Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारभारतसँगका समस्या वार्ता र कूटनीतिबाट समाधान गर्नुपर्छ: परराष्ट्रमन्त्री

भारतसँगका समस्या वार्ता र कूटनीतिबाट समाधान गर्नुपर्छ: परराष्ट्रमन्त्री


काठमाडौँ । नेपाल र भारत घनिष्ठ छिमेकीका साथै आपसी मैत्री र सहयोगको लामो इतिहास रहेको बताउँदै उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले भौगोलिक निकटता धार्मिक, सांस्कृतिक र भाषिक सम्बन्धस आर्थिक संलग्नता र दुई देशबीचका जनता–जनताबीच सघन रूपमा झाङ्गिएकोे सम्बन्ध नेपाल–भारत सम्बन्धका विशेषता हुन् भनेका छन् ।

पूर्वराजदूत यदुनाथ खनालको सम्मानमा परराष्ट्र मन्त्रालयले सुरु गरेको प्रवचनको तेस्रो शृङ्खलाको मङ्गलबार साँझ समापन मन्तव्य व्यक्त गर्दै उनले नेपाल–भारत सम्बन्ध प्रकृतिद्वारा पोषित, सांस्कृतिक आत्मीयताले बाँधिएको, व्यापक, बहुआयामिक र अतुलनीय रहेको बताए ।

आयोजित तेस्रो शृङ्खलाका प्रमुख वक्ता दक्षिण एसियाली अध्ययन प्रतिष्ठानका पूर्वनिर्देशक प्राध्यापक सी राजामोहनको सम्भाषणपछि परराष्ट्रमन्त्रीले भने, “तर दुई देशबीच इतिहासले छोडेका केही मुद्दा छन् जसलाई ऐतिहासिक तथ्यका आधारमा र असल छिमेकीको भावनाअनुरुप वार्ता र कूटनीतिक माध्यमबाट समाधान गर्न आवश्यक छ । यसले नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन मार्गप्रशस्त गर्नेछ, यसका लागि नेपाल सरकार प्रतिबद्ध छ ।”

मन्त्री श्रेष्ठले उच्चस्तरीय भ्रमणको आदानप्रदानबाट सम्बन्धलाई सुमधुर बनाउन र धेरै क्षेत्रमा साझेदारी बढाउन मद्दत पुगेको बताए । उनले द्विपक्षीय सम्बन्धका विविध क्षेत्रमा सहकार्य गर्न परामर्श संयन्त्र स्थापना गरिएको चर्चा गर्दै त्यस्ता संयन्त्रबाट आपसी सहयोग र साझेदारी बढाउन सहज भएको बताए । उनले ऊर्जाको क्षेत्रको साझेदारी महत्वपूर्ण छ भने ।

उनले भने, “ नेपालको जलविद्युत् उत्पादनको अथाह क्षमताको समुचित उपयोगले हाम्रो क्षेत्रको विकास परिदृष्यलाई स्वच्छ ऊर्जामा परिवर्तन गर्न सक्छ । व्यापार र पारवहनलाई सहज बनाउन सीमापार सम्पर्क सञ्जाल विस्तार भइरहेको छ । हामीले यो सञ्जाललाई थप विस्तार र सुधार गर्न आवश्यक छ ।”

उनले नेपाल लगानीको आकर्षक गन्तव्य बनेको उल्लेख गरे । दुवै देशले आपसी व्यापारलाई लाभदायक बनाउने उपाय खोज्नुपर्ने, नेपालको निर्यातको आधार सीमित भएकाले व्यापार घाटा बढ्दै गएको तथा भारत र अन्य देशसँगको व्यापार विस्तार गर्न उत्पादनशील क्षेत्रमा थप लगानी आवश्यक भएको बताउँदै नेपालमा सञ्चालित बहुराष्ट्रिय कम्पनीहरुले आफ्नो लगानीबाट मनग्य रकम फिर्ता लगेका बताए ।

परराष्ट्रमन्त्रीले सूचना प्रविधिको क्षेत्रमा पनि नेपाल र भारतबीच सहकार्यका प्रशस्त सम्भावना रहेका बताउँदै युवा जमातलाई यसतर्फ आकर्षित गर्न शिक्षा, विज्ञान र प्रविधिको क्षेत्रमा पनि सहकार्य आवश्यक भएको विचार व्यक्त गरे ।

नेपालको समृद्धिका निम्ति छिमेकी र अन्तर्राष्ट्रिय समुदायको सहयोग अपरिहार्य भएको बताउँदै परराष्ट्रमन्त्रीले नेपालको विकास र आर्थिक समृद्धि पनि छिमेकीको हितमा हुने बताउँदै । उनले विशाल राष्ट्रका शक्तिको द्वन्द्वबाट साना देशहरू प्रभावित भएका बताउँदै राजनीतिक नेतृत्वले त्यसको निदान सावधानीपूर्वक खोज्नुपर्नेमा जोड दिए ।

उनले चीनले आवश्यकताअनुसार रुस र अमेरिकासँगको सम्बन्धलाई सुमधुर बनाएको बताउँदै काठमाडौँ र नयाँ दिल्लीले बेइजिङबाट सिक्नुपर्ने विचार व्यक्त गरे । उनले अहिले बेइजिङको सम्बन्ध वासिङ्टनसँग चिसिएको भए पनि मस्कोसँगको सम्बन्ध सुदृढ रहेको वास्तविकता सुनाए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x