Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारजाहेरी दिएपछि कार्यान्वयन गर्न थप के–के गर्नुपर्छ महोदय ?

जाहेरी दिएपछि कार्यान्वयन गर्न थप के–के गर्नुपर्छ महोदय ?


गत वैशाख १८ गते बिहान कामनपा १७ क्षेत्रपाटीमा स्थानीय टोलेगुण्डा विजय मालीले मेरो बाटो छेकी अभद्र व्यवहार ग¥यो । मैले तत्काल प्रहरीलाई जानकारी गराएँ । प्रहरीले जानकारी लियो तर घटनास्थलसम्म आउने कष्ट गरेन । मैले बाटो हिँड्न पनि डराइमर्नु भयो भनेर प्रहरीलाई जानकारी गराएँ । तर, प्रहरीले डराउनु पर्दैन हामी छौँ भन्नेसम्म पनि भन्न आवश्यक ठानेन ।प्रहरी प्रधान कार्यालयबाट महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका डीएसपी सत्यनारायण थापालाई ममाथि अभद्र व्यवहार भएको जानकारी पुगेपछि उनले मलाई फोन गरेका थिए । त्यहीबेला मैले घटनाको बारेमा सरसर्ती जानकारी गराएको थिएँ । उनले ममाथि अभद्र व्यवहार गर्ने मालीको फोन नम्बर मागे, मसँग थिएन । उसको मोबाइल नम्बर सुचेन मालीसँग मागेर डीएसपी थापालाई म्यासेज गरिदिएँ । त्योचाहिँ डीएसपीका लागि भालुलाई लिस्नोजस्तो भएछ । भोलिपल्ट मजदुर दिवस थियो । सार्वजनिक बिदाको दिन डीएसपी थापाले मालीलाई बोलाएछन् र एक जना साक्षी राखेर वार्ता भएछ र वार्ता सफल भएपछि जाहेरी आए पनि अघि नबढाउने सहमति भएछ । प्रहरीमा सुचेनले लिएर गएको सूचना थियो तर यसरी व्यवस्थापन भएको कल्पना पनि थिएन । किनकि डीएसपी थापालाई त्यो घटना मैले नभएर आईजीपी सचिवालयले जानकारी गराएको थियो । त्यस्तो केसमा पनि एउटा डीएसपीले त्यस्तो कुकर्म गर्छ भन्ने मैले कल्पनासम्म पनि गरेको थिइनँ । सचिवालयको निर्देशन एउटा डीएसपीले यसरी धोती लगाउँछ भन्ने कल्पना गर्नु पनि कसरी ?

भोलिपल्ट २० गते मैले जाहेरी दिएँ डीएसपी थापाकै हातमा । उनले हेरेर त्यो जाहेरी इन्सपेक्टर श्यामकुमार बस्नतेको हातमा थमाए । त्यस दिन छलफलका नाममा म झण्डै चार घण्टा प्रहरी वृत्तमा बसेँ । दुई राउन्ड चिया खाएँ । कुराकानीका क्रममा डीएसपी थापाले म त्यहाँ गएको थाहा पाएपछि त्यहाँ पुगेका वडा अध्यक्ष, डाक्टरलगायतका शुभचिन्तकहरूलाई धम्क्याएर तपाईँहरूलाई अहिल्यै जबरजस्ती करणीमा थुन्न सक्छु भनेछन् । केको दम्भले उनले प्रतिष्ठित व्यक्तिहरूलाई धम्क्याएका होलान् । मैले अहिलेसम्म भेउ पाउन सकेको छैन ।उनी आफ्नै कार्यकक्षमा थिए, प्रहरी बर्दीमै थिए, देख्दा सही सलामत थिए । त्यसको केही समयपछि कुराकानीकै क्रममा उनले तिनै शुभचिन्तकहरूसँग एउटा पत्रकारलाई यसरी धक्याउनुभएन भन्ने प्रसङ्गको कुराकानीमा चौथो अङ्ग न पाचौँ अङ्ग के मतलब ? भनेर जङ्गिनुको कारण अहिलेसम्म सतहमा आउन सकेको छैन । यसबीचमा उनले मेरो जाहेरी थमाएका इन्सपेक्टर बस्नेतले उल्टै मलाई थुनिदिने धम्की दिए । मैले सफलताको शुभकामना दिएँ । तर ती दुई प्रहरी अधिकृत मविरुद्ध किन यसरी हात धोएर लागे भन्नेचाहिँ ‘ओपन सेक्रेट’ नै छ । औपचारिकरूपमा परिणाम आउन समय लाग्ला । मैले दिएको जाहेरी किन कार्यान्वयन भएन भन्ने प्रश्नको स्पष्टता जवाफ डीएसपी थापा वा इन्सपेक्टर बस्नेतसँग छैन । उनीहरूले मेरो जाहेरीलाई एउटा ‘डान्सबार’को झगडाको जाहेरीजस्तो शुभलाभको मौका बनाउन खोज्दा यस्तो भएको हो ।

मैले दिएको जाहेरी कार्यान्वयन नगर्न डीएसपी थापाले अनेक ठाउँमा अनेक झुट बोल्नुपरेको छ । सचिवालयलाई एआईजीसापको आदेश भनिएको छ । काठमाडौंका प्रहरीप्रमुख बसन्त रजौरेलाई सामान्य घटना भनिएको छ । को हो त्यो आदेश दिने एआएजी भन्ने कुरा पनि रहस्यकै गर्भमा रहेको छ । प्रहरीको काम समाजमा शान्तिसुरक्षा अमनचयन कायम गर्ने हो, अशान्ति मच्चाउने साम्प्रदायिकता भड्काउने होइन, समाजमा त्यस्तो अवाञ्छित क्रियाकलाप हुनलागे त्यसलाई रोक्नु हो । संविधानले स्वतन्त्रतापूर्वक हिँड्डुल गर्ने अधिकार सबै नागरिकलाई प्रदान गरेको छ । बाटो हिँड्दा अवरोध गरियो, धमक्याइयो हातपात गर्ने प्रयास भयो भने त्यही अभद्र व्यवहार हो । ममाथि त्यस्तो अभद्र व्यवहार भयो भनेर पीडितले दिएको जाहेरी प्रहरीले लुकाउँछ भने त्यो अनुसन्धान नै नगरी डीएसपी थापालाई त्यस्तो हुँदै होइन भनेर आफैँ फैसला गर्ने अधिकार कुन कानुनले दिएको छ ? उनी नागरिकले तिरेको करबाट तलब खाने प्रहरी हुन् । न्यायाधीश होइनन् ।

प्रहरी बर्दीप्रति सम्मान हुँदाहुँदै पनि उनी आफ्नै कुकर्मले सम्मानलायक मात्र रहेनन् । त्यो घटनामा छानबिन नै गर्न नहुने कारण के हो ? म उजुरीकर्ताले पनि थाहा पाउनुपर्दछ । गौँडो ढुकेर गुण्डा लगाएर पत्रकार तर्साउने यो कुन प्रहरीकर्म हो, कुन धर्म हो ? मलाई के कारण अभद्र व्यवहार गरिएको हो ? त्यो थाहा पाउने मेरो अधिकार छैन र ? विनाकारण यसरी धम्क्याउन पाइन्छ भने भिन्नै कुरा हो । ४० वर्षदेखि त्यही क्षेत्रमा बसेर पत्रकारिता गर्दै आएको क्रियाशील पत्रकारलाई धम्क्याउने व्यक्तिलाई कारबाही नगर भनेर रोक्ने एआईजीको नाम डीएसपी थापाले खुलाउन सकिरहेका छैनन् । तर, यता एउटा झुटलाई ढाक्न अर्को झुट गर्दै झुटैझुटमा उनी उभिनुपरेको छ । एआईजीले आदेश दिएकै हो भन्ने बनाउन हालै बढुवा भएका एकजना एआईजीलाई बधाई दिन पठाएर त्यो गिरोहबाट दाग लगाउने प्रयास भएको एआईजीले थाहा पाएपछि टोलेगुण्डाका नाइके काले भनिने विजय मालीका सहसंरक्षक सुचेन मालीले फेसबुकबाट ती सबै फोटो र भिडियो ‘डिलिट’ गरेर आफ्नो झुटको कर्तुत देखाएका छन् ।

आफूलाई टौदहको थापाकाजी बताउने डीएसपी थापाले यसरी एउटा ‘क्रिमिनल’लाई खुलेआम आश्रय र प्रश्रय दिएका छन् । उनको यो कुकर्मबाट म र मेरो परिवारको असुरक्षा बढेको छ । कुनै पनि बेला डीएसपी थापाबाट संरक्षित तत्वले आक्रमण गर्न सक्छ । त्यतिबेला त्यसको सम्पूर्ण जिम्मेवारी डीएसपी थापाले नै लिनुपर्दछ । प्रहरीमा दिएको जाहेरी कार्यान्वयन नगरी लुकाइएकाले मानव अधिकार र प्रेस स्वतन्त्रता पक्षधरदेखि विदेशी सबैलाई यसै लेखमार्फत खुला जानकारी गराउनुपरेको हो । मुलुकको संघीय राजधानी काठमाडौंको मुटु मानिने ठमेल क्षेत्रपाटीमा एक जना पत्रकारमाथि डेरावालाको नाममा यसरी सिलसिलेवररूपमा धम्काइन्छ र धम्काउनेका विरुद्ध दिइएको जाहेरी डीएसपीले लुकाउँछ र कार्यान्वयन गर्दैन भने सामान्य निमुखा दूरदराजका जनताको हकमा प्रहरीले कस्तो व्यवहार गर्ला वा गरेको होला सहजै अनुमान गर्न सकिन्छ ।

डीएसपी थापाले देखाएको यो नाङ्गो नाच यहाँका गृहप्रशासनले टुलुटुलु हेरेर निःशुल्क मनोरञ्जन लिइरहेको हो कि निरीहता प्रदर्शन गरेको हो ? किन कसैको आँखा खुल्दैन, किन सबै मुखमा पट्टी बाँधेर बसेका छन् ? प्रश्न उठेको छ, अपराधी ठूलो हो कि त्यसको संरक्षक ठूलो ? क्षेत्रपाटीमा पत्रकारमाथि भएको अभद्र व्यवहारको उजुरी गायब पर्छ प्रहरी अनि उसले गृहमन्त्री रवी लामिछानेको ठगीविरुद्ध तयार पारेको प्रतिवेदन पत्रकारले सही भनिदिनुपर्ने ? निर्मला पन्तहरू वा सन्दीप लामिछानेहरूविरुद्ध प्रहरीले कसतो छानबिन गर्दोरहेछ भन्ने यसैबाट जगजाहेर हुँदैन र ?

सर्वसाधरणको हकमा प्रहरीले कस्तो कारबाही गर्ला भन्ने यसैबाट सहजै अनुमान लगाउन सकिन्छ । अहिले डीएसपी थापा साम्प्रदायिकता भड्काउन त्यो गिरोहलाई संरक्षण गरिरहेका छन् । पीडितको मनोबल गिराउने, निसहाय, असहाय बनाउने, पीडकलाई संरक्षण गर्ने, उकास्ने, बल प्रदान गर्ने कार्य उनीबाट भइरहेको छ । आक्रमणकारी खुलेआम हिँडेको छ । घुरेर हेर्ने, डराउने, तर्साउने, भयभीत बनाउने कार्यमा निरन्तर लागिरहेको छ । तर, प्रहरी उसैको पक्षमा उभिएको छ । समाजमा अपराध गर्ने अपराधीलाई कारबाही गर्न सामान्यतया जाहेरी दिएपछि पुग्नुपर्ने हो । त्यसपछि प्रहरी अनुसन्धान थालिनुपर्ने हो । मेरो हकमा त्यस्तो भएन ।२०४९ सालदेखि आएको टेलिफोन धम्की २०८१ साल वैशाख १८ गते सतहमा आयो । त्यसपछि मैले दिएको जाहेरी डीएसपी थापाले अहिलेसम्म कार्यान्वयन गरेका छैनन् । त्यो जाहेरी कार्यान्वयन गर्न मैले अरु थप के–के गर्नुपर्ने हो ? खुलस्तरूपमा भनेको भए वा अब भने पनि म उनका सबै ‘डिमान्ड’ पूरा गर्न पछि पर्नेछैन । हाम्रो प्रहरी प्रशासन यस्तै हो भनेर चित्त बुझाउनुपर्ला । भनेको गरौँला । पहिला बाँच्नु त प¥यो नि ! कि कसो महोदय ?


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x