Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारविकल पौडेललाई फेरि भ्रष्टाचार मुद्दा, ६२ करोड सम्पत्तिको स्रोत नै छैन

विकल पौडेललाई फेरि भ्रष्टाचार मुद्दा, ६२ करोड सम्पत्तिको स्रोत नै छैन


काठमाडौं । सुरक्षण केन्द्रका तत्कालीन निर्देशक विकल पौडेलविरुद्ध फेरि भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६२ करोड १९ लाख १८ हजार छ सय ८४ रुपैयाँ २९ पैसा गैरकानुनीरूपमा सम्पत्ति आर्जन गरेको भन्दै भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम दुई वर्षसम्म कदै र बिगोबमोजिम जरिबाना र गैरकानुनी सम्पत्ति समेत जफतसहित बुधबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।

अख्तियारले पौडेल कार्यकारी निर्देशक भएको समयमा जाँच गरी उक्त आरोपपत्र दायर गरेको हो । अख्तियारले २०७४/७५ देखि २०७९/८० को अवधिलाई जाँच अवधि कायम गर्दा उक्त मात्रामा गैरकानुनी सम्पत्ति आर्जन गरेको खुल्न आएको हो । जाँच अवधिमा उनको कुल आम्दानी दुई करोड एक लाख ४३ हजार आठ सय ८८ रुपैयाँ ६८ पैसा र खर्च तथा लगानी ६४ करोड २० लाख ६२ हजार पाँच सय ७२ रुपैयाँ ९७ पैसा देखिएको छ । आम्दानी र खर्च घटाउँदा आउने बाँकी रकम ६२ करोड १९ लाख १८ हजार छ सय ८४ रुपैयाँ २९ पैसाबराबरको रकमको भने वैधानिक स्रोत नखुलेको अख्तियारले दाबी गरेको छ ।

त्यस्तै, अख्तियारले गैरकानुनीरूपमा सम्पत्ति आर्जन गरी देश तथा विदेशमा नगद तथा जिन्सी सामग्रीहरू जोडेको आरोप लगाएको छ । त्यस्तै अख्तियारले पौडेलेको श्रीमती एलिना बस्नेत, बाबु धर्मप्रसाद शर्मा, आमा शीतल पौडेललाई समेत प्रतिवादी कायम गरी मुद्दा दायर गरेको छ । अख्तियारले गैरकानुनीरूपले आर्जनको विषय अनुसन्धानबाट विस्तृतरूपमा खुल्न नसकेको भन्दै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ (ख) बमोजिम पारस्परिक कानुनी सहायता ऐन , २०७० को दफा १२ बमोजिम जफत तथा असुलउपुर गर्ने प्रयोजनका लागि मात्र प्रतिवादी कायम गर्नेगरी मागदाबी लिइएको बताइएको छ ।

अख्तियारका अनुसार पौडेलले केन्द्रमा आपूर्ति हुने सामग्रीको लागि योजनाबद्ध ढंगबाट आफूले चाहेको स्वदेशी आपूर्तिकर्तासँग ठेक्का सम्झौता गरी कमिसन रकम लिएका छन् । उनले कमिसनबापत २८ करोड ९५ लाख ७५ हजार छ सय ८९ रुपैयाँ ७३ पैसा लिएको उक्त रकम सिङ्गापुरस्थित युनाइटेड ओभरसिज बैंक र अमेरिकास्थित बैंक अफ अमेरिकामा जम्मा गरेका थिए ।

अख्तियारका अनुसार उनले सन् २०१९ देखि सन् २०२२ सम्ममा दुईवटा कम्पनीबाट कमिसनबापत नौ लाख नौ हाजर चार सय ४१ दशमलव ६६ अमेरिकी डलर र एक लाख ३९ हजार नौ सय ६४ दशमलव ४ अमेरिकी डलर लिएका छन् । उनले पटक–पटक गरी तीन करोड ७७ लाख ९१ हजार एक सय रुपैयाँ रकम सायद ताहिर साह, अकबर हुसेन, मनोज कार्की, ऋचा खनाल समेतलाई ट्रान्सफर गरेको साथै विभिन्न मितिमा सिंगापुरस्थित प्रुडियन्स सुरेन्स कम्पनीमा दुई करोड ४४ लाख ६३ हजार ८ सय २२ रुपैयाँ २७ पैसाबराबरको प्रिमियम भुक्तानी गरी जीवन बीमा समेत गरेको देखिएको छ । यसका अलाबा सिङ्गापुरस्थित युनाइटेड ओभरसिज बैंकको ‘वेल्थ एक्युमुलेसन प्लान’अन्तर्गतको एउटा ‘स्किम स्ट्रक्चर नोट’मा अमेरिकी डलर दुई लाख लगानी गरेको प्रमाण निजले प्रयोग गरिरहेको हटमेल इमेलबाट खुल्न आएको बताइएको छ ।

उनले अमेरिकास्थित ब्रोकर कम्पनी र सेयरमा लगानी समेत गरेको बताइएको छ । उनले अमेरिकी ब्रोकर कम्पनी र सेयरमा गरी १३ करोड नौ लाख ९७ हजार दुई सय ७६ रुपैयाँ १० पैसाबराबर रकम लगानी गरेको समेत खुल्न आएको छ । राष्ट्र बैंक तथा निजको साथबाट बरामद भएको विद्युतीय उपकरणबाट सो कुरा खुल्न आएको बताइएको छ ।

गैरकानुनीरूपमा प्राप्त सम्पत्ति लुकाउनको लागि नाटकीयरूपमा अंश भागबण्डा समेत गरेको पाइएको छ । उनले २०७५ मंसिर १३ गते अंश बुझेको अख्तियारको भनाइ छ । कमिसनबापत बुझेको रकमबाट आमा र दाइ विवेक पौडलसँगको संयुक्त लगानीमा काठमाडौं महांकाल ८ मा २९०.२५ वर्गमिटरको जग्गा खरिद गरेको साथै आमा र दाइको संयुक्त नामा भक्तपुरको छालिङ्गमा पाँच रोपनी सात आना जग्गा खरिद गरेका छन् ।

अख्तियारका अनुसार पौडेलले भ्रष्टाचार गरी आर्जन गरेको रकमले श्रीमती बस्नेतलाई घर खरिद गरेका छन् । सन् २०२१ सेप्टेम्बर २४ मा भने उनले श्रीमती एलिना बस्नेतको नाममा अमेरिकाको टुलिपवुडमा घर खरिद समेत गरेका छन् । उनले पाँच लाख १५ हजार अमेरिकी डलरमा उक्त घर खरिद गरेको पाइएको छ ।

अख्तियारले वैशाख ३० गते पौडेलसहित छ जनाविरुद्ध ४० करोड ८५ लाख ७४ हजार सात सय ४० रुपैयाँ भ्रष्टाचार गरेको आरोप लगाउँदै विशेष अदालतमा मुद्दा दायर गरेको थियो । अख्तियारले सुरक्षण मुद्रण प्रेसको सफ्टवेयर तथा अन्य उपकरण खरिदको क्रममा गैरकानुनी तवरबाट सरकारी रकमको दुरुपयोग गरेको आरोपमा पौडेलसहित केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठ, तत्कालीन सीडीई (मेकानिकल) नवीनकुमार पोखरेल, लेखा अधिकृत खड्कबहादुर थापा र शाखा अधिकृत हरिवल्लभ घिमिरेविरुद्ध र विदेशी एजेन्ट अकबर हुसेनविरुद्ध मुद्दा दायर गरेको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x