Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारवैदेशिक रोजगारीका नाममा ठगी बढ्यो

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो


काठमाडौं । वैदेशिक रोजगारीका नाममा ठग्ने र ठगिने क्रम नेपाली समाजका लागि कुनै नौलो विषय होइन । दिनहुँ विदेशमा आकर्षक रोजगारी लगाइदिने भन्दै ठगी गर्नेहरू र त्यसबाट ठगिएको बताउनेहरूले सम्बन्धित निकायमा उजुरी दिइरहेका हुन्छन् । अझ कतिपयले त वैदेशिक रोजगारीलाई ठगी गर्ने गतिलो माध्यम बनाइरहेका छन् ।

सोमबार मात्रै प्रहरीले एक सय २४ जनालाई विदेशमा आकर्षक रोजगारी दिलाउने आश्वासन दिएर ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ । ती व्यक्तिले एक सय २४ जनाबाट चार करोड ३४ लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ । कास्की जिल्लाको पोखरा घर भएका विनोद श्रेष्ठलाई प्रहरीले काठमाडौंको चावहिलबाट पक्राउ गरेर सोमबार सार्वजनिक गरेको हो । प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको व्यक्ति विनोदकी श्रीमती र सालो यसअघि नै ठगीको आरोपमा थुनामा परेका छन् ।

विनोद श्रेष्ठकी श्रीमती सुरुचि भुजेल र सालो सुजन भुजेलविरुद्ध ठगीको मुद्दामा प्रहरीले अनुसन्धान गरिरहेको छ । उनीहरूविरुद्ध अहिले पनि सीआईबीले ठगी मुद्दामा अनुसन्धान गरिरहेको छ । उनीहरू पुर्पक्षका लागि थुनामा छन् ।

विनोदले वैदेशिक रोजगारीका लागि टर्की पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिहरूबाट चार करोड ३४ लाख रकम ठगी गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरूको परिवार नै ठगी धन्दामा रहेको रहेको खुलेको छ ।

श्रेष्ठले एक सय २४ जनालाई टर्कीमा राम्रो आम्दानी हुने काममा लगाइदिने भन्दै ठगेको प्रहरीको भनाइ छ । श्रेष्ठलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । यूएन मिसनको कार्यालयमा मासिक एक हजार चार सय ५० डलर कमाइ हुने आश्वासन दिएर ठगी गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए । श्रेष्ठले चुच्चेपाटीको जमघट रेस्टुरेन्टमा विदेश जान तयार भएकाहरूलाई भेट्ने गरेको र सुरुमा उनीहरूबाट प्रतिव्यक्ति ५० हजार रुपैयाँ लिएको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार विनोदले टर्कीको युएन मिसन कार्यालयमा वर्क पर्मिटमा कामदार पठाउने भनेका थिए । त्यहाँ गएर आकर्षक तलब पाइने भन्दै प्रलोभनमा परेर एक सय २४ जना टर्की जान तयार भएको प्रहरीको भनाइ छ । अरु व्यक्तिहरूलाई विश्वास दिलाउनका लागि उनले सुरुमा चार जनालाई भारतको राजधानी दिल्ली पुर्याएको प्रहरी अनुसन्धानबाट खुलेको छ । त्यसपछि दिल्लीमा भारतीय एजेन्टमार्फत थप तीन लाख रुपैयाँ उठाएको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।

रकम लिएपछि उनीहरूलाई १५ दिनसम्म होटलमै राखेको पाइएको कोही पनि सम्पर्कमा नआएपछि उनीहरू भारतबाट नेपाल फर्किएका थिए । यसरी नै विनोदले एक सय २४ जनाबाट चार करोड ३४ लाख रुपैयाँ उठाएको पाइएको प्रहरीको भनाइ छ ।

पीडितलाई विश्वास दिलाउन उनले यूएनमा रहेका व्यक्तिहरूको नाम पनि लिने गरेका थिए । आफ्नो काम नभएपछि नेपाल फर्किएका पीडितहरूले केही दिनअघि पत्रकार सम्मेलन गरेर आवश्यक कारबाहीका लागि आग्रह गरेका थिए । श्रेष्ठले पीडितहरूलाई विश्वास दिलाउन प्रत्येकलाई चेक दिनेगरेको प्रहरीको भनाइ छ । चेक लिएर बैंकमा जाँदा हस्ताक्षर नमिलेपछि पीडितहरू प्रहरीकोमा पुगेका थिए । यस विषयमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।

सोमबार मात्रै अमेरिका तथा क्यानडा लैजाने भन्दै मानव तस्करी गरी ठगी गरेको अभियोगमा तीन जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । जुन वैदेशिक रोजगारीको नाममा अर्को घटना हो । पक्राउ पर्नेहरूमा ओखलढुंगा खिजिदेम्बा गाउँपालिका–२ बस्ने ४८ वर्षीय जगतबहादुर तामाङ, तनहुँ ऋषिङ्ग गाउँपालिका–२ बस्ने ४८ वर्षीय जंगबहादुर विक (बराल) र ४६ वर्षीय विष्णुबहादुर बराली रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई कञ्चनपुर गड्डाचौकी नजिकबाट पक्राउ गरेको हो ।

अमेरिका, क्यानडालगायतका मुलुकहरूमा पठाइदिन्छौँ भन्दै १० जना व्यक्तिहरूबाट पाँच करोड ५० लाख रुपैयाँ ठगी गरेको अभियोगमा यसअघि सिन्धुपाल्चोकका टासी शेर्पा, ङिमबुटी शेर्पा र निमा शेर्पालाई प्रहरीले पक्राउ गरेको थियो । टासी, ङिमबुटी र निमालाई एजेन्टको रूपमा राखी जगतबहादुर समेत तीन जना भारतको नयाँ दिल्लीमा बसेर संगठितरूपमा मानव तस्करी एवं ठगी गरेको खुल्न आएको केन्द्रीय प्रहरी प्रवक्ता दानबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार उनीहरूले अमेरिका लैजाँदा दुबई ट्रान्जिट बनाएर केन्या र युगान्डा लगेर राहदानी तथा डलर खोसी छदेखि नौ महिनासम्म अलपत्र पारिराखेको, केन्या र युगान्डामा सम्बन्धित देशको नागरिक समेतलाई एजेन्ट राख्ने गरेको, पीडितहरू अमेरिका प्रवेश गरेपछि जेलमा पर्ने र आफ्ना मानिसहरूले कानुन व्यवसायीहरू प्रयोग गरी जेलबाट मुक्त गरी रोजगारीमा लगाउने भनी पहिले नै काउन्सेलिङ गरी विश्वास दिलाउने गरेको समेत प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । उनीहरूलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको छ ।

जगतबहादुरविरुद्ध वैदेशिक रोजगारी विभागबाट पक्राउ पुर्जी समेत जारी भएकोले उनलाई वैदेशिक रोजगार विभाग पठाइने कार्यालयले जनाएको छ । प्रहरीका अनुसार दैनिक १० देखि १५ वटा उजुरी दर्ता हुनेगरेको छ । कार्यालयका अनुसार चालू आर्थिक वर्षको नौ महिनामा मात्र ठगीका पाँच सय १६ वटा मुद्दा दर्ता भएका छन्, जसमा ३२ करोड ५१ लाख ४३ हजार रुपैयाँ दाबी गरिएको छ ।

प्रहरी मात्रै नभई वैदेशिक रोजगार विभागमा समेत दैनिक करिब १० वटाभन्दा ठगीका उजुरी दर्ता हुनेगरेको छ । चालू आर्थिक वर्षमा मात्र तीना हजार चार सयवटाभन्दा बढी ठगीको उजुरी दर्ता भएको विभागका प्रवक्ता कविराज उप्रतीले जानकारी दिए । गत आर्थिक वर्षमा चार हजार चार सय ६४ वटा उजुरी भएको थियो । विभागले संस्थागत र व्यक्तिगत उजुरी दर्ता गर्दै आएको छ । आर्थिक वर्ष २०७८÷७९ मा एक हजार सात सय ४२ वटा ठगीका उजुरी दर्ता भएका थिए । हरेक वर्ष ठगीका उजुरीहरू भने बढेको पाइन्छ । मुलकमा पर्याप्त रोजगारी नहुँदा विदेश जानेको संख्या उच्च हुदाँ वैदेशिक रोजगारीको नाममा सहज ठगी गर्नसक्ने हुँदा यसको संख्या बढेको विभागका अधिकारीहरू बताउँछन् । उजुरी परेसँगै भने विभागले फरफारक अर्थात् मिलापत्र गराउने नभएमा वैदेशिक रोजगार न्यायाधीकरण वा अदालत लगी पीडितलाई न्याय दिँदै आएको पाइन्छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x