Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारब्लु इनर्जी हाइड्रोपावरमा लगानी भएको कालोधनको एकैसाथ दुईतिरबाट अनुसन्धान

ब्लु इनर्जी हाइड्रोपावरमा लगानी भएको कालोधनको एकैसाथ दुईतिरबाट अनुसन्धान


ब्लु इनर्जी हाइड्रोपावरमा लगानी भएको कालोधनको एकैसाथ दुई सरकारी निकाय नेपाल राष्ट्र बैंक र राजस्व अनुसन्धान विभागले अनुसन्धान गरेका छन् । दुई सरकारी निकायबाट एकैसाथ कालोधनको लगानी विषयमा अनुसन्धान सुरु भएपछि यसको सबै प्रक्रियाहरू समेत रोकिएका छन् ।ह्यात होटलमा रहेको तारागाउँ विकास समितिको सेयर हत्याएकै शैलीमा हाइड्रोपावरमा अपनाएका ब्लु इनर्जी हाइड्रोपावरका मालिक अरुण सर्राफलाई अहिले स्वीकृत भइसकेको ऋण लगानी बैंकले नगर्ने भएपछि ठूलो तनाव भएको छ ।फर्जी विदेशी कामदारहरूलाई तलब खुवाएर लगानीकर्ताको तर्फबाट गरेको लगानी देखाउने उनको योजना अहिले फेल खाएको छ । केही दिनअघि मात्र राष्ट्र बैंकको निर्देशनपछि नेपाल इन्भेष्टमेन्ट मेघा बैंकले हाइड्रोपावरका सञ्चालकहरूलाई बोलाएर जवाफ मागेको छ ।

उता उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उद्योग विभाग र कम्पनी रजिस्ट्रारको कार्यालयलाई नियमानुसार नियमित गर्न निर्देशन दिइसकेको छ । विदेशी नागरिकले सबै कानुनी प्रक्रिया पु¥याई (उद्योग विभागको पूर्वस्वीकृति लिई) वैधानिक च्यानलबाट आएको लगानीको मात्रै अभिलेखीकरण हुनुपर्नेमा दूषित मनसाय राखी आर्थिक प्रलोभनमा परी कानुन र नियमको अनदेखा गरी अभिलेखलाई प्रमाणित गरेकोले मन्त्रालयले निर्देशन दिई कानुनबमोजिम गर्न भनेको छ ।त्यस्तै राजस्व अनुसन्धान विभागले विदेशी विनिमय नियमित गर्ने ऐन २०१९ अनुसार काम नगरेको देखिएकाले अनुसन्धान सुरु गरेको बताइएको छ ।ब्लु इनर्जी हाइड्रोपावरका मालिक अरुण सर्राफ तिनै व्यक्ति हुन् जसका बाबुले हङकङमा फर्जी कम्पनी आफू र श्रीमतीको नाममा खोलेर उक्त कम्पनीबाट विदेशी लगानीका नाउँमा ४० करोड ल्याएर नेपाल सरकारको मातहतको सेयर लिएका थिए ।

विदेशी नागरिकले लगानी ल्याउँदा वा लैजाँदा उद्योग विभाग र नेपाल राष्ट्र बैंकको स्वीकृति लिनुपर्छ । तर, सत्ताको आडमा यिनका बाबुले नेपालको सबै नियम कानुन ‘साइड’ लगाइदिए । गिरिजाप्रसाद कोइरालानिकट यो व्यापारिक घरानाले नेपाली कांग्रेस सत्तामा रहुन्जेल ह्यात होटलको सरकारी ३० प्रतिशत सेयर आफ्नो बनाइसकेको थियो ।सन् २०१३ मा उक्त कम्पनी खोलेको देखिन्छ । राधेश्याम सर्राफ र उनको श्रीमती रत्ना सर्राफको नाउँमा रहेको उक्त कम्पनीको चुक्ता पुँजी १ दशमलव ५ करोड हङकङ डलर (करिब २५ करोड) रहेको देखिन्छ ।२०६८ सालमा यो कम्पनीले ह्यात होटलमा ४० करोड लगानी गरेको थियो भने अहिले यही कम्पनीले ब्लु इनर्जी लिमिटेडमा ६० करोड लगानी गरेको देखिन्छ । तर, राष्ट्र बैैंकबाट पैसा आएको अभिलेख कहीँकतै छैन ।

ह्यात होटलमा सुरुमा २५ करोड लगानी गरेका सर्राफले डिजाइनका लागि मात्रै २२ दशमलव ५ करोड खर्च देखाएर सरकारलाई आफ्नो सेयर हिस्साको अनुपातमा लगानी थप गर्न लगाई सरकारले थप लगानी नगर्ने भएपछि बोर्डबाट निर्णय गराई फर्जी विदेशी कम्पनीका नाउँमा लगानी ल्याई सरकारी सेयर घटाउने शृङ्खला सुरु गरेको देखिन्छ । यस्तोमा नेपाल सरकार मातहतका केही कर्मचारीले गैरकानुनी कार्य गरेकोले अहिले सरकारी सेयर ह्यात होटलमा ९ प्रतिशत मात्रै रहन पुगेको छ ।एक सय ५० रोपनी जग्गा पछि धितो राखेर ऋण लिई होटल निर्माण भएको थियो । पछि नेपाल सरकारको सेयर घटाउन एडीबीलाई साझेदार बनाई भित्र्याएको देखिन्छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x