Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबजेटबारे सांसदहरूको असन्तुष्टि

बजेटबारे सांसदहरूको असन्तुष्टि

संसद्मा विधेयक च्यात्ने, फिर्ता गर्ने र मौनधारण गरी विरोध


काठमाडौं । सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमाथि सांसदहरूले असन्तुष्टि जनाएका छन् । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा सांसदहरूले वार्षिक विकास कार्यक्रम च्यात्ने, फिर्ता गर्ने र मौनधारण गर्ने शैलीमा असन्तुष्टि जनाएका हुन् ।

बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत गृह, परराष्ट्र, भौतिक पूर्वाधार तथा यातायात, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयका विनियोजित शीर्षकमाथि छलफल भएको थियो ।

छलफलका क्रममा आफ्नो असन्तुष्टि जनाउँदै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं सांसद राजेन्द्रप्रसाद लिङ्देनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको वार्षिक विकास कार्यक्रम पुस्तिका च्याते । यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले रोस्टममै मौनधारण गरे । सांसद तेजुलाल चौधरीले आफ्नो निर्वाचन क्षेत्रमा एउटा पनि योजना नपरेको सरकारलाई रातो किताब फिर्ता गरे भने सांसद ज्ञानबहादुर शाहीले कर्णाली प्रदेशलाई उपेक्षा गरिएको भन्दै वार्षिक विकास कार्यक्रम पुस्तिका फिर्ता गरे । उनीहरूले शक्ति र पहुँचका आधारमा टुक्रे आयोजना राखिएको, स्रोत आकलनविनै जथाभावी बजेट बाँडिएको भन्दै असन्तुष्टि जनाए । बजेटबारे सत्तापक्षकै सांसदहरूले पनि असन्तुष्टि पोखेका छन् ।

राप्रपा अध्यक्ष लिङ्देनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट विनियोजन वस्तुनिष्ठ हुन नसकेको र मन्त्रीको निर्देशनमा जथाभावी बजेट हालिएको आरोप लगाए । उनले बजेट निर्माणमा सरकारका मन्त्रीले मनोमानी गरेको र बजेट अनुशासन मिचेको उनको आरोप थियो ।

सांसद दिलेन्द्रप्रसाद बडूले भौतिक पूर्वाधारतर्फ नेपाली सेनाले निर्माण गरिरहेको दार्चुलाको सडक निर्माणमा बजेट विनियोजन नभएको गुनासो गरे । उनले राष्ट्रिय महत्वको क्षेत्रमा पक्ष–विपक्षमा नभई दार्चुलाको दुर्गम क्षेत्रको सडक पहुँचका लागि बजेट समेट्न माग गगरे । सांसद बडूले दार्चुलाको विकट कालापानी क्षेत्र जोड्ने सडक निर्माणका लागि सदनमा पटक–पटक कुरा उठाए पनि सुनुवाइ नभएको भन्दै रोस्टममै एक मिनेट मौनधारण गरे ।

सत्ता पक्षकै सांसद शिशिर खनालले बजेट स्रोतको न्यायोचित वितरणको नीतिविपरीत आएको बताए । उनले यस आर्थिक वर्षको बजेटमा नुवाकोट, सल्यान, डडेलधुरा र गोरखामा बढी केन्द्रित भएको र आगामी आर्थिक वर्षको बजेट रोल्पा, धनुषा, गोरखा र झापामा केन्द्रित भएको बताए । कुनै व्यक्तिविशेष, सांसद वा मन्त्रीको निर्वाचन क्षेत्रमा राज्यको स्रोत परिचालन गर्नु भनेको नवसामन्तवादको नयाँ स्वरूप भएको बताए ।

एमाले सांसद गोकुलप्रसाद बाँस्कोटाले बजेट कनिका छरेसरह छरपस्ट र अव्यवस्थित रहेको टिप्पणी गरे । बजेट पहुँच र शक्तिका आधारमा विनियोजन भएको बताउँदै बजेट सच्याउन माग गरे । नेकपा माओवादीका सांसद सुदन किराँतीले बजेट संघीयताको भावनाविपरीत र असन्तुलित रहेको भन्दै आलोचना गरे । उनले निर्वाचन क्षेत्रमा योजना नचिनिने, आयोजना अधुरा र अपूरा छोडेर नयाँ–नयाँ योजनामा बजेट विनियोजन गर्ने प्रवृत्तिले विकास र समृद्धिको सपना पूरा हुन नसक्ने बताए ।

एमाले सांसद सूर्यबहादुर थापा क्षेत्रीले बजेट सन्तुलित नरहेको बताए । बजेटमा सन्तुलन छैन, आवश्यकतामा आधारित छैन । यो पक्षपात पूर्ण छ र मन्त्रीमुखी भएको टिप्पणी गरे ।

कांग्रेस सांसद डा. चन्द्रकान्त भण्डारीले पछिल्लो साढे तीन दशकमा संसद्मा उठ्ने विषय र नागरिकका माग उस्तै देखिएको र बहुदल आएदेखि हालसम्मको अवस्था पनि उस्तै रहेको बताए । उनले सबैले अधिकारका कुरा गर्दा आफ्नो दायित्व भने बिर्सिने गरेको उनको भनाइ छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x