Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबीमा बजारबीमा प्राधिकरणमा कार्यकारी नियुक्तिमा झेलैझेल

बीमा प्राधिकरणमा कार्यकारी नियुक्तिमा झेलैझेल

रातोघरमा किन बस्यो पटक–पटक बैठक ?


काठमाडौं । नेपाल बीमा प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिमा अध्यक्ष सूर्य प्रसाद सिलवालले राजनीतिक आड र अख्तियारका प्रमुख आयुक्त प्रेम राईको साथ लिएर चर्को जालझेल गरिरहेका छन् । अध्यक्ष सूर्य प्रसाद सिलवालले अख्तियार दुरुपयोग गर्दै कानुनले गर्नुपर्ने भनेर तोकिएको कार्यकारी निर्देशक नियुक्तिसम्बन्धी फाइल अघि नबढाएर नियामक नेपाल बीमा प्राधिकरणमा अस्थिरता कायम गरेका छन् ।

बीमा प्राधिकरणको कार्यकारी निर्देशक पद यही जेठ १२ गतेदेखि रिक्त छ । रिक्त पदमा पदपूर्ति गर्न पदपूर्ति समितिको बैठक सो समयअगावै बसेर जेठ १२ गतेपछि कार्यकारी निर्देशक भएर काम गर्ने कर्मचारी छनोट गरिसक्नुपर्ने थियो तर, त्यसो गरिएन । समयमा कार्यकारी नियुक्तिसम्बन्धी प्रक्रिया अघि नबढाउँदा विभिन्न तत्वहरूले चलखेल गर्ने मौका पाएका छन् । जसको परिणाम अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राईले समेत प्रत्यक्ष चासो राखेको तथ्य आर्थिक दैनिकले फेला पारेको छ ।

आर्थिक दैनिकमा जेठ २९ गते कार्यकारी नियुक्तिमा सकससम्बन्धी समाचार प्रकाशन भएको भोलिपल्ट हिजो बीमा प्राधिकरणले प्रेस विज्ञप्ति प्रकाशन गर्दै उक्त समाचारको खण्डन गर्दै असत्य र मनगढन्ते भन्ने आरोप लगाएको छ । कुनै पनि प्रश्नहरूको स्पष्ट जवाफ नदिई खण्डनको लागि मात्रै प्रकाशित खण्डनले उल्टै बीमा प्राधिकरणभित्रको जालझेललाई उजागर गरेको छ । निर्देशक तथा प्रवक्ता सुशील सुवेदीद्वारा प्रकाशित प्रेस विज्ञप्तिमा पदपूर्तिसम्बन्धी प्रक्रिया नै आरम्भ नभएको उल्लेख छ ।

सुशील सुवेदीद्वारा प्रकाशित विज्ञप्तिले बीमा प्राधिकरणका सञ्चालक र अध्यक्ष सूर्य प्रसाद सिलवालले कार्यकारी निर्देशकको पदपूर्तिसम्बन्धी प्रक्रिया रोकेर राखेको पुष्टि भएको छ । यसले नयाँ प्रश्न उब्जाएको छ, के बीमा प्राधिकरण कार्यकारी निर्देशक नै नियुक्ति नगरी चलाउन खोजिएको हो ? पाँच वर्ष योग्यता नपुगेर दाबी प्रस्तुत गर्न नपाएका सुशील सुवेदी आगामी भदौँ महिनादेखि कार्यकारी निर्देशकका लागि योग्य हुनेछन् । अध्यक्ष सिलवाल सुशील सुवेदीलाई कार्यकारी निर्देशक बनाउन अहिले कामु नियुक्ति गर्न लागिएको हो ?

प्राधिकरणले प्रकाशित गरेको विज्ञप्तिमा मनगढन्ते समाचार प्रकाशित गरिएको दाबी गरिएको छ । प्रेस विज्ञप्ति आफैँमा झुटो कसरी हो भने बीमा प्राधिकरणको सञ्चालक समितिको बैठकमा पछिल्लो केही दिनदेखि कामु नियुक्तिका फाइल पेस गर्न सबै प्रक्रिया पूरा गरेर तयारी अवस्थामा राखिएको र अर्थका प्रतिनिधि बैठकमा सहभागी नभएकोले रोकिएको कुरा किन ढाँटियो ?

कार्यकारी निर्देशक पद रिक्त भएको दुई सातापछि कामु कार्यकारी निर्देशकको रूपमा नियुक्त गर्ने प्रक्रिया अघि बढाइएको छ । कार्यकारी निर्देशक नियुक्ति गर्नुपर्नेमा किन कामु कार्यकारीको प्रस्ताव अघि बढाइयो ? यो आफैँमा जालझेल होइन र ?

बीमा प्राधिकरणको सञ्चालक समितिको बैठकमा अर्थ मन्त्रालयका प्रतिनिधि कति सातादेखि सहभागी छैनन् ? यसको विवरण सार्वजनिक गर्ने हिम्मत बीमा प्राधिकरणसँग छ ? अध्यक्ष सूर्य प्रसाद सिलवालले गैरकानुनी तरिकाले कामु नियुक्ति गर्न खोजेकै कारण अर्थका प्रतिनिधि बैठकमा नआएको कुरा किन स्वीकार गर्न सकिएन ?

कामु नियुक्तिमा अख्तियारको दबाबको विषयमा गत शुक्रबार र आइतबार बीमा प्राधिकरणका अध्यक्ष सिलवाल र अख्तियारका प्रमुख आयुक्त प्रेम राईबीच टंगालस्थित अख्तियारको कार्यालयमा भएको भेटवार्ताको विषय, छलफलको विषय के हो ? पटक–पटक नियामक निकायका अध्यक्ष भ्रष्टाचारसम्बन्धी संवैधानिक निकायमा चिया खान मात्रै गएका हुन् ? कुनै ठूलै घोटाला काण्डको बयान दिन उपस्थित भएका हुन् वा अन्य केही सेटिङ गर्न ? यसको प्रमाण आगामी दिनमा नतिजाले पुष्टि गर्नेछ ।

नजिता जसको पक्षमा होस्, रिक्त पदमा पदपूर्ति गर्न विनासर्त पदपूर्ति समितिको बैठक राखेर नियुक्ति प्रक्रिया अघि नबढाई वक्तव्यबाजी गर्नुले नेपाल बीमा प्राधिकरण गल्ती सच्याउनुको साटो अझै जालझेलमै लिप्त रहेको पुनः पुष्टि भएन र ?


क्याटेगोरी : बीमा बजार, समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x