Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारभाषा परीक्षा पास गरेका युवाले अन्तर्राष्ट्रिय उडान खुलेपछि मात्रै कोरिया जान पाउने

भाषा परीक्षा पास गरेका युवाले अन्तर्राष्ट्रिय उडान खुलेपछि मात्रै कोरिया जान पाउने


प्रवीण राउत
काठमाडौं, असार ४
सन् २०१९ मा दक्षिण कोरिया जानका लागि भाषा र सीप परीक्षा पास गरेका सात हजार जना नेपाली युवाहरु हवाइ उडान सुचारु भएपछि मात्र कोरिया जान पाउने भएका छन् । कोभिड १९ का कारण अन्तर्राष्ट्रिय उडानहरु बन्द हुँदा भाषा र सीप परीक्षा पास गरेका सात हजार जना युवाहरु कोरिया जान पाएका छैनन् । यसैबीच वैदेशिक रोजगार विभागले चार्टर्ड विमानमार्फत युवाहरुलाई कोरिया नैलजाने कोरिया पक्षले स्पष्ट पारेको जानकारी दिएको छ ।

यसअघि सामान्य अवस्थामा कोरिया लैजाने विषयमा कोरिया सरकार र नेपाली पक्षबीच व्यापारिक उडानबाट लैजाने सहमति हुँदै आएकोमा सोहीअनुरुप अघि बढ्ने कोरियाली पक्षको भनाइ रहेको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले आर्थिक दैनिकलाई बताए । ‘सामान्य अवस्थामा युवाहरुलाई कोरिया लैजानको लागि प्रयोग गरिने विमानको छनौट बोलपत्र आह्वान गरी गर्ने गरेकोमा हाल पनि सोही तयारीमा कोरियाली पक्ष रहेका छन्’, उनले भने, ‘त्यसैले गर्दा हामीले अन्तर्राष्ट्रिय उडान कहिलेबाट सुचारु हुन्छ भन्ने पर्खाइमा बस्नुपर्ने हुन्छ ।’

उनले सरकारले असार १६ गतेसम्म अन्तर्राष्ट्रिय उडान बन्द गरेको छ । त्यसैले असार १६ गतेपछिको स्थिति के हुन्छ, त्यसले कोरिया जान पाउने÷नपाउने विषयको टुंगो लाग्ने बताए । ‘यदि हवाइ उडान सुचारु भएको खण्डमा भने दैनिक ५०÷६० जना युवाहरु कोरिया जान पाउनेछन्’, महानिर्देशक दाहालले भने, ‘दुई पक्षको अपौचारिक छलफलमा कोरियाली पक्षले कामदारको अत्यन्त आवश्यकता रहेको बताउँदै उडान सुचारु भएसँगै लैजाने प्रतिक्रिया दिएका छन् ।’

जेठ १६ गते बसेको मन्त्रिपरिषद् बैठकले असार १६ गतेसम्म राष्ट्रिय/अन्तर्राष्ट्रिय उडान बन्द तथा सीमानाका बन्द गर्ने निर्णय गरेको थियो । सोही निर्णयमा ईपीएसअन्तर्गतका कामदारलाई दुई मुलुकको सल्लाह र सहमतिमा युवाहरुलाई कोरिया जान दिने भनिएको थियो ।

गैरआवासीय संघ (एनआरएनए)ले चार्टर्ड विमानमार्फत युवाहरुलाई कोरिया लैजाने भने पनि त्यस विषयमा पछिल्लो समय कुनै धारणा व्यक्त गरेको पाइँदैन । विशेष गरी एनआरएन कोरियाले विदामा आएका र भिसा लागेर पनि जान नपाएकाहरुलाई लैजाने बताउँदै आएको थियो । सन् २०२० मा कोरियाले नेपालको लागि सात हजार पाँच सय कामदारको कोेटा पठाएको छ भने उनीहरुलाई डिसेम्बरसम्ममा कोरिया पठाउनुपर्ने हुन्छ । तर उडान बन्द हुँदा अन्योल सिर्जना हुनपुगेको हो ।

त्यसैगरी लकडाउनअघि विदामा नेपाल आएका झण्डै एक सय ५० जना युवाहरु समेत अप्ठ्यारोमा परेको ईपीएस शाखाले जनाएको छ । शाखाका अनुसार सन् २०२१/०२२ का लागि जुन/जुलाईमा हुनुपर्ने परीक्षा समेत हाल हुन नसकेको बताएको छ । ‘हाल परीक्षा गर्नसक्ने अवस्था छैन’, शाखाका एक अधिकारीले भने, ‘सहज भएको खण्डमा नोभेम्बर÷डिसेम्बरतिर हुन्छ ।’

महानिर्देशक दाहालले हालको समयमा कोरिया जाने युवाहरु काठमाडौं बाहिर हुँदा कोरिया रोजगारी खुल्ला भए पनि उनीहरु काठमाडौं आउनै समस्या हुने बताए । ‘यदि युवाहरुलाई अहिलेको अवस्थामा कोरिया लैजान्छु भने पनि असहज अवस्था रहेको छ’, उनले भने, ‘भाषा र सीप परीक्षा पास गरेर बसेका युवाहरु झापा, कञ्चनपुरलगायतका स्थानमा रहेका छन्, उनीहरु काठमाडौं आउन नै समस्या हुनेछ ।’

यसअघि भने काम गर्नका लागि भन्दै मध्यफागुन अर्थात् मार्च १/२ मा युवाहरु कोरिया गएका थिए । ‘सो समयमा करिब ५० जना युवाहरु कोरिया जान पाए’, महानिर्देशक दाहालले भने, ‘लकडाउन सुरु भएसँगै प्रक्रिया पूरा गरेर बसेको करिब त्यति नै संख्याका युवाहरु भने कोरिया जानबाट वञ्चित हुनुप-यो ।’ यस्तै सन् २०१७ र २०१८ मा भाषा परीक्षा पास गरेका युवाहरु कोरिया जान पाएका छैनन् । उनीहरुले कोरिया जानको लागि आफूहरुलाई पहिलो प्राथिमकता दिनुपर्ने बताउँदै आएका छन् ।   (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया