Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसात सार्वजनिक संस्थानको बजार पुँजीकरण पाँच खर्ब ६४ अर्ब

सात सार्वजनिक संस्थानको बजार पुँजीकरण पाँच खर्ब ६४ अर्ब


काठमाडौं । सञ्चालनमा रहेका सार्वजनिक संस्थानहरूमध्ये सातवटा सार्वजनिक संस्थानको बजार पुँजीकरण साढे पाँच खर्बभन्दा माथि छ । गत आर्थिक वर्ष २०७९/८० मा सञ्चालनमा रहेका सार्वजनिक संस्थानहरूमध्ये सातवटा सार्वजनिक संस्थानको बजार पुँजीकरण पाँच खर्ब ६४ अर्ब ६७ करोड ४५ लाख रुपैयाँ पुगेको छ । जुन अघिल्लो आर्थिक वर्ष २०७८/७९ को तुलनामा एक दशमलव ८१ प्रतिशतले बढी हो । आर्थिक वर्ष २०७८/७९ मा सातवटा सार्वजनिक संस्थानको बजार पुँजीकरण पाँच खर्ब ५४ अर्ब ६३ करोड ३३ लाख रुपैयाँ थियो ।

कुल बजार पुँजीकरणमा सार्वजनिक संस्थानको अंश आर्थिक वर्ष २०७९/८० मा १८ दशमलव ३२ प्रतिशत छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा कम हो । आर्थिक वर्ष २०७८/७९ मा १९ दशमलव ३३ प्रतिशत हिस्सा थियो ।

सरकारको ‘सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा, २०८१’ अनुरूप सञ्चालनमा रहेका संस्थानमध्ये सातवटा अर्थात् नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, कृषि विकास बैंक लिमिटेड, राष्ट्रिय बीमा कम्पनी लिमिटेड, नागरिक लगानी कोष, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड, नेपाल बैंक लिमिटेड र विशाल बजार कम्पनी लिमिटेड नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत छन् ।

आर्थिक वर्ष २०७८/७९ को तुलनामा आर्थिक वर्ष २०७९/८० मा दूरसञ्चार कम्पनीको तीन दशमलव १९ प्रतिशत, राष्ट्रिय बीमाको २० दशमलव १४ प्रतिशत, नागरिक लगानी कोषको ३४ दशमलव ९८ प्रतिशतले बढेको छ भने कृषि विकास बैंकको २७ दशमलब ९२ प्रतिशत, हाइड्रोइलेक्ट्रिसिटीको ११ दशमलव ८१ प्रतिशत, नेपाल बैंकको १४ दशमलव ७७ प्रतिशत र विशाल बजारको चार दशमलव ७२ प्रतिशत घटेको छ । आर्थिक वर्ष २०७९/८० मा बजार पुँजीकरण दूरसञ्चार कम्पनीको एक खर्ब ६३ अर्ब २४ करोड रुपैयाँ, कृषि विकास बैंकको ३१ अर्ब ४६ करोड रुपैयाँ, राष्ट्रिय बीमाको ४२ अर्ब ९२ करोड रुपैयाँ, नागरिक लगानी कोषको एक खर्ब ११ अर्ब रुपैयाँ, हाइड्रोइलेक्ट्रिसिटीको ४१ अर्ब ९० करोड रुपैयाँ, नेपाल बैंकको ३६ अर्ब ५८ करोड रुपैयाँ र विशाल बजारको एक खर्ब ३७ अर्ब ५४ करोड रुपैयाँबराबर छ ।

आर्थिक वर्ष २०७८/७९ मा बजार पुँजीकरण दूरसञ्चार कम्पनीको एक खर्ब ५८ अर्ब २० करोड रुपैयाँ, कृषि विकास बैंकको ४३ अर्ब ६५ करोड रुपैयाँ, राष्ट्रिय बीमाको ३५ अर्ब ७२ करोड रुपैयाँ, नागरिक लगानी कोषको ८२ अर्ब २४ करोड रुपैयाँ, हाइड्रोइलेक्ट्रिसिटीको ४७ अर्ब ५२ करोड रुपैयाँ, नेपाल बैंकको ४२ अर्ब ९२ करोड रुपैयाँ र विशाल बजारको एक खर्ब ४४ अर्ब ३६ करोड रुपैयाँबराबर थियो ।

सार्वजनिकरूपमा कारोबार हुने कम्पनीहरूको जारी गरिएको सेयरहरूको कुनै समय विन्दुमा भएको बजारमूल्यलाई बजार पुँजीकरणलाई जनाउने हुँदा उक्त रकमबराबर सार्वजनिक संस्थानको बजार पुँजीकरण देखिएको हो । बजार पुँजीकरण सेयरको मूल्य तथा बजारमा जारी गरिएको सेयरको संख्याको अंकसँग बराबर हुने गर्दछ । मुलुकमा ४४ वटा सार्वजनिक संस्थान रहेका छन् भने तीमध्ये २६ वटा मात्र नाफामा रहेका छन्, जसमा नेप्सेमा सूचीकृत सातवटा नाफामा छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x