Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारराष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपति स्टीनमेयरबीच भेटवार्ता हुँदै

राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपति स्टीनमेयरबीच भेटवार्ता हुँदै


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र जर्मनीका राष्ट्रपति डा. फ्रैंक–वाल्टर स्टीनमेयरबीच सोमबार औपचारिक भेटवार्ता हुँदैछ । राष्ट्रपति पौडेल आफ्ना जर्मनी समकक्षी स्टीनमेयरको औपचारिक निमन्त्रणामा शनिबार राति बर्लिन पुगेका हुन् ।

जर्मन सरकारका तर्फबाट राष्ट्रपति पौडललाई बर्लिनमा मंगलबार गार्ड अफ अनर प्रदान गरिने उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । जर्मनीको औपचारिक भ्रमणमा रहेका राष्ट्रपति पौडेल र त्यहाँका राष्ट्रपति स्टीनमेयरबीच आजै साँझ प्रतिनिधिमण्डलस्तरीय औपचारिक भेटवार्ता हुनेछ ।

सन् १९८६ यता राष्ट्रप्रमुखको तहमा नेपालबाट जर्मनीमा भएको यो पहिलो औपचारिक भ्रमण हो । नेपाल र जर्मनीबीच सन् १९५८ अप्रिल ४ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । त्यसयता दुई देशबीचको सम्बन्ध मित्रता, आपसी समझदारी र सहयोगका आधारमा बढ्दै गएको छ । दुवै देशले एकअर्काको राजधानीमा आवासीय दूतावास स्थापना गरेका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार जर्मनीले काठमाडौँमा सन् १९६३ मा र नेपालले ५ जुलाई १९६५ मा बर्लिनमा आफ्नो दूतावास स्थापना गरेको थियो । सन् २०१८ मा दुई देशबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ६०औँ वार्षिकोत्सव मनाउन जर्मनी र नेपालमा विभिन्न कार्यक्रम आयोजना गरिएको थियो ।

मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले विभिन्न तहमा भएका भ्रमण आदानप्रदानले दुई देशबिचको घनिष्ठ र सौहार्दपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउन योगदान पुर्याएको बताए ।

सन् १९८६ अक्टोबरमा तत्कालीन राजा वीरेन्द्र र रानी ऐश्वर्याले जर्मनीको भ्रमण गरेका थिए । त्यस्तै सन् १९९५ फेब्रअरीमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले र सन् २००० सेप्टेम्बरमा तथा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले सन् १९९५ अप्रिलमा जर्मनीको भ्रमण गरेका थिए ।

यसैगरी, सन् १९९५ फेब्रुअरीमा तत्कालीन उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री माधवकुमार नेपालले र तत्कालीन परराष्ट्रमन्त्री उपेन्द्र यादवले सन् २००९ मार्चमा जर्मनीको भ्रमण गरेका थिए । यसैगरी नेपाल लगानी वर्ष २०१२ को सन्दर्भमा तत्कालीन वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सन् २०१२ फेब्रुअरी २८ मा जर्मनीको भ्रमण गरेका थिए ।

त्यस्तै सन १९६७मा जर्मनीका तत्कालीन राष्ट्रपति हाइनरिक ल्युब्केले र राष्ट्रपति प्रा रोमन हर्जोगले सन् १९९६ मा नेपाल भ्रमण गरेका थिए । अप्रिल २०१७ मा जर्मन संसद्की उपाध्यक्ष क्लाउडिया रोथले नेपाल भ्रमण गरेकी थिइन् । टोबियास फ्लुगरको नेतृत्वमा जर्मनीको संसदीय प्रतिनिधिमण्डलले सन् २०१९ मार्च १ देखि ५ सम्म नेपालको औपचारिक भ्रमण गरेको थियो । जर्मनीकी प्रथम महिला एल्के बुडेनबेन्डरले फेब्रुअरी २०२० को पहिलो साता युनिसेफको संरक्षकको हैसियतमा नेपाल भ्रमण गरेका थिए ।

अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औँ अधिवेशनमा भाग लिन गत जेठ ३० स्वीट्जरल्याण्डको जेनेभा पुगेका राष्ट्रपति पौडेलले यही असार १ गतेदेखि जर्मनीको औपचारिक भ्रमणमा छन् । उनी असार १ गते जेनेभाबाट जर्मनीको बर्लिन प्रस्थान गरेका थिए । राष्ट्रपति पौडेलका साथ उनकी धर्मपत्नी सविता पौडेल छिन । राष्ट्रपति पौडेल भ्रमण सम्पन्न गरी असार ५ गते स्वदेश फर्किने कार्यक्रम छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x