Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमुलुकको व्यापार घाटा ११ खर्ब ७७ अर्ब

मुलुकको व्यापार घाटा ११ खर्ब ७७ अर्ब


काठमाडौं । चालू आर्थिक वर्ष २०८०/८१ को १० महिनामा मुलुकले करिब १२ खर्ब रुपैयाँ व्यापार घाटा व्यहोरेको छ । भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि वैशाख मसान्तसम्म ११ खर्ब ७७ अर्ब १८ करोड ३४ लाख रुपैयाँ व्यापार घाटा भएको छ । यस अवधिमा १३ खर्ब तीन अर्ब ३५ करोड ७० लाख ३९ हजार रुपैयाँबराबरको आयात भएको छ भने एक खर्ब २६ अर्ब १७ करोड ३५ लाख रुपैयाँको निर्यात भएको छ । कुल वैदेशिक व्यापार १४ खर्ब २९ अर्ब ५३ करोड पाँच लाख ८७ हजार रुपैयाँबराबरको भएको छ ।

वैदेशिक व्यापारमा आयातको हिस्सा ९१ दशमलव शून्य सात प्रतिशत र निर्यातको हिस्सा आठ दशमलव ८३ प्रतिशत छ ।

वैदेशिक व्यापार गत आर्थिक वर्षको वैशाखमसान्तको तुलनामा घटेको छ । गत आर्थिक वर्षको १० महिनामा कुल वैदेशिक व्यापार १४ खर्ब ६६ अर्ब २२ करोड २४ लाख रुपैयाँ थियो । यस आर्थिक वर्षको वैशाखसम्म वैदेशिक व्यापार दुई दशमलव ५० प्रतिशत घटेर १४ खर्ब २९ अर्ब ५३ करोड पाँच लाख रुपैयाँमा झरेको छ । निर्यात र आयात दुवैमा कमी आएको छ । निर्यात एक वर्षअघिको तुलनामा तीन दशमलव ६१ प्रतिशत घटेको छ भने आयात दुई दशमलव ३९ प्रतिशतले घटेको छ ।

भारतसँग सात खर्ब ३० अर्ब व्यापार घाटा
नेपालले सबैभन्दा धेरै व्यापार गर्ने भारतसँग मात्र सात खर्ब २९ अर्ब ७० करोड रुपैयाँ व्यापार घाटा भएको छ । भारतबाट आठ खर्ब १५ अर्ब ७२ करोड ९५ लाख रुपैयाँबराबरको वस्तु आयात हुँदा नेपालबाट ८६ अर्ब दुई करोड ३८ लाख रुपैयाँबराबरको वस्तु निर्यात भएको छ ।

चीनसँग व्यापार घाटा दुई खर्ब ३८ अर्ब ५५ करोड रुपैयाँ छ । यस आर्थिक वर्षको १० महिनामा चीनबाट दुई खर्ब ४० अर्ब ८३ करोड २३ लाख रुपैयाँको वस्तु आयात हुँदा दुई अर्ब २७ करोड ४५ लाख रुपैयाँबराबरको निर्यात भएको छ ।

वैदेशिक व्यापारमा नेपालले बढी घाटा व्यहोरेका मुलुकमा संयुक्त अरब इमिरेट्स (यूएई) तेस्रो स्थानमा छ । यूएईबाट २६ अर्ब ५१ करोड ३२ लाख रुपैयाँबराबरको वस्तु अयात हुँदा दुई अर्ब २० करोड ५४ लाख रुपैयाँबराबरको वस्तु निर्यात भएको छ । यूएईसँग व्यापार घाटा २४ अर्ब ३० करोड ७८ लाख रुपैयाँ छ ।

नेपालले बढी व्यापार घाटा व्यहोरेका मुलुकमा युक्रेन चौथो, मलेसिया पाँचौँ र अस्ट्रेलिया छैटौँ स्थानमा छन् । युक्रेनसँग व्यापार घाटा १५ अर्ब ८४ करोड रुपैयाँ, मलेसियासँग १५ अर्ब ११ करोड रुपैयाँ र अस्ट्रेलियासँग १० अर्ब ५० करोड रुपैयाँ छ ।

३४ मुलुकसँग व्यापार नाफा
नेपालले ३४ वटा मुलुकसँगको वैदेशिक व्यापार नाफामा छ । सबैभन्दा धेरै व्यापार नाफा डेनमार्कसँग छ । डेनमार्कमा नेपालले ७० करोड ४४ लाख ८२ हजार रुपैयाँबराबरको निर्यात र ३१ करोड ८६ लाख ३४ हजार रुपैयाँबराबरको आयात गरेको छ । यसबाट ३८ करोड ५८ लाख ४९ हजार रुपैयाँबराबर व्यापार नाफा भएको छ । त्यस्तै, अफगानिस्तानसँग २६ करोड २० लाख रुपैयाँ, नर्वेसँग ११ करोड ३६ लाख रुपैयाँ र सुडानसँग तीन करोड ४४ लाख रुपैयाँ व्यापार नाफा देखिएको छ ।

साढे दुई खर्बको पेट्रोलियम पदार्थ आयात
चालू आर्थिक वर्षको १० महिनामा दुई खर्ब १७ अर्ब रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको छ । डिजेल एक खर्ब १५ अर्ब ६७ करोड एक लाख रुपैयाँ, पेट्रोल ५६ अर्ब ८० करोड १३ लाख रुपैयाँ, खाना पकाउने ग्यास ४६ अर्ब ९८ लाख रुपैयाँको आयात भएको छ ।

फलाम तथा स्टिल ६२ अर्ब एक करोड रुपैयाँ, मोबाइल २४ अर्ब एक करोड रुपैयाँ, सुन २२ अर्ब ७६ करोड रुपैयाँ, हवाई इन्धन १७ अर्ब ५८ करोड रुपैयाँको आयात भएको छ । यस्तै, भटमास १५ अर्ब २५ करोड रुपैयाँ, मल १५ अर्ब १० करोड रुपैयाँ, विद्युतीय सवारीसाधन १३ अर्ब ८७ करोड रुपैयाँ र कच्चा सनफ्लावर तेल १३ अर्ब ६३ करोड रुपैयाँको आयात भएको छ ।

नेपालबाट छ अर्ब ९१ करोड रुपैयाँतको अलैँची निर्यात भएको छ । पाँच अर्ब ६२ करोड रुपैयाँको फलाम तथा स्टिलजन्य सामग्री, पाम तेल पाँच अर्ब ६० करोड रुपैयाँ, कार्पेट तथा टेक्सटाइल पाँच अर्ब २६ करोड रुपैयाँ, जुस र जुसजन्य पदार्थ पाँच अर्ब छ करोड रुपैयाँको निर्यात भएको छ । यसबाहेक जुट तथा जुटका सामग्री, यार्न, चिया, पश्मिना सल, कुकुर बिरालाका आहारालगायतका सामग्री पनि निर्यात भएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x