Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal


नयाँ दिल्ली, असार ३
भारतको पूर्वीलद्दाखको गलवान घाटीमा चिनियाँ सेनासँगको झडपमा कम्तीमा २० जना भारतीय सेनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । स्रोतलाई उद्धृत गर्दै प्रकाशित समाचारअनुसार झडपमा कयौँ भारतीय सेना घाइते र बेपत्ता छन् । एएनआईले सरकारी स्रोतलाई उद्धृत गर्दै जनाएअनुसार यो संख्या अझै बढ्न सक्नेछ । चिनियाँ सेनातर्फ ४३ जनाको मृत्यु भएको भारतीय मिडियाको दाबी छ । यद्यपि चीनले हताहती वा घाइतेबारे आधिकारिक पुष्टि गरेको छैन । प्रेस ट्रस्ट अफ इन्डियाले सरकारी स्रोतलाई उद्धृत गर्दै १० भारतीय सेनाको मृत्यु भएको जनाएको छ । बेलायतको द टेलिग्राफले १३ जनाको मृत्यु भएको जनाएको छ । गोलाबारीविना नै भएको झडपमा एक्कासि ठूलो संख्यामा भारतीय सेना मारिएका हुन् ।

यसैबीच भारतीय विदेश मन्त्रालयले जुन ६ मा भएको सहमति चीनले तोडेको आरोप लगाएको छ । मंगलबार बिहानै उक्त झडप भएको हो । यसअघि भारतीय सेनाले २ जवान र एक कर्णेलको मृत्यु भएको जनाएको थियो । दुई देशको सीमा रेखामा उक्त झडप भएको हो । चिनियाँ विदेश मन्त्रालयले आफ्नो सीमामा भारतीय सेना आउँदा झडप भएको प्रतिक्रिया दिएको छ । भारतीय सेनाले सीमा कटेर उक्साहट गर्दा घटना हुनपुगेको चिनियाँ सञ्चारमाध्यम ग्लोबल टाइम्सले जनाएको छ । विवाद समाधानका लागि हाल दुवै देशका सैन्य तथा सरकारी वरिष्ठ अधिकारीबीच वार्ता भइरहेको पनि जनाइएको छ । सीमा क्षेत्रमा झडपमा सन् १९७५ पछि पहिलोपटक ज्यान जाने गरी झडप भएको हो । ४५ वर्षअघि चिनियाँ एम्बुसमा परेर चार भारतीय सेनाको मृत्यु भएको थियो । द वायरका अनुसार सन् १९६७ मा सिक्किममा भएको झडपमा ८० भारतीय सेना र ४ सय चिनियाँ सेना मारिएका थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया