Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगभन्सार मूल्याङ्कनमा देखिएको समस्या समाधान गर्न आग्रह

भन्सार मूल्याङ्कनमा देखिएको समस्या समाधान गर्न आग्रह


काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले भन्सार मूल्याङ्कनमा देखिएको समस्या समाधान गर्न भन्सार विभागसँग आग्रह गरेको छ । नाडाका अध्यक्ष करण चौधरी नेतृत्वको प्रतिनिधिमण्डलले हालै भन्सार विभागका महानिर्देशक ढुण्डीप्रसाद निरौलासँग भेटगरी हाल भन्सार मूल्याङ्कनका सम्बन्धमा परिरहेको समस्या जानकारी गराउँदै समाधान गर्न आग्रह गरेको हो । भेटमा अध्यक्ष चौधरीले वर्तमान बजेटमा सवारी साधनहरूमा मूल्य अभिवृद्धि कर लाग्ने भन्ने उल्लेख नभएकोे सन्दर्भमा व्यवसायीहरूले मूल्य अभिवृद्धि कर लिने वा नलिने अन्यौलता भएको बताए । यस्तै, नाडाका वरिष्ठ उपाध्यक्ष आकाश गोल्छाले भन्सार विभागले गत जेठ २१ मा मालवस्तु छुटाई लैजाने सम्बन्धमा जारी गरेको सूचनाका बारेमा जिज्ञासा राखेका थिए । हाल सो तोकिएको समयमा भन्सार विन्दुहरूमा रहेका सवारी तथा ढुवानीहरूको जाचपास गर्न नसकिने बताउँदै उनले समय थप गर्न आग्रह गरेका थिए ।

नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले विभागका महानिर्देशक समक्ष भन्सारसँग सम्बन्धित ७ बुँदे लिखित सुझावहरू प्रस्तुत गरेका थिए । टायर, लुब्रिकेन्ट्सजस्ता अटोमोबाइल वस्तुहरूको गुणस्तरमापन गर्ने व्यवस्था गर्न र देशमा गुणस्तर युक्त सामानहरू आयात गर्न सरकारले प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो । यस्तै, उप्रेतीले नेपालमै सिकेडी मोडेलमा अटोमोबाइल वस्तुहरू पनि उत्पादन गर्न सकिने जानकारी दिए । भारतबाट अटोमोबाइल कवाडी सामानहरू समेत आयात हुँदा व्यवसायमा असर परिरहेकाले भन्सारमा कडाइ गर्न आग्रह गरे । यस्तै, एक्जिम कोडको नवीकरण अवधि एक वर्षबाट पाँच वर्ष पुर्याउन उनले माग गरे ।

नाडाका सचिव विक्रम सिंहानियाले दिल्ली नेपाल चल्ने बस सेवाबाट अटोमोबाइल वस्तुहरूको अनधिकृत आयात हुने गरेको बताए । यस्तै, एअरपोर्ट कुरियरमार्फत पनि नेपालमा अटोमोबाइल कम्पोनेन्टहरू आउने गरेकाले सरकारले सीमामा कडाइ गर्नुपर्नेेमा जोड दिए । नाडाका हेलमेट समितिका उपसभापति नारायणप्रसाद पौडेलले हेलमेटजस्तो वस्तु जनताको जीवन सुरक्षासँग सम्बन्धित भएकाले नेपालमा गुणस्तरीय हेलमेटहरू मात्र आयात गर्न सकिने व्यवस्था हुनुपर्ने बताए । विभागले त्यसको गुणस्तरमापन गर्ने यन्त्र समेत राख्नुपर्ने उनको भनाइ थियो ।

महानिर्देशक निरौलाले नेपालका अटोमोबाइल क्षेत्रका समस्याहरूका विषयमा आफू जानकार रहेको बताएका थिए । सवारी साधनमा मूल्य अभिवृद्धि कर नलाग्ने व्यवस्था भुलवश भएको उनले बताए । त्यसैगरी उनले आउँदो असार मसान्तसम्म भन्सार विन्दुहरूमा रहेका सवारी तथा ढुवानीका साधनहरूको जाँचपास गरी दिन व्यवसायीहरूलाई आग्रह गरे ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x