्याङ्कनमा नम्बर कम आउने जनाए । उनले भने, “नेताको हात समातेका आधारमा नभई भ्रष्टाचार, चोर समातेका आधारमा वृत्ति विकास हुन्छ र सोहीअनुसार कामको मूल्याङ्कन हुन्छ ।”

कार्यक्रममा ट्राफिक सचेतना कार्यक्रमले सबैलाई जिम्मेवार बनाउने हुँदा यो अभियान अति महत्त्वपूर्ण रहेको काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले बताइन् । उनले ट्राफिक प्रहरीको व्यवहार सुधारमा जोड दिइन् ।

उपप्रमुख डङ्गोलले केही नीतिगत सुधार आवश्यक रहेको उल्लेख गर्दै नागरिकले पनि जिम्मेवार भएर सडक प्रयोग गर्नुपर्ने आवश्यकता औँल्याइन । उनले नागरिकलाई सचेत गराउन जरुरी रहेको बताइन् ।

उपत्यकाको ट्राफिक व्यवस्थापन र सार्वजनिक यातायात व्यवस्थापनमा विशेष ध्यान दिएर काम थालेको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले बताएका छन् । उनले यातायातमा समेत सिसी क्यामेरा जडान गर्न सके दुर्व्यवहार रोक्न सहज हुने उल्लेख गर्दै साझा यातायातसँग सो विषयमा छलफल भइसकेको जानकारी दिए ।

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले जनचेतना वृद्धिमा जोड दिँदै सार्वजनिक यातायात सुधार कार्यदलको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न आग्रह गरे । उक्त प्रतिवेदन कार्यान्वयन भएमात्रै पनि ८० प्रतिशत सार्वजनिक यातायात सुधार हुने उनले विश्वास व्यक्त गरे । उनलेदुर्घटना न्यूनीकरणका लागि सबै मिलेर काम गर्नुपर्ने बताए ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले मानवीय ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण रहेको उल्लेख गर्दै उनले पूर्वाधार, पार्किङ व्यवस्थापन र करिडोर खुला गर्नसके काठमाडौँको ट्राफिक व्यवस्थापनमा केही सहज हुने बताए । उनले ट्राफिक नियम पालना, सचेतना, आम नागरिक तथा सङ्घसंस्थालाई जिम्मेवार बनाउन अभियान सुरु गरिएको बताए । समारोहअघि काठमाडौँमा ट्राफिक सचेतनासम्बन्धी र्याली निकालिएको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया