Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनुवाकोटको रातमाटेमा चार सय केभी सबस्टेसन निर्माणको ठेक्का सम्झौता

नुवाकोटको रातमाटेमा चार सय केभी सबस्टेसन निर्माणको ठेक्का सम्झौता


काठमाडौँ । मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए–नेपाल)ले नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका–७ रातमाटेमा चार सय केभी सबस्टेसन निर्माण गर्न ठेक्का सम्झौता गरेको छ ।

एमसीए नेपालले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्ट कार्यान्वयनका क्रममा सो सबस्टेसन निर्माण गर्न भारतको टेक्नो इलेक्ट्रिक एन्ड इञ्जिनियरिङ कम्पनी लिमिटेडसँग ठेक्का सम्झौता गरेको हो । उक्त चार सय केभी ग्यास इन्सुलेटेड स्विचगियर (जीआईएस) सबस्टेसनको निर्माण ३९ महिनाभित्र निर्माण गरिने जनाइएको छ । निर्माण सम्पन्न भएपछि एक हजार मेगाभोल्ट एम्पियर क्षमताको हुने रातमाटे सबस्टेसन नेपालकै ठूला सबस्टेसनहरूमध्ये एउटा हुनेछ । पाँच करोड १६ लाख अमेरिकी डलरमा निर्माण गरिने नयाँ रातमाटे सबस्टेसनले लप्सीफेदी र नयाँ हेटौंडा सबस्टेसनहरूबीच विद्युत् प्रसारणको लागि महत्वपूर्ण सेतुका रूपमा काम गर्नेछ ।

एमसीए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विस्ट र टेक्नो इलेक्ट्रिक एन्ड इञ्जिनियरिङ कम्पनी लिमिटेडका व्यापार निर्देशक राजीव अग्रवालले एमसीसी र एमसीए–नेपालका पदाधिकारीहरूको उपस्थितिमा हालै सम्झौतामा हस्ताक्षर गरेर आदानप्रदान गरेका थिए । एमसीसी नेपाल कम्प्याक्टअन्तर्गत निर्माण गर्न लागिएका तीनवटा सबस्टेसनमध्ये एमसीए–नेपालले हस्ताक्षर गरेको यो दोस्रो सबस्टेसन निर्माण सम्झौता हो । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले नेपालको प्रसारण प्रणाली विकास योजना (टीएसडीपीएन) मा नेपालको राष्ट्रिय विद्युत् प्रसारण प्रणालीको महत्वपूर्ण अङ्गका रूपमा परिकल्पना गरिएको रातमाटे सबस्टेसन नेपालको ऊर्जा क्षेत्रमा एमसीसी नेपाल कम्प्याक्टको अर्काे महत्वपूर्ण उपलब्धि हुने बताए ।

यस्तै, मिलेनियम च्यालेञ्ज कर्पोरेसनका आवासीय राष्ट्रिय निर्देशक डायन एल फ्रान्सिस्कोले तीनवटा सबस्टेसनमध्ये दोस्रो रातमाटे सबस्टेसन निर्माण सम्झौतामा हस्ताक्षरबाट एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयनले गति लिएको उल्लेख गरे । यसलाई एउटा कम्प्याक्ट कार्यान्वयनका सन्दर्भमा ठूलो फड्कोका रूपमा लिन सकिने उनको भनाइ थियो । आगामी केही वर्षमा एमसीसी नेपाल कम्प्याक्टको प्रगतिले नेपालको बढ्दो ऊर्जा क्षेत्रमा महत्वपूर्ण योगदान पुग्ने उनले बताए । एमसीए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले अमेरिकी सरकारको एमसीसी र नेपाल सरकारको आर्थिक सहयोगमा सञ्चालित विद्युत् प्रसारण परियोजनाअन्तर्गत एमसीए–नेपालले सबस्टेसन र प्रसारण लाइन निर्माणसम्बन्धी सम्पूर्ण कामलाई तीव्रता दिइरहेको जानकारी दिए । दमौलीमा निर्माण गरिने तेस्रो सबस्टेसनको निर्माण सम्झौता पनि चाँडै नै हुन लागेको उनले बताए । यस्तै, उनका अनुसार १८ किमि लामो सीमापार प्रसारण लाइन निर्माणका लागि परेको बोलपत्रको मूल्याङ्कन भइरहेको छ । प्रसारण लाइनको बाँकी अंश निर्माणका लागि पनि बोलपत्र आह्वान गर्न खरिद प्रक्रियाको अन्तिम चरणमा रहेको उनले बताए ।

चार सय केभी रातमाटे सबस्टेसनमा जलविद्युत् आयोजना र सबस्टेसनहरूबाट प्राप्त हुने तीन हजार दुई सय मेगावाटभन्दा बढी बिजुली प्रसारण गर्ने क्षमता पनि हुनेछ । नेपालमा औद्योगिक र व्यावसायिक क्रियाकलापमा वृद्धि ल्याउन यस सबस्टेसनमा विभिन्न भोल्टेजस्तरमा उपलब्ध हुने भरपर्दो बिजुली वितरण गरिनेछ । एमसीसी नेपाल कम्प्याक्टले विद्युत् प्रसारण आयोजनाअन्तर्गत तीनवटा सबस्टेसनका अतिरिक्त काठमाडौंको लप्सीफेदीदेखि नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) स्थित नेपाल–भारत सीमासम्म तीन सय १५ किमि प्रसारण लाइन निर्माण गर्न आर्थिक सहयोग गर्र्दैछ । १८ किमि सीमापार प्रसारण लाइन निर्माणका लागि प्राप्त बोलपत्रहरूको मूल्याङ्कन भइरहेको र यसको निर्माण सम्झौता यही साउनमा गर्ने लक्ष्य लिएको एमसीए–नेपालले जनाएको छ । त्यस्तै, बाँकी दुई सय ९७ किमि प्रसारण लाइन निर्माणका लागि यथाशीघ्र यसै वर्ष पुनः बोलपत्र आह्वान गर्ने तयारी भइरहेको जनाइएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x