Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारदुई हजारले लिए युद्धग्रस्त मुलुक रुस र इजरायल जान श्रम स्वीकृति

दुई हजारले लिए युद्धग्रस्त मुलुक रुस र इजरायल जान श्रम स्वीकृति


काठमाडौं । रुसी सेनामा भर्ना भएका नेपालीका परिवारले उनीहरूलाई स्वदेश फर्काउन सरकारसँग हारगुहार गरिरहेका छन् । तर, सरकारले रुसी सेनामा भर्ना भएका नेपालीलाई फर्काउन प्रयास गरिरहेको बताए पनि ठोस पहल भने गरेको छैन । रुसी सेनामा भर्ना भएका व्यक्तिका परिवारले शनिबार माइतीघरदेखि बानेश्वरसम्म उनीहरूलाई घर फर्काउन दबाब दिन प्रदर्शन गरेका छन् । रुस–यक्रेनको युद्धका कारण युक्रेनको कब्जामा रहेका, करार सम्झौता रद्द भएका नेपालीको फिर्ती माग गर्दै प्रदर्शन गरेका हुन् ।

रुसमा कति नेपाली छन् भन्ने विषयमा रुसले नेपाललाई अहिलेसम्म जानकारी गराएको छैन । नेपालले रुससँग नेपालीको जानकारी माग गरे पनि रुसले सेनाको विषय भन्दै त्यसलाई दिन अस्वीकार गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । रुसमा रहेका नेपालीलाई स्वदेश फर्काउन सरकारले यो बाहेक अरु कुनै पहल गरेको देखिँदैन । तर, सरकार रुसमा काम गर्न जान श्रम स्वीकृति भने दिइरहेको छ । रुस–युक्रेन युद्धका बीच श्रम स्वीकृति लिई रुस जाने नेपालीको संख्या आठ सय ३९ रहेको वैदेशिक रोजगार विभागले जनाएको छ । विभागका अनुसार उनीहरूले आर्थिक वर्ष २०७८/७९ देखि चालू आर्थिक वर्षको आठ महिनासम्म रुस जान श्रम स्वीकृति लिएका हुन् । जसमध्ये आठ सय १६ पुरुष र २३ जना महिला छन् । श्रम स्वीकृति लिएको आधारमा रुसमा कति नेपाली छन् ? कुन–कुन क्षेत्रमा छन् भन्नेलगायत विवरण भने सार्वजनिक गर्न नसक्ने विभागका अधिकारीहरू बताउँछन् ।

श्रम स्वीकृति लिँदैमा सबै जना विदेश जान्छन् भन्ने नहुने विभागका एक अधिकारीले बताए । विभागका अनुसार आर्थिक वर्ष २०७८/७९ मा तीन सय ८६ जना (पुरुष ३७०/महिला १६ जना), आर्थिक वर्ष २०७९/८० मा ८२ जना (पुरुष ८० जना÷महिला दुई जना) र आर्थिक वर्ष २०८०/८१ को आठ महिनामा तीन सय ७१ जना (पुरुष ३६६ जना/महिला पाँच जना)ले रुस जानका लागि श्रम स्वीकृति लिएका छन् ।
सरकारले युद्धका कारण रुस जानका लागि श्रम स्वीकृति बन्द गरेको थियो भने पछिल्लो समय श्रम स्वीकृति खुला गरेको छ । गत पुस १९ गते विभागले रुस जाँदा क्षति व्यहोर्नुपर्ने भन्दै श्रम स्वीकृति बन्द गरेको थियो । श्रम स्वीकृति बन्द भएपछि श्रम मन्त्रालयले मंसिर १४ मा अध्ययन टोली गठन गरेको थियो । उक्त टोली रुस जान श्रम स्वीकृति लिएकाहरू रुसी सेनार्मा भर्ती नभएको निष्कर्ष निकालेको थियो । त्यस्तै गैरआवसीय नेपाली संघले श्रम स्वीकृति खुला गर्न आग्रह गरेको थियो । संघका तत्कालीन अध्यक्ष डा. बद्री केसीले एक क्षेत्रमा समस्या भएको देखाएर श्रम स्वीकृति नै बन्द गर्न नहुने बताएका थिए । रुसी सेनामा नेपाली भर्ती भएको विषय समस्या भए पनि अन्य क्षेत्रमा काम गर्न जानका लागि इच्छुकलाई समस्या नभएको भन्दै श्रम स्वीकृतिलाई निरन्तरता दिएको उनीहरूको भनाइ छ । २०७८ फागुन १२ गते रुस–युक्रेन युद्ध सुरु भएको थियो ।

रुसमा मात्र नभई द्वन्द्वरत अर्को मुलुक इजरायल जान पनि श्रम स्वीकृति लिने नेपालीको संख्या उच्च छ । २०८० असोज २० गते हमासले इजरायलमाथि आक्रमण गरेको एक सातापछि सरकारले इजरायलका लागि श्रम स्वीकृति बन्द गरेको थियो । तर, पछिल्लो समय श्रम स्वीकृति वितरण सामान्य बनेको छ । द्वन्द्वको समय सुरु भएदेखि चालू आर्थिक वर्षको आठ महिनासम्म एक हजार एक सय ५८ जनाले श्रम स्वीकृति लिएका छन् । विभागका अनुसार आर्थिक वर्ष २०७९/८० मा पाँच सय ९८ जना (पुरुष ४१५ जना/महिला १८३ जना) र चालू आर्थिक वषको आठ महिनामा पाँच सय ६० जना (पुरुष ३९३ जना/महिला १६७ जना)ले इजरायलका लागि श्रम स्वीकृति लिएका छन् । द्वन्द्वका बाबजुद पनि सरकारले श्रम स्वीकृति प्रदान गरेको छ भने श्रम स्वीकृति लिन आउने युवाको संख्या समेत निरन्तर बढेको देखिन्छ । सरकारले द्वन्द्व प्रभावित क्षेत्र बाहेक, सेनामा भर्तीलगायतका संवेदनशील विषयलाई ध्यानमा राखी श्रम स्वीकृति प्रदान गरेको छ । श्रम स्वीकृति लिनेहरू कृषि, होटेल तथा कम्पनीलगायतका क्षेत्रमा काम गर्ने युवाहरू रहेको विभागले जनाएको छ ।

विभागले सुरक्षित स्थानमा जान चाहने युवाहरूलाई श्रम स्वीकृति प्रदान गरिएको जनाएको छ । द्वन्द्वग्रस्त मुलुकहरू अफगानस्तिान, इराक र लिबियामा भने सरकारले श्रम स्वीकृति बन्द गरेको लामो समय भइसकेको छ । सरकारले संस्थागतरूपमा एक सय ११ वटा र व्यक्तिगतरूपमा एक सय ७८ वटा मुलुक काम गर्न जान खुला गर्दै आएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया