Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअनलाइनबाटै वैदेशिक रोजगारीसम्बन्धी मागपत्रको प्रमाणीकरण

अनलाइनबाटै वैदेशिक रोजगारीसम्बन्धी मागपत्रको प्रमाणीकरण


काठमाडौं । सरकारले वैदेशिक रोजगारसम्बन्धी मागपत्रको प्रमाणीकरण अनलाइनबाटै गर्न थालेको छ । पहिलो चरणमा युनाइटेड अरब इमिरेट्स (यूएई)को लागि नेपाली कामदारहरूको अनलाइन मागपत्र प्रमाणीकरण कार्यको शुभारम्भ गरिएको हो ।

कन्सुलर सेवा विभागमा बिहीबार आयोजित कार्यक्रममा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले सो सेवाको शुभारम्भ गरेका हुन् । पहिलो चरणमा यूएईको आबुधावीमा नेपाली राजदूतावासबाट उक्त सेवा सुरु गरिएको उनले बताए । उनका अनुसार अन्य देशमा पनि क्रमशः सेवा सञ्चालन गरिनेछ । विदेशस्थित नेपाली नियोगहरूबाट रोजगारदाता कम्पनीहरूले गर्नुपर्ने वैदेशिक रोजगारसम्बन्धी मागपत्र प्रमाणीकरणको प्रक्रियालाई सरल, सहज र प्रविधिमैत्री तुल्याउन सुशासन तथा इ–गभर्नेन्सको अवधारणा अनुरूप अत्याधुनिक सूचना प्रविधिको प्रयोग गर्दै अनलाइन प्रणालीमार्फत काम गर्न सुरु गरिएको हो ।

परराष्ट्रमन्त्री श्रेष्ठले कन्सुलर सेवा विभागले निर्माण गरेको यस अनलाइन प्रणालीलाई वैदेशिक रोजगार विभागको वैदेशिक रोजगार सूचना प्रणालीसँग पनि अन्तरआबद्ध गरिएकाले मागपत्र प्रमाणीकरण र श्रम स्वीकृतिसम्बन्धी कार्य एउटै प्रणालीबाट हुने बताए । यस व्यवस्थाबाट दूतावासहरूमा हुने भीडभाड कम हुने, बिचौलियाजन्य कार्य निरुत्साहित हुने, कम्पनीहरूको बारेका दूतावासमा डिजिटल रेकर्ड रहने र त्यसले दूतावासबाट कामदार मागपत्र प्रमाणीकरण गराई लगेका कम्पनीहरूमा कार्यरत नेपाली कामदारहरूलाई समस्या परेमा मद्धत गर्न सघाउ पुग्ने उल्लेख गरे ।

कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीलाई अरू व्यवस्थित र मर्यादित बनाउने कार्यमा मन्त्रालयले गम्भीरतापूर्वक अध्ययन गरिरहेको जानकारी दिए । साथै, परराष्ट्र मन्त्रालयसँग समन्वय गर्दै वैदेशिक रोजगारीका क्षेत्रमा सुधारका कार्यक्रमहरूलाई थप प्रभावकारी बनाउँदै लगिने योजना रहेको सुनाए । मन्त्री अर्यालले यो प्रणालीलाई चुस्त बनाएर लैजान कन्सुलर सेवा विभागलाई आग्रह गरे । कार्यक्रममा कन्सुलर सेवा विभागका महानिर्देशक प्रकाशमणि पौडेलले सेवालाई क्रमिकरूपमा अनलाइनमार्फत दिने काम जारी रहेको बताउँदै सोहीअनुरूप यो नयाँ सेवा थप गरिएको बताए । यसले स्रोत साधन, समयको बचतसँगै गुणात्मक सेवा प्राप्त गर्न सकिने उनको भनाइ थियो ।

अनलाइन प्रमाणीकरण व्यवस्थाबाट रोजगारदाता कम्पनी तथा नियोगको कार्य पारदर्शी, सहज र कागजरहित हुनुका साथै सेवाग्राहीहरूले समेत लाभ प्राप्त गर्ने र रोजगारदाताहरूले गर्दै आएको प्रक्रियासम्बन्धी गुनासोको पनि समाधान हुने अपेक्षा गरिएको छ । उक्त सेवा कार्यान्वयन भएपछि सम्बन्धित मुलुकका रोजगारदाता कम्पनीले नेपालबाट कामदार लैजान नेपाली नियोगमा अनलाइनबाट आवेदन गर्ने र त्यो आवेदन स्वीकृति भएपछि मात्रै राजस्व रकम भुक्तानी हुने जनाइएको छ ।

अनलाइनबाट नै उक्त कागजातहरू वैदेशिक रोजगार विभागमा आइपुग्ने र विभागले रुजु गरी आवश्यक श्रम स्वीकृति प्राप्त हुनेछ । यस व्यवस्थाबाट सम्बन्धित रोजगारदाता कम्पनी, श्रमिक छनोट गर्ने कम्पनी सबैले आफ्नो घर वा कार्यालयबाट मागपत्र प्रमाणीकरणका सबै प्रक्रिया अनलाइनबाटै पूरा गर्न सक्नेछन् । यस प्रणालीका कारण कागजातहरू चाहेको बेला जुनसुकै समयमा हेर्न सकिने र उक्त मागपत्रका आधारमा लगिएका श्रमिकमाथिको जोखिम कम हुने जनाइएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x