Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारपेट्रोल र खाना पकाउने ग्यासको आयात बढ्यो, डिजेलको घट्यो

पेट्रोल र खाना पकाउने ग्यासको आयात बढ्यो, डिजेलको घट्यो


काठमाडौं । पेट्रोलियम पदार्थहरूमध्ये पेट्रोल र खाना पकाउने ग्यासको आयात र बिक्री बढेको छ । नेपाल आयल निगमका अनुसार चालू आर्थिक वर्षको फागुनसम्म पेट्रोल चार सय ५२ मेट्रिक टन र र खाना पकाउने ग्यास तीन सय ४३ मेट्रिक टन आयात गरिएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा दुई प्रतिशत र शून्य दशमलव छ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको फागुनसम्म पेट्रोल चार सय ४३ मेट्रिक टन र खाना पकाउने ग्यास तीन सय ४१ मेट्रिक टन आयात गरिएको थियो ।

निगमका अनुसार सबैभन्दा बढी हवाई इन्धन (एटीएफ)को आयात नौ दशमलव सात प्रतिशतले वृद्धि भएको छ । चालू आर्थिक वर्षको फागुनसम्म एक सय २८ मेट्रिक टन हवाई इन्धन आयात गरिएकोमा गत आर्थिक वर्षको सोही अवधिमा एक सय १७ मेट्रिक टन आयात भएको थियो । पेट्रोलियम पदार्थमध्ये मट्टीतेलको आयात यस आर्थिक वर्षको आठ महिनामा तीन दशमलव चार प्रतिशतले वृद्धि भएको छ । फागुनसम्म सात दशमलव २५ मेट्रिक टन मट्टीतेल आयात गरिएकोमा गत आर्थिक वर्षको सोही अवधिमा सात मेट्रिक टन मट्टीतेल आयात भएको थियो ।

डिजेलको आयात एक दशमलव चार प्रतिशतले घटेको छ । यस आर्थिक वर्षको साउनदेखि फागुनसम्म आठ सय ३४ मेट्रिक टन डिजेल आयात भएकोेमा गत आर्थिक वर्षको सोही अवधिमा आठ सय ४६ मेट्रिक टन आयात भएको छ । विद्युतीय सवारीसाधनको वृद्धिसँगै डिजेल आयात प्रभावित बन्न पुगेको निगमका अधिकारीहरू बताउँछन् । नेपाल अटोमोबाइल डिलर्स एसोसियसन (नाडा)का अनुसार विद्युतीय सवारीसाधनको वृद्धिदर बढ्दै गएको खण्डमा ५० प्रतिशतसम्म बजार हिस्सा ओगट्ने बताइएको छ । हाल १० प्रतिशत बजार हिस्सा ओगटेको नाडाको भनाइ छ ।

आर्थिक वर्ष २०७९/८० मा पेट्रोल छ सय ७६ मेट्रिक टन, डिजेल एक हजार तीन सय ८३ मेट्रिक टन, मट्टीतेल १३ मेट्रिक टन, हवाई इन्धन एक सय ७३ मेट्रिक टन र खाना पकाउने ग्यास पाँच सय १५ मेट्रिक टन आयात गरिएको छ । आर्थिक वर्ष २०७८/७९ मा पेट्रोल पाँच सय ९२ मेट्रिक टन, डिजेल एक हजार सात सय २४ मेट्रिक टन, मट्टीतेल १७ मेट्रिक टन, हवाई इन्धन एक सय ५७ मेट्रिक टन र खाना पकाउने ग्यास पाँच सय ३६ मेट्रिक टन आयात गरिएको छ ।

पेट्रोल, डिजेल, हवाई इन्धन र ग्यासको बिक्री परिमाण बढ्दा मट्टीतेलको भने घटेको छ । गत आर्थिक वर्षको फागुनको तुलनामा चालू आर्थिक वर्षको फागनुसम्म पेट्रोल एक दशमलव सात प्रतिशत, डिजेल दुई दशमलव चार प्रतिशत, हवाई इन्धन सात दशमलव छ प्रतिशत र ग्यास एक दशमलव नौ प्रतिशतले बिक्री परिमाण बढेको छ । मट्टीतेल भने ३४ दशमलव दुई प्रतिशतले कमी आएको छ । चालू आर्थिक वषको फागुनसम्म पेट्रोल चार सय ४७ मेट्रिक टन, डिजेल आठ सय ३८ मेट्रिक टन, हवाई इन्धन एक सय २६ मेट्रिक टन र ग्यास तीन सय ४८ मेट्रिक टन र मट्टीतेल चार मेट्रिक टन बिक्री भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा पेट्रोल चार सय ३९ मेट्रिक टन, डिजेल आठ सय १८ मेट्रिक टन, हवाई इन्धन एक सय १८ मेट्रिक टन, ग्यास तीन सय ४१ मेट्रिक टन र मट्टीतेल सात मेट्रिक टन बिक्री भएको थियो ।

आर्थिक वर्ष २०७९/८० मा पेट्रोल छ सय ७३ मेट्रिक टन, डिजेल एक हजार तीन सय ८० मेट्रिक टन, हवाई इन्धन एक सय ७५ मेट्रिक टन र ग्यास पाँच सय १५ मेट्रिक टन र मट्टीतेल १३ मेट्रिक टन बिक्री भएको थियो । आर्थिक वर्ष २०७८/७९ मा पेट्रोल सात सय ३० मेट्रिक टन, डिजेल एक हजार सात सय २८ मेट्रिक टन, हवाई इन्धन एक सय ५४ मेट्रिक टन, ग्यास पाँच सय ३६ मेट्रिक टन र मट्टीतेल चार मेट्रिक टन बिक्री भएको थियो ।

नेपालमा रहेका ६४ वटा खाना पकाउने ग्यास उद्योगको भण्डारण क्षमता करिब नौ हजार नौ सय ३१ मेट्रिक टन छ । यसबाट करिब सात दिनको खपत धान्नसक्ने मौज्दात रहेको छ । एलपी ग्यासबाहेक पेट्रोल, डिजेल, मट्टीतेल र एटीएफको भण्डारण क्षमता ७९ हजार नौ सय ९० किलोलिटर छ । यसबाट करिब १३ दिनको खपत धान्न सक्ने मौज्दात छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x