Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारफरार सूचीमा रहेका लालीगुराँसका सीईओ भण्डारीविरुद्धको जाहेरी लिन सीआईबीले किन मानेन ?

फरार सूचीमा रहेका लालीगुराँसका सीईओ भण्डारीविरुद्धको जाहेरी लिन सीआईबीले किन मानेन ?


काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले एकै प्रकृतिको ठगी तथा अपराधको घटनामा दोहोरो नीति लिएको पाइएको छ । सहकारी ठगी प्रकरणमा यसअघि सीआईबीले नेकपा एमालेका सभासद तथा सिभिल सहकारीका पूर्वअध्यक्ष इच्छाराज तामाङविरुद्ध जाहेरी आह्वान नै गरेर पक्राउ गरी मुद्दा चलायो ।

त्यस्तै, तुलसी बहुउद्देश्यीय सहकारीका अध्यक्ष केदारनाथ शर्मा पनि सीआईबीकै अभियोग पत्रका आधारमा कारागारमा छन् । केही दिनअघि शर्मासँगै ऋण अपचलनमा संलग्न रहेको भन्दै तत्कालीन सेञ्चुरी बैंकका अध्यक्ष राजेश श्रेष्ठसहित आधा दर्जनलाई पक्राउ गरी मुद्दा चलाएको छ ।

तर, यसरी नै सर्वसाधारणको अर्बौँ रुपैयाँ ठगी आरोप लागेका अदालतको फरार सूचीमा रहेका पुल्चोकस्थित श्री लालीगुँरास बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीसहित सहकारीका पदाधिकारीविरुद्धको जाहेरी भने दर्ता समेत गर्न सीआईबीले रहस्यमयीरूपमा अस्वीकार गरेको छ ।

सिन्धुपाल्चोकका दावा शेर्पाको खाताबाट रकम चोरी गरेको अभियोगमा पक्राउ पुर्जी जारी भई फरार सूचीमा रहेका श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीसँग सीआईबीका प्रमुख एआईजी श्यामलाल ज्ञवालीको साँठगाँठका कारण पीडितहरूको जाहेरी दर्ता नभएको आरोप छ ।

पीडितहरूले भण्डारीसहित सहकारीका अध्यक्ष अमरदाश श्रेष्ठ र अन्य पदाधिकारीले आफूहरूको करोडौँ रुपैयाँ ठगी गरेको भन्दै गत वैशाख १ गते सीआईबीमा जाहेरी लिएर गएका थिए । तर, ज्ञवालीले दर्ता गर्ने वा पीडितले पाउने कानुनी हकअनुसार दरपीठ समेत नगरी पठाइदिएका थिए ।

स्रोतका अनुसार सीआईबी प्रमुख ज्ञवाली अपराधमा मुछिएका व्यक्तिसँग लेनदेन गर्न माहिर मानिन्छन् । उनले यसअघि सुन तस्करी प्रकरणमा फरार रहेका जीवन चलाउनेसँग घुस मागेको विषय चलाउनेले नै एक अनलाइन मिडिमा भिडियोमार्फत सार्वजनिक गरेका थिए । फरार सूचीमा रहेका चलाउनेले नै भिडियोमार्फत ज्ञवालीले आफूसँग एक करोड रुपैयाँ मागेको बताएका थिए ।

यसरी नै सहकारी ठगीमा फरार रहेका भण्डारीसँग पनि उच्च तहको सेटिङ मिलिसकेका कारण जाहेरी समेत दर्ता गर्न प्रहरीले अस्वीकार गरिरहेको आरोप पीडितहरूको छ । यसअघि खाताको रकम चोरी अभियोगमा भण्डारीलाई पक्राउ गर्न गृहमन्त्री रवी लामिछानेले मौखिक निर्देशन समेत दिएका थिए ।

तर, उपत्यका प्रहरी कार्यालयका एआईजी दिपक थापाले पक्राउ गरेको रिपोर्ट हालसम्म दिन सकेका छैनन् । पक्राउबारे खबर सोध्दा समेत एआईजी थापा तर्केर हिँड्ने गरेका छन् । पक्राउ पुर्जी जारी भएका भण्डारी प्रहरीकै उच्च अधिकारीसँग सेटिङमा खुलमखुल्ला हिँडिरहेका छन् ।

गत वैशाख १ गते सीआईबी पुगेका आठ जनाभन्दा बढी पीडितले चार करोड रुपैयाँभन्दा बढी रकम सहकारीले ठगी गरेको जाहेरीमा उल्लेख गरेका थिए । त्यस्तै अर्को समूहले १० करोड हाराहारीको जाहेरी लिएर सीआईबी पुगेका थिए ।

सबै पीडितले श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाले २० करोड रुपैयाँ ठगी गरेको उल्लेख गरेका थिए । तर, प्रहरीले यस्तो गम्भीर प्रकृतिको ठगीको जाहेरी दर्ता समेत नगरी फिर्ता पठाएको हो ।

सीआईबीले जाहेरी समेत दर्ता नगरेको विषयमा आर्थिक दैनिकको जिज्ञासामा सीआईबी प्रवक्ता होविन्द्र बोगटीले सुरेन्द्र भण्डारीविरुद्ध आजको दिनसम्म कुनै प्रकारको लिखित मौखिक उजुरी नआएको र कोही कसैले उजुरी नै दर्ता भएन भन्छ भने त्यस व्यक्तिलाई सिधै आफूलाई सम्पर्क गर्न लगाइदिन अनुरोध गरे ।

सीआईबी प्रवक्ता बोगटीका अनुसार श्री लालिगुराँसको विषयमा बिहीबारसम्म कुनै पनि सरकारी निकायले समेत पक्राउ गर्न वा अन्य कुनै प्रकारको अनुसन्धान गर्न भनेर निवेदन समेत नपरेकोले हल्लाकै भरमा उजुरी समेत नपरी कुनै पनि व्यक्तिलाई पक्राउ गर्न नमिल्ने समेत बताए ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x