Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारआगामी आर्थिक वर्षभित्रै भरतपुर विमानस्थलको विस्तार

आगामी आर्थिक वर्षभित्रै भरतपुर विमानस्थलको विस्तार


चितवन । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री हितबहादुर तामाङले आगामी आर्थिक वर्षभित्रै भरतपुर विमानस्थलको विस्तार भइसक्ने बताएका छन् । बिहीबार विमानस्थलमा श्री एयरको जहाज परीक्षण उडानको अवतरणपछि आयोजित कार्यक्रममा उनले यसै वर्ष धावनमार्गको विस्तार, नयाँ टर्मिनल भवनको निर्माण सकेर भरतपुर विमानस्थललाई चौबीसै घण्टा चलाउने बताए ।

‘मेयरको अनवतर प्रयास, प्रधानमन्त्रीको पहल र सहयोग, विभागीय प्रमुखको दिलचस्वीले छिट्टै सबै काम हुँदैछ । यति चाँडै यो हदसम्मको प्रगति हुन्छ भन्ने चितवनवासीले सोचेका थिएनन् होला,’ मन्त्री तामाङले भने, ‘सकभर कुनै बाधा, अवरोध पैदा हुन नदिने, निर्माण व्यवसायीलाई छिटोभन्दा छिटो काम गर्ने वातावरण बनाइदिने काम हामी गर्छौँ ।’ नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले रन वे बढाएर भरतपुर विमानस्थलको स्तरोन्नतिको काम सुरु हुन लागेको बताए । नयाँ टर्मिनल भवन बनिरहेको अवस्थामा ठूलो क्षमताको जहाज आउन लागेको उनले बताए । असार मसान्तसम्म प्राधिकरणको बजेट पास हुने साउनमा विमानस्थलको विस्तारका लागि टेन्डर आह्वान हुने उनले जानकारी दिए ।

‘ढिलोमा सन् २०२५ को जनवरीसम्ममा विस्तार भइसक्छ,’ उनले भने, ‘त्यसपछि भरतपुरमा रात्रिकालीन सेवा सुरु हुन्छ । चौबीसै घण्टा जहाज अवतरण गर्न सकिन्छ । अहिले परीक्षण भइरहेको ८० सिटको जहाज मात्रै होइन जेट पनि अवतरण हुन सक्छ ।’ विमानस्थलको स्तरोन्नतिपछि बुद्ध, यतिलगायतका एयरलाइन्सका एटीआर–७२ जहाजहरू पनि अवतरण हुन सक्ने उनले बताए । हाल एक हजार दुई सय मिटर लामो धावनमार्ग रहेको भरतपुर विमानस्थललाई नजिकै रहेको नेपाली सेनाको घोडा प्रजनन् केन्द्रसम्म विस्तार गरेर धावनमार्ग एक हजार आठ सय मिटर बनाउने लक्ष्य छ ।

यसका लागि गत माघ १८ गतेको मन्त्रिपरिषद्को बैठकले निर्णय गरिसकेको छ । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले निरन्तरको प्रयासपछि विमानस्थलको विस्तार, टर्मिनल भवनको निर्माण र ठूलो क्षमताको जहाज अवतरण एकै साथ हुन लागेको बताइन् । उनले विमानस्थल विस्तार भएसँगै धेरै जहाज अवतरण हुने र प्रतिस्पर्धा बढेर भाडा कम लाग्ने बताइन् । ‘देशको केन्द्रमा रहेको र आर्थिक विकासको केन्द्रमा समेत रहेको ठाउँमा विमानस्थलको क्षमता विस्तार हुने आवश्यक छ । यहाँ अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, सिटी हल बनिरहेका छन् । मेडिकल हब, कृषिको उर्भर क्षेत्र भएकाले विमानस्थललाई स्तरोन्नति गर्नैपर्ने थियो,’ उनले भनिन् ।

प्रमुख दाहालले संघीय सरकारबाट नयाँ आधुनिक टर्मिनल भवन निर्माण गर्न करिब दुई अर्ब, घोडा प्रजनन् केन्द्रलाई शक्तिखोरमा सार्न डेढ अर्ब र धावन मार्ग विस्तारका लागि करिब एक अर्ब रुपैयाँ विनियोजन भएको जानकारी दिइन् । भरतपुर विमानस्थलका प्रबन्धक दिपक विकका अनुसार यो विमानस्थलको विस्तारका लागि सबैभन्दा पहिले २०७५ सालको माघ २० गते औपचारिक बैठक बसेको थियो ।

तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारी, प्रमुख दाहाललगायतको उपस्थितिमा विमानस्थलको कार्यालयमा बसेको बैठकले विस्तारका लागि प्रयास गर्ने निर्णय गरेको थियो । यसअघि महानगरपालिकाको कार्यपालिकाको बैठकले विमानस्थल विस्तार र स्तरोन्नतिका लागि पहल गर्ने निर्णय गरेको थियो ।

२०७६ भदौ २८ गते प्रमुख दाहालको अध्यक्षतामा भरतपुर महानगरपालिकाको कार्यालयमा बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल (त्यतिखेर पूर्वप्रधानमन्त्री), तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराई, बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललगायत उपस्थित थिए । उक्त बैठकले विमानस्थलको स्तरोन्नतिका लागि नजिकै रहेको नेपाली सेनाको गणलाई स्थानान्तरण गर्न वैकल्पिक स्थानको खोजी गर्ने निर्णय गरेको थियो । यस विषयमा प्रतिवेदन तयार पार्न पर्यटन मन्त्रालयले सह–सचिव बुद्धिसागर लामिछानेको संयोजकत्वमा समिति बनाएको थियो । लामो प्रयासपछि २०८० माघ १८ गतेको मन्त्रिपरिषद्को बैठकले विमानस्थलको विस्तार गर्ने निर्णय गरेको हो । सरकारले आगामी आर्थिक वर्षको बजेटमा पनि समावेश गरेपछि भरतपुर विमानस्थलको विस्तार हुने निश्चित भएको प्रमुख दाहालले बताइन् ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x