Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारभन्सार दर घटाउन चेम्बरले पहल गर्ने

भन्सार दर घटाउन चेम्बरले पहल गर्ने


काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले भन्सारका दरहरू घटाउन पहल गर्ने भएको छ । चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवाल नेतृत्वको नयाँ कार्यसमितिले भन्सारका दर घटाएर चोरी पैठारीलाई नियन्त्रण गर्न पहल गर्ने कार्ययोजना तयार पारेको हो । विद्यमान भन्सारका दरहरू ३० प्रतिशतबाट घटाएर २० प्रतिशत, २० बाट घटाएर १५ प्रतिशत र १५ बाट घटाएर १० प्रतिशत कायम गर्न र ४० प्रतिशतको भन्सार दरलाई खारेज गर्न पहल गरिने जनाएको छ ।

प्रतिस्पर्धी कर नीति एवं करको दायरा विस्तार गर्न र भन्सारमा कारोबार मूल्यलाई मान्यता दिई सन्दर्भ मूल्यलाई खारेज गर्न पहल गर्ने चेम्बरले उल्लेख गरेको छ । विलासिताका वस्तु र आवश्यक्ताका वस्तुबीच एकै प्रकारको दर सामाजिक न्यायको दृष्टिकोणले पनि उचित नभएकाले फरक दर कायम गर्न पहल गर्ने भएकोे छ । मूल्य अभिवृद्धि करमा बहुदर प्रणाली लागू गरी उपभोक्तालाई सुलभ मूल्यमा सामान उपलब्ध हुने वातावरण बनाउने भएको छ ।

ड्युटी ड्र ब्याकको लागि बजेटमा आवश्यक व्यवस्थाका लागि र सो रकम निर्यात हुने भन्सार कार्यालयबाट ३० दिनभित्र फिर्ता दिने व्यवस्थाको व्यावहारिक कार्यान्वयनका लागि पहल गर्ने निर्णय गरेको छ ।

भूत प्रभावित कर नीतिको खारेजी एवं आयकर ऐनको प्रावधानमा सरलीकरणका लागि पुनर्लेखनको व्यवस्था गरिनेछ । उच्च आयकरका दरहरूलाई न्यूनीकरणका लागि पहल गरिनेछ ।

निर्यात १० खर्ब पुर्याउने रणनीतिक योजना
नेपाल चेम्बर अफ कमर्सले वार्षिक निर्यात क्षमता १० खर्ब रुपैयाँ पु¥याउने गरी योजना तर्जुमा गरेको छ । आगामी तीन वर्षमा व्यापारघाटा न्यूनीकरणका लागि निर्यात प्रवर्द्धन कार्ययोजना तयार गरेको हो । तुलनात्मक लाभ भएका कृषि, जलस्रोत, पर्यटन, तथा सूचनाप्रविधि क्षेत्रमा स्वदेशीसँगै विदेशी लगानी आकर्षित गरी उत्पादनदेखि बजारीकरणसम्म सहजीकरण गरिने चेम्बरले उल्लेख गरेको छ ।

रणनीतिक सुधार योजना, राजस्वमा नीतिगत सुधार, वित्तीय व्यवस्थापन र कृषिको उत्पादन वृद्धि एवं आत्मनिर्भर अर्थतन्त्रको निर्माणका लागि चेम्बरले ४९ बुँदाको कार्यक्रम कार्ययोजना तय गरेको हो । चेम्बरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विश्व व्यापार संगठनको सदस्य बनेयता नेपालले निरन्तर व्यापारघाटा व्यहोरिरहेको छ । हाल आयातको हिस्सा ९० र निर्यातको हिस्सा १० प्रतिशतको अनुपातमा छ । यसलाई घटाउन निर्यातयोग्य वस्तुहरूको पहिचान एवं प्रवद्र्धन गरी निर्यातको वतावरण बनाइनेछ । वार्षिक १० खर्ब रुपैयाँको निर्यात क्षमता पुर्याउने गरी ठोस निर्यात प्रवर्द्धन रणनीतिक योजना तर्जुमाका लागि पहल गरिनेछ ।’ सातै प्रदेशमा निर्यात घर स्थापनासम्बन्धी अवधारणाको व्यावहारिक कार्यन्वयनका लागि पहल गर्ने चेम्बरले उल्लेख गरेको छ । व्यापार प्रवर्द्धनका लागि निर्यात सहजीकरण एवं अन्तर्राष्ट्रियस्तरको क्वारेन्टिन ल्याब स्थापनाका लागि पहल गर्ने चेम्बरले जनाएको छ ।

रेमिट्यान्सलाई उत्पादनमूलक क्षेत्रमा प्रोत्साहन गर्न नीतिगत कार्ययोजना बनाउने चेम्बरले जनाएको छ । वैदेशिक रोजगारबाट फर्किएका युवाहरूको सीपलाई अध्यागमनमा लगत संकलन गर्ने र युवाहरूको सीपलाई स्वदेशी उत्पादनमा लगाउनका लागि प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिने चेम्बरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

चेम्बरले दिगो आर्थिक विकासका लागि स्थिर सरकार र नीतिगत स्थायित्वमा जोड दिएको छ । आर्थिक वर्ष २०८१/८२ देखि लागू हुने १६औँ पञ्चवर्षीय योजना, सरकारको नीति तथा कार्यक्रम, बजेट र मौद्रिक नीतिबीचको प्रभावकारी तालमेलका लागि पहल गर्ने चेम्बरले उल्लेख गरेको छ ।

पुँजीगत खर्च वृद्धि एवं आवाधिक योजनाको प्रभावकारी कार्यान्वयन, पुँजीगत खर्च समयमै सम्पन्न गर्नका लागि समयबद्ध तालिका बनाएर परिणाम दिनेगरी काम गर्नका लागि नीतिगत पहल गरिनेमा समेत चेम्बरले उल्लेख गरेको छ । कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा थोक तथा खुद्रा व्यापार क्षेत्रको योगदान १४ प्रतिशत रहेको भन्दै चेम्बरले व्यावसायिक एवं रोजगारी अभिवृद्धिका लागि व्यापार सहजीकरण गर्दै जीडीपीमा थोक तथा खुद्रा व्यापार क्षेत्रको योगदानलाई थप वृद्धि गर्न पहल गरिने चेम्बरले उल्लेख गरेको छ ।

पूर्वाधारका योजनालाई पाइलट प्रोजेक्टका रूपमा विकास गरी विदेशी लगानीको आकर्षणका लागि पहल गरिने पनि चेम्बरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । तुलनात्मक लाभ भएका कृषि, जलस्रोत, पर्यटन, तथा सूचना प्रविधि क्षेत्रमा स्वदेशीसँगै विदेशी लगानी भित्र्याउनका लागि पहल गर्ने जनाएको छ । विश्व व्यापार संगठन, बिम्स्टेक र साफ्टा आदिमा गरिएका प्रतिबद्धताअनुसार भन्सार दरबन्दी घटाउन पहल गरिने चेम्बरले जनाएको छ । सूचना प्रविधि उद्योगलाई रोजगारी र सेवा निर्यातको प्रमुख क्षेत्रका रुपमा विकास गर्न पल गरिने चेम्बरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । चेम्बरले भन्सारमा कारोबार मूल्यलाई मान्यता दिई सन्दर्भ मूल्यलाई खारेज गर्न निरन्तर पहल गर्ने बताएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x