Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारचिरञ्जीवीको राजीनामाले राष्ट्रपतिको महाअभियोगको संकट टरेकै हो त ?

चिरञ्जीवीको राजीनामाले राष्ट्रपतिको महाअभियोगको संकट टरेकै हो त ?


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार डा. चिरञ्जीवी नेपालले दिएको राजीनामा राष्ट्रपतिले मन अमिलो पारेर स्वीकृत गरेका छन् ।

सरकारले सय रुपैयाँको नोटमा नेपालको चुच्चे नक्सा राख्ने निर्णय गरेर छिमेकी मित्रराष्ट्र भारतसँग कूटनीतिक द्वन्द्व निम्त्याएको भनी उनले विभिन्न सञ्चार माध्यमहरूमा दिएको अभिव्यक्तिलाई सत्तारुढ गठबन्धनको पर्दापछाडिका महारथी एमाले अध्यक्ष केपी ओलीले उनको अभिव्यक्ति व्यक्तिगत हो कि राष्ट्रपतिको धारणा हो भनी घाँटी अठ्याएपछि सल्लाहकार नेपालले पदबाट राजीनामा दिएर तत्काल राष्ट्रपति पौडेलमाथि आइपर्ने विपति अहिलेका लागि अस्थायीरूपमा टारेका हुन् ।

सत्तारुढ गठबन्धनका खेलाडी ओलीले त्यति सोध्दैमा उनले किन राजीनामा गर्न पथ्र्यो र ? संविधानले नचिनेको पात्रको प्रश्नमा यसरी राष्ट्रपति कार्यालय भयभीत हुनुपरेको होला भन्ने प्रश्न पनि जनमानसमा उठेको छ ।

तर, अहिले नेपालको राज्यसत्ता सञ्चालनमा गैरसंवैधानिक निकायले संवैधानिक निकायहरूलाई निर्देशित गरेको प्रस्टै देखिन्छ । कोशी प्रदेश सरकार गठन प्रक्रियामा मुख्यमन्त्री केदार कार्कीलाई अपदस्थ गरेर उही धाराबाट सत्ता गठबन्धनको तर्फबाट नयाँ मुख्यमन्त्री नियुक्ति गरिएको छ ।

त्यसैगरी संविधानमा लेखिएको प्रदेशसभाको सम्पूर्ण सदस्य संख्याको बहुमत सदस्य भनिएकोमा अदालतबाटै उपस्थित सदस्यको बहुमत अर्थात् ६० सदस्यीय प्रदेशसभामा सभामुखलाई कटाएर ५९ सदस्य मानेर ३० जनालाई बहुमत मान्ने अदालती फैसलाबाट गण्डकी प्रदेशमा सरकार बनाइएको छ ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, राष्ट्रिय मानव अधिकार आयोगजस्ता संवैधानिक निकायहरू प्रत्यक्ष वा परोक्षरूपमा त्यही असंवैधानिक निकायको छायामा परेको छ । र ओलीको प्रतिशोध साध्ने संयन्त्र बन्दै गएको देखिन्छ । यही प्रसङ्गमा नोटमा चुच्चे नक्सा छाप्ने भनी सरकारले गरेको निर्णयमा सल्लाहकार नेपालको दृष्टिकोण सार्वजनिक हुनेबित्तिकै एमाले अध्यक्ष ओलीले उनको बोली अठ्याउने काम गरे ।

नेपालको राजनीतिमा ओली प्रतिशोध साँध्न माहिर खेलाडी मानिन्छन् । चुनावी गठबन्धन छाडेर प्रचण्डले ओलीसँग गठजोड गरेर सरकार बनाएपछि राष्ट्रपति हुन सरकार बनाएपछि राष्ट्रपति हुन नपाउने भइयो भनेर रुवाबासी गर्न मात्र बाँकी रहेका पोडेल शक्तिकेन्द्रले नथ्थी लगाएर प्रचण्डलाई फेरि पुरानै समीकरणमा फर्काएपछि सौभाग्यवश राष्ट्रपति बनेका हुन् ।

प्रचण्ड त्यतिबेला ओलीतिरै टाँसिएर बसेको भए पौडेल राष्ट्रपति हुने सम्भावना थिएन । अहिले कृष्ण सिटौला राष्ट्रियसभाको भित्ते अध्यक्ष भएको जस्तै हुनेथिए । तर, प्रचण्ड पुरानै समीकरणमा फर्कन बाध्य भएपछि पौडेल राष्ट्रपति हुने बाटो खुलेको हो ।

त्यसबेला चुच्चे नक्साको चुच्चो भाँच्ने सहमतिमै प्रचण्ड फर्किएका हुन् तर अहिले ओलीसँग टाँसिएपछि चुच्चे नक्सा बोल्न थालेका हुन् । यही चुच्चे नक्सासँग सौदाबाजी गरेर कांग्रेसले उनको छोरी बोकेको हो र ? त्यसको वातावरण र समीकरण यताको देखावटी मात्रै थियो ।

त्यही चुच्चे नक्साको चलनमा उतिबेला राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध भएका हर्कत सायद ओलीले अहिलेसम्म पनि बिर्सेका छैनन् । अहिले राष्ट्रपति पोडेलका सल्लाहकार नेपालको जिब्रो समाउने कार्य त्यही बदला लिने प्रयास स्वरूप भएको हुनुपर्छ ।

निकै परका कुरा छाडौँ धेरैले बिर्सिसके होलान्, २०४७ सालमा ओली प्रधानमन्त्री भएपछिका घटना क्रमहरू सिलसिलेबर रूपमा पुनस्मरण गरे पुग्छ । उनका विरुद्ध भएका कुन घटनामा कुन–कुन पात्रसँग बदला लिन उनी पछि परेका हुन् ?

अहिले केही व्यक्तिहरू खासगरी प्रचण्डहरूलाई सत्ताको न्यानो भएर बदलाको रागको अनुभूति नभएको होला, माकुनेहरूलाई त्यसको मान पक्कै भएको छ, उपेन्द्र यादवहरूलाई रामै्र अनुभूति भएको छ । बाबुराम भट्टराई र रेशम चौधरीहरूले चाखिसकेका छन् । उनले बदलाको अग्नी ओकल्दै आएका छन् । असंवैधानिक पत्रको अग्नी ओकलाइमा संवैधानिक निकायहरू सहयोगी बेनका छन् । त्यसका अगाडि सत्य पनि निरीह बन्दै गएको छ ।

त्यस्तो बेला चिरञ्जीवी नेपाल टिक्न सक्ने कुरै भएन । त्यसो त नेपाल पनि त्यस्ता विवादमा आइरहने पात्र हुन् । तत्कालीन उपप्रधान तथा परराष्ट्र मन्त्री सुजता कोइरालाको सल्लाहकार हुँदा उनले जापान जान भिसाको सिफारिस गरेका दुई व्यक्तिका बारेमा जापानी दूतावासले तत्कालीन प्रधानमन्त्री माधव नेपाललाई प्रश्न गरेपछि उनले यसैगरी राजीनामा दिउर उम्कनु परेको थियो ।

अहिले पनि उनको हकमा राजीनामाबाट उम्कने मौका प्राप्त भएको छ । तर, यो प्रसङ्ग यसैमा सीमितचाहिँ छैन । उनको जिब्रो समाएर राष्ट्रपति पौडेललाई विवादमा तान्न खोजिएको थियो, तत्कालीन राष्ट्रपति भण्डारीविरुद्ध सडक र सदनमा भएका हर्कतको बदला लिने प्रयास भएको थियो ।

नेपालको बोली समातेर राष्ट्रपति पौडेलविरुद्ध महाअभियोग लगाउने आधार बनाउन खोजिएको थियो । भलै अहिलेलाई त्यो टरेको देखिएको छ । तर, बुढी मरी भन्दा पनि काल पल्केको डर मानिन्छ । अहिलेको सन्नाटा उपयुक्त मुद्दा र समयको पर्खाइ मात्र हो । यहाँ अभियोग बदलाको बादल हटिसकेको चाहिँ होइन ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x