Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारट्राफिकद्वारा १९ वटा दुई पाङग्रे सवारी सम्बन्धित धनीलाई हस्तान्तरण

ट्राफिकद्वारा १९ वटा दुई पाङग्रे सवारी सम्बन्धित धनीलाई हस्तान्तरण


काठमाडौं । ट्राफिक प्रहरीले विभिन्न मितिमा हराएका १९ वटा दुई पाङग्रे सवारी साधन खोजी गरी आइतबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बीच सो सवारी हस्तान्तरण गरिएको हो ।

कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले १३ वटा मोटरसाइकल र छ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन् । कार्यालयमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा नागढुङ्गा, बौद्ध, एयरपोर्ट, काडाँघारी, सुकेधारा, महाराजगञ्ज, नयाँबसपार्क, नेपालटार, माकलबारी, स्वयम्भू, सोह्रखुट्टे र ठमेललगायतका स्थानबाट हराएका उक्त सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको थियो । ट्राफिक प्रहरीले चालू आर्थिक वर्षको हालसम्म तीन सय ८३ वटा सवारी साधन सम्बन्धित धनीलाई जिम्मा लगाइसकेको छ । यस्तै, अवैधरूपमा नेपाल भित्रिएका १७ वटा सवारी साधनलाई भने भन्सार कार्यालयमा बुझाइएको कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक श्रेष्ठले जानकारी दिए ।

चालू आर्थिक वर्षमा चोरीका २८ ओटा दुई पाङ्ग्रे सवारी साधनसहित चोरीमा संलग्न ३६ जना व्यक्तिहरूलाई पनि कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको जनाइएको छ । सवारी साधन चोरी तथा हराउनबाट जोगाउन आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्विल लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत सुरक्षा अपनाउन ट्राफिक प्रहरीले आग्रह गरेको छ । साथै मानिसहरूको आवत जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न पनि ट्राफिक प्रहरीले अनुरोध गरेको छ । सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x