Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारमधेश प्रदेशमर्मतसम्भार नहुँदा जलेश्वर कारागार जीर्ण

मर्मतसम्भार नहुँदा जलेश्वर कारागार जीर्ण


महोत्तरी । विसं १९१३ सालमा निर्मित जलेश्वरको कारागार भवन मर्मतसम्भारको अभावमा जीर्ण बनेको छ । कैदीबन्दीले भवन पुरानो भएकाले छत उप्कने, पर्खालको इँटा चोइटिने र मक्किएका दलिनबाट धमिराले खाएको धुलो झर्न थालेपछि जोखिम बढेको गुनासो गरेका छन् ।

कारागारमा एक सय ३५ जनालाई राख्न सकिने भए पनि हाल पाँच सयभन्दा बढी सङ्ख्यामा कैदीबन्दी राखिएका छन् । क्षमताभन्दा बढी कैदीबन्दी भए पनि सोअनुसार व्यवस्थापन नहुँदा समस्या भएको कारागार प्रमुख (जेलर) रामचन्द्र साहले बताए ।

साहका अनुसार कारागारमा रहेका पाँच सय ९४ कैदीबन्दीका लागि २४ कोठा, १५ शौचालय, सातवटा चापाकल र छवटा धारा छन् तर क्षमताभन्दा चौब्बर बढी कैदीबन्दी हुँदा सुत्न, बस्न र नित्यकर्म गर्नसमेत समस्या छ । “करिब डेढफिट चौडा कोठामा धेरै कैदीबन्दीको व्यवस्थापन गर्नुपर्दा धेरैै समस्या भएको छ । पछिल्लो समय कारागारलाई सुधारगृहको अवधारणाअनुसार विकास गर्नुपर्नेमा पठनपाठन, खेलकुद र मनोरञ्जनको व्यवस्थाका लागि सोच्न सकिएको छैन”, उनले भने ।

प्रदेश राजधानी रहेको धनुषामा कारागार नहुँदा कूल कैदीबन्दीमध्ये ६० प्रतिशतभन्दा बढी धनुषाकै कैदीबन्दी रहेका छन् । “हामीले कारागारको भौतिक अवस्था र कैदीबन्दीको चाप, पूर्वाधारलगायत समस्याबारे माथिल्लो निकायमा दैनिकजसो जानकारी गराइरहेका छौँ तर सुनुवाइ भएको छैन”, कारागार प्रमुख साहले गुनासो गरे ।

साहका अनुसार जलेश्वरमा कारागारसँग छ बिघा ११ कट्ठा १७ धुर जग्गा छ । सो जग्गामा सुविधा सम्पन्न भवन तथा खुला कारागारको अवधारणाअनुसार पूर्वाधार निर्माण गर्न माथिल्ला निकायमा प्रस्ताव पठाइएकाले त्यसको कार्यान्वन हुनुपर्ने साहले बताए ।


क्याटेगोरी : समाचार, मधेश प्रदेश

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x