Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारगुणस्तरीय शिक्षामा जोड दिन आवश्यक छ: प्रधानमन्त्री दाहाल

गुणस्तरीय शिक्षामा जोड दिन आवश्यक छ: प्रधानमन्त्री दाहाल


चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषि तथा वन विज्ञान विश्वविद्यालयको चौथो दीक्षान्त समारोहलाई सोमबार सम्बोधन गर्दै देशभित्र भविष्य देख्ने वातावरण सिर्जना गर्न शिक्षा र व्यवस्थापनको गुणस्तर अभिवृद्धि गर्नुपर्नेमा जोड दिएका छन् । उनले शैक्षिक गुणस्तर वृद्धि गरेर युवा पुस्तालाई स्वदेशमै अवसर छ भन्ने सन्देश प्रवाह गर्नुपर्ने बताए ।

“देशभित्रै भविष्य देख्ने सकारात्मक सोचका साथ मातृभूमिको माया सम्झेर आर्जित ज्ञान र सीप दिगो विकासका लागि सदुपयोग गर्नुहोस्,” प्रधानमन्त्री दाहालले भने, “देशभित्र भविष्य देख्ने वातावरणका निम्ति शिक्षा र व्यवस्थापनको गुणस्तर अभिवृद्धिमा विशेष जोड दिनुपर्छ ।”

उनले कृषि विज्ञानमा भेटरेनरी विषयमा विद्यार्थी सङख्या शतप्रतिशत बढाउने पहल भइरहेको जानकारी पाउँदा खुसी लागेको बताए । प्राविधिक विश्वविद्यालयहरूले अनुसन्धानमार्फत् नवीनतम प्रविधिको विकास गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्ने कार्यमा सम्पूर्ण क्षमता र साधनस्रोत खर्चिनुपर्नेमा जोड दिए । उनले विश्वविद्यालयका वैज्ञानिकहरूले भैंँसीको बेमौसमी प्रजननको प्रविधि, गर्मी सहन गर्न सक्ने गहुँको जातको विकासलगायतका प्रविधि विकास गरेकोप्रति खुसी व्यक्त गरे ।

उनले आगामी दिनमा विश्वविद्यालयका निम्ति आवश्यक जनशक्तिको व्यवस्थापनमा सरकारको तर्फबाट सहयोग रहने प्रतिबद्धता जनाए । विश्वविद्यालयले आवश्यकताअनुसार क्याम्पस तथा कृषि विज्ञान केन्द्र विस्तार र सवलीकरणका लागि योजना निर्माण गरी कार्यान्वयन गर्ने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री दाहालले व्यक्तिगत स्वार्थ र निजी भविष्यका लागि मात्र नभइ देशको भविष्यमा ध्यान दिन अपिल गरे । दाहालले बदलिएको राजनीतिक व्यवस्थाअनुरूप जनताको अवस्था बदल्नुपर्नेमा जोड दिँदै कर्ममा समर्पित हुन आग्रह गरे ।

प्रधानमन्त्रीले यस वर्षको नीति तथा कार्यक्रम र बजेटमा कृषि, सूचना–प्रविधिको क्षेत्रलाई सर्वाधिक महत्व दिएको स्पष्ट पारे । नेपालजस्तो देशका निम्ति अर्थतन्त्रको प्रमुख आधार कृषि क्षेत्र र नेतृत्वदायी क्षेत्र सूचना–प्रविधि हुनुपर्नेमा जोड दिँदै प्रधामन्त्रीले यसवर्ष उत्पादकत्व वृद्धि र रोजगार प्रवर्द्धन गर्ने कार्यक्रमको साथमा सूचना–प्रविधिमा नवप्रवर्तन कार्यक्रमका निम्ति पर्याप्त बजेट विनियोजन गरिएको जानकारी दिए ।

सूचना प्रविधिको युग हुनुका कारण विश्वका अवसर र चुनौतीबारे जान्ने, बुझ्ने र सोहीअनुरूप आफ्नो भविष्यको योजना निर्माण हुनु स्वाभाविक भएको बताए । समारोहमा प्रमुख अतिथिको रुपमा आएका सिक्किम स्किल युनिभर्सीटिका उपकुलपति प्रा. डा. अजयकुमार मिश्रले कृषि विश्वविद्यालयले शैक्षिक गुणस्तरमा पुर्याएको योगदानको चर्चा गरे । आफ्नो विश्वविद्यालय र यस विश्वविद्यालयको बिचमा सहकार्य गरेर जान सकिने उनको भनाइ थियो ।

कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्रा. डा. पुण्यराज रेग्मीले कृषि तथा वन विज्ञान विश्वविद्यालयले वार्षिकोत्सवको अवसर पारेर गरिएको दीक्षान्त समारोह अबदेखि नियमित हुने बताए । उनी उपकुलपति नियुक्त भएपछि यो तेस्रो दीक्षान्त समारोह गरिएको हो । दीक्षान्त समारोहमा स्नातक, स्नातकोत्तर र विद्यावारीधि गरी एक हजार ५९ विद्यार्थी दीक्षित भएका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x