Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारवैदेशिक रोजगारीमा ११ वर्षमा १० हजारको मृत्यु

वैदेशिक रोजगारीमा ११ वर्षमा १० हजारको मृत्यु


काठमाडौं । बाध्यात्मक रोजगारीका लागि विदेशी भूमिमा श्रम गर्न पुगेका युवाहरूले ज्यान गुमाउने क्रम रोकिएको छैन । वैदेशिक रोजगारीको क्रममा पछिल्लो ११ वर्षमा १० हजार दुई सय ३० जनाले ज्यान गुमाएका छन् । जसमा नौ हजार नौ सय ६५ जना पुरुष र दुई सय ६५ जना महिला रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७०/७१ देखि चालू आर्थिक वर्षको फागुनसम्मको अवधिमा वैदेशिक रोजगारीको क्रममा ठूलो संख्यामा युवाहरूले ज्यान गुमाएका हुन् ।

मन्त्रालयका अनुसार चालू आर्थिक वर्षको फागुसम्ममा छ सय ९४ जना, आर्थिक वर्ष २०७९/८० मा एक हजार दुई सय आठ जना, आर्थिक वर्ष २०७८/७९ मा एक हजार तीन सय ९५ जना, आर्थिक वर्ष २०७७/७८ मा एक हजार दुई सय ४२ जना, आर्थिक वर्ष २०७६/७७ मा छ सय ६१ जना र २०७५/०७६ मा सात सय ५४ जनाले ज्यान गुमाएका छन् । आर्थिक वर्ष २०७४/७५ मा आठ सय २१ जना, आर्थिक वर्ष २०७३/७४ मा सात सय ५६ जना, आर्थिक वर्ष २०७२/७३ आठ सय १६ जना, आर्थिक वर्ष २०७१/७२ मा एक हजार छ जना र आर्थिक वर्ष २०७०/७१ मा आठ सय ७७ जनाले ज्यान गुमाएका थिए ।

मन्त्रालयले वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका परिवार वा आफन्तलाई आर्थिक सहायता दिँदै आएको छ । मन्त्रालयका अनुसार ११ वर्षको अवधिमा वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका परिवार वा आफन्तलाई आर्थिक सहायतास्वरूप चार अर्ब ७० करोड रुपैयाँ प्रदान गरिएको छ । चालू आर्थिक वर्षको फागुनसम्ममा ४३ करोड ५७ लाख रुपैयाँ, आर्थिक वर्ष २०७९/८० मा ६५ करोड ५२ लाख रुपैयाँ, आर्थिक वर्ष २०७८/७९ मा ७२ करोड रुपैयाँ, आर्थिक वर्ष २०७७/७८ मा ७३ करोड ७७ लाख रुपैयाँ र आर्थिक वर्ष २०७६/७७ मा ४१ करोड ५४ लाख रुपैयाँ आर्थिक सहायता वितरण गरिएको छ । त्यस्तै आर्थिक वर्ष २०७५/०७६ मा ५० करोड दुई लाख रुपैयाँ, आर्थिक वर्ष २०७४/७५ मा ४५ करोड ६५ लाख रुपैयाँ, आर्थिक वर्ष २०७३/७४ मा २२ करोड ६३ लाख रुपैयाँ, आर्थिक वर्ष २०७२/७३ मा२२ करोड १६ लाख रुपैयाँ, आर्थिक वर्ष २०७१/७२ मा २१ करोड ७४ लाख रुपैयाँ र आर्थिक वर्ष २०७०/७१ मा १२ करोड छ लाख रुपैयाँ रहेको छ ।

मन्त्रालयका अनुसार वैदेशिक रोजगारीमा ज्यान गुमाउनुको मुख्य कारणमा हृदयघात र आत्महत्या मानिएको छ । यसका अलवा सवारी दुर्घटना, हत्या, डिप्रेसन आत्महत्यालगायतका कारणले गर्दा पनि वैदेशिक रोजगारीमा जानेले ज्यान गुमाएको छन् । पछिल्लो समय वैदेशिक रोजगारीमा जानेको संख्या उल्लेख्यरूपमा वृद्धि भएसँगै श्रम गन्तव्यमा समस्या पर्ने, बिरामी हुने, मृत्यु हुुने र अङ्गभङ्ग हुनेको संख्यासमेत वृद्धि हुँदै गइरहेको वैदेशिक रोजगार बोर्डले जनाएको छ । यद्यपि सरकारले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउने तथा मृत्यु रोक्नेलगायतका काम गर्न सकेको छैन । वैदेशिक रोजगारीका लागि गन्तव्य मुलुकको पहिचान बनाएका खाडीका छ राष्ट्रहरू कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स (यूएई), कुवेत र बहराइन तथा मलेसियामा सबैभन्दा बढी युवाहरूले ज्यान गुमाइरहेका छन् ।

सरकारी तथ्यांकअनुरूप सबैभन्दा धेरै साउदी अरबमा युवाहरूले ज्यान गुमाएको पाइन्छ । त्यसपछि समग्रमा कतार, यूएई, कुवेत, बहराइनलगायतका मुलुकमा युवाहरूले ज्यान गुमाएका छन् । वैदेशिक रोजगारीको क्रममा युवाहरूले खाडी मुलुकमात्र नभई अन्य मुलुकमा समेत ज्यान गुमाएका छन् । तर, त्यो खाडी मुलुकको तुलनामा न्यून रहेको पाइन्छ । मलेसिया पनि नेपाली युवाहरूको लागि असुरक्षित रहेका छ । हालसम्म मलेसियामा पाँच हजारभन्दा बढी युवाहरूले ज्यान गुमाइसकेका छन् । गन्तव्य मुलुकहरूले पनि नेपाली श्रमिकलाई उच्च प्राथमिकता नदिँदा मृत्यु रोक्नसक्ने श्रमिकलाई समेत उनीहरूले सहयोग नगरेको बताइएको छ । एम्नेस्टी इन्टरनेसनलले सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदनअनुरूप कतार नेपाली तथा आप्रवासी कामदारको लागि सुरक्षित नभएको तथा रोक्नसक्ने मृत्युलाई समेत नरोकेको बताएको छ । एम्नेस्टीको प्रतिवेदनले कतारमा कार्यरत दुई सय जना नेपाली कामदारको मृत्युलाई रोक्नसक्नेमा त्यसलाई नरोकेको बताएको छ । कार्डियोलोजी नामक जर्नलमा प्रकाशित सन् २०१९ मा गरिएको एक अध्ययनले कतारमा नेपाली श्रमिकको गर्मी र मृत्युबीचको सम्बन्ध रहेको कुरा पत्ता लगाएको थियो । सन् २००९–२०१७ को अवधिमा भएको पाँच सय ७१ जना नेपाली अप्रवासी श्रमिकहरूकोे मुटुको समस्याको कारणले भएका मृत्युहरूमध्ये दुई सय जना जतिको मृत्युलाई रोक्न सकिन्थ्यो भन्ने निष्कर्ष उक्त अध्ययनले निकालेको थियो ।

यसरी वार्षिकरूपमा वैदेशिक रोजगारीको नाममा सयौँ युवाहरूको ज्यान जाँदा पनि त्यसको रोकथाम गर्न सरकार असफल भएको छ । सरकार तथा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने क्रममा स्वास्थ्य परीक्षण, सीप परीक्षण, भाषालगायतका विषयमा पर्याप्त चेकजाँच नगरी श्रम स्वीकृति दिई विदेश पठाउँदा ज्यानै जाने समस्या देखिएको सरोकारावालाहरू बताउँछन् । सरकारी तथ्यांकअनुरूप हरेक वर्ष आन्तरिक श्रमबजारमा पाँच लाख युवाहरू आउने गर्छन् । जो गरीखाने युवाहरूको संख्या हो । तर, ती युवाहरूलाई सरकारले गरीखाने ठाउँ दिन नसक्दा विकल्पको रूपमा वैदेशिक रोजगारी अपनाउनुपर्ने बाध्यता छ । स्वदेशमा रोजगारीको असर नहुँदा बर्सेनि हजरौँ युवाहरू विदेश जान बाध्य छन् । रोजगारीको लागि बाध्यात्मक स्थितिबाट गुज्रिएका युवाहरूको लागि विदेशको रोजगारी सहज र सुरक्षिता रहेको पाइँदैन ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x