Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारजनकपुर रिफाइनरीको क्रुडपाम तेलको लफडा : सबै ट्याङ्कर भन्सार यार्डमै

जनकपुर रिफाइनरीको क्रुडपाम तेलको लफडा : सबै ट्याङ्कर भन्सार यार्डमै


विराटनगर । जनकपुर रिफाइनरी प्रालिले नेपालमा ल्याएको पामतेलका सबै ट्याङ्कर दुई महिनादेखि विराटनगर भन्सार यार्डमै रोकिएर बसेको पाइएको छ । सो कम्पनीले सिंगापुरबाट आयात गरेको पामतेल प्रशोधित वा कच्चा भन्ने विषयको विवाद हुँदा विराटनगर भन्सारमा नै अलपत्र परेको छ ।

सो विवाद उच्च अदालत पाटनसम्म पुगे पनि त्यसको समाधान हुन सकेको छैन । मधेश प्रदेशको जनकपुुरमा रहेको सो कम्पनीले सिंगापुरबाट १२ लाख ९९ हजार चार सय ९० लिटर पाम तेल आयात गरेको थियो । सो तेल प्रशोधित हो कि कच्चा भन्ने विवाद विराटनगरमा दुई महिना यतादेखि चलिरहेको छ । आयातकर्ता कम्पनीले आफूले आयात गरेको पाम तेल कच्चा नै हो भन्ने दाबी गरेको छ भने विराटनगर भन्सार कार्यालयले उक्त तेल कच्चा नभई प्रशोधित भएकाले सोहीअनुसार भन्सार शुल्क तिर्नुपर्ने बताएको छ । सोही कारण दुवै पक्षबीच विवाद उत्पन्न हुँदा उक्त पाम तेल भन्सारमा अड्किएको हो । यसरी भन्सार छुटाउने विषयमा विवाद देखिएपछि आयातकर्ता कम्पनी उच्च अदालत पाटनमा पुगेको थियो ।

पाटन उच्च अदालतले गत वैशाख २५ गते अन्तरिम आदेश दिँदै मुद्दाको अन्तिम किनारा नलागेसम्म कच्चा पदार्थ र प्रशोधित तेलको भन्सार शुल्कबीच फरक पर्ने रकम धरौटीस्वरूप लिएर मालवस्तु जाँचपास गर्न आदेश दिएको छ । कच्चा तेल र प्रशोधित तेलको भन्सार महसुल फरक–फरक हुने भन्दै अदालतले मालवस्तु समयमा नै जाँचपास नहुँदा विलम्ब शुल्क बढ्दै जाने एवं मालवस्तु नोक्सान हुन गएमा निवेदकलाई ठूलो क्षति हुन जाने देखिएको उल्लेख गर्दै धरौटीमा सामान छाड्न आदेश दिएको हो । अदालतको आदेशमा रिट निवेदनको फैसला हुँदा ठहरेबमोजिम हुने गरी तत्कालका लागि कच्चापदार्थ र प्रशोधित तेलको भन्सार शुल्कबीच फरक पर्ने रकम धरौटी स्वरूप लिएर मालवस्तु जाँचपास गर्नु भनिएको छ । सोहीअनुसार नै पामतेल लैजान सम्बन्धित उद्योगपतिलाई पनि जानकारी दिएको विराटनगर भन्सारले जनाएको छ ।

भन्सार स्रोतका अनुसार भन्सार विभागको प्रयोगशालाले गत जेठ १४ मा तयार पारेको परीक्षण प्रतिवेदनमा परीक्षण नमुनाका चरित्रहरू कच्चा सोयाबिन तेलको चरित्रसँग सन्निकट देखिएकाले प्राविधिक दृष्टिमा उक्त नमुना कच्चा तेल हुने देखिएको उल्लेख गरेको पत्र प्राप्तपश्चात् सोहीअनुुसार जाँचपास गर्न सम्बन्धित उद्योगलाई जानकारी समेत गराएको छ । यता विराटनगर भन्सार प्रमुख ज्ञानेन्द्र ढकालले अदालतको आदेशअनुसार तत्कालका लागि राजस्व चार करोड सात लाख ६२ हजार तीन सय ८ रुपैयाँ र धरौटी ९४ लाख ७७ हजार छ सय ५५ रुपैयाँ लिएर आयात गरिएको पामतेल छाड्ने तयारी गरे पनि आयतकर्ताले राजस्व र धरौटी बुझाएर सामान नछुटाएको जानकारी दिए ।

रिफाइनरी उद्योगले प्रयोग गर्ने कच्चाफदार्थ क्रुडपाम पामोलिन आयात गर्दा १० प्रतिशत भन्सार महसुल लाग्छ । त्यही क्रुडपामलाई रिफाइन गरेर तयार पारिएको रिफाइनब्लिज डियोड्राइज गरिएको तेल आयात गर्दा १५ प्रतिशत भन्सार दस्तुर लाग्छ । त्यसैअनुसार १२ लाख ९९ हजार चार सय ९० लिटर तयारी रिफाइनको १० प्रतिशत भन्सार महसुलअनुसार चार करोड सात लाख ६२ हजार तीन सय आठ रुपैयाँ र फरक परेको पाँच प्रतिशत भन्सार महसुल समेत गरी ९४ लाख ७७ हजार छ सय ५५ रुपैयाँ धरौटी कायम गरेको उनले बताए । विराटनगर भन्सारले अदालतको आदेशपछि राजस्व र धरौटी रकम बुझाएर सामान लैजान जेठ २ गते नै आयातकर्ता र अदालतलाई लिखित जानकारी गराएको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x