Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारविपद् व्यवस्थापनका लागि सशस्त्र प्रहरी तयारी अवस्थामा

विपद् व्यवस्थापनका लागि सशस्त्र प्रहरी तयारी अवस्थामा


काठमाडौ । सशस्त्र प्रहरी बल नेपालले मनसुनको समयमा बाढी, पहिरो, डुवान एवं विपद्मा परेकाहरूको तत्कालै उद्धारको लागि मनसुन प्रतिकार्य टोली तयारी हालतमा राखेको छ । आवश्यक स्रोत साधनसहित तैनाथ जनशक्तिले बाढी पहिरो र डुबानको सम्भावित इलाकामा हजार्ड म्यापिङ गरी ती स्थानहरूमा केन्द्रित भई लामो र छोटो गस्ती गर्नेछन् । साथै, देशभरका कार्यालयहरूमा डिजास्टर फोकल पर्सनहरू तोकी आवश्यक समन्वय गर्ने व्यवस्था समेत मिलाइएको सशस्त्र प्रहरीले जनाएको छ । देशभरका राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्र, प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्रहरू, जिल्ला आपतकालीन सञ्चालन केन्द्रहरूमा तालिम प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरू खटिई आवश्यक समन्वय गर्ने जनाइएको छ । साथै, विपद्मा परेकाहरूको तत्कालै उद्धारका लागि ३९ जिल्लाको ५९ वटा सशस्त्र प्रहरी बल नेपालका कार्यालयहरूमा १ सय २० वटा मोटर बोट तथा र्याफ्ट बोटहरू तयारी अवस्थामा राखिएको छ ।

९१ जना गोताखोरलाई आवश्यक उपकरणसहित सात वटै प्रदेशमा रहेका बाहिनी मुख्यालयहरू तथा सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, उपत्यकास्थित नं २० विपद् उद्धार गण सिनामंगल नं २४ कालिका गण कास्की, सिन्धुलीको खुर्कोट बेसमा तैनाथ गरिएको सशस्त्र प्रहरीले जनाएको छ । यसैगरी विपद् व्यवस्थापन तालिम प्राप्त जनशक्तिसहित धनकुटाको मुलघाट, बाराको निजगढ, धादिङको आदमघाट, सिन्धुलीको खुर्कोट, मकवानपुरको कुलेखानी, म्याग्दीको नारच्याङ, दाङको भालुवाङ, सुर्खेतको चिप्ले र डडेलधुराको अमरगढीमा गरी नौ वटा विपद् व्यवस्थापन बेस स्थापना गरिएको छ । यसका साथै विपद् व्यवस्थापन तालिम प्राप्त जनशक्तिलाई सातै वटा प्रदेशस्थित बाहिनी मुख्यालयहरू, उपत्यकास्थित नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालय, १० वटा शिक्षालय, सबै गणहरूमा एक÷एक प्लाटुन र गुल्म वा सो भन्दा साना युनिटहरूमा एक सेक्सनको दरले आवश्यक स्रोतसाधनसहित तैनाथ गरिएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा सशस्त्र प्रहरी बल नेपाललाई हस्तान्तरण गरिएका आठ वटा मास क्याजुल्टी भेहिकल र आठ वटा ए क्लासका एम्बुलेन्सलाई परिचालन गर्न सक्ने गरी सुनसरी, महोत्तरी, कुरिनटार, पोखरा, रुपन्देही, सुर्खेत, कैलाली र काठमाडौंमा तयारी अवस्थामा राखिएको छ । विपद्को समयमा शुद्ध पिउने पानीको अभावलाई पूर्ति गर्न अमेरिकी दूतावासद्वारा निर्मित डिप ट्युबेल काठमाडौंको ७ स्थानसहित कास्की, नवलपरासी, बाँके, कैलालीमा तयारी अवस्थामा रहेको छ । त्यस्तै, अमेरिकी दूतावासबाट प्राप्त डिजास्टर रिलाइफ सिस्टमका २८ वटा कन्टेनर १३ जिल्लाका १५ वटा सशस्त्र प्रहरी बल नेपालका कार्यालयहरूमा वितरण गरी तयारी हालतमा राखिएको छ भने पाँच वटा कन्टेनर जाजरकोट भूकम्पमा प्रयोग गरी सकिएको जनाइएको छ ।

देशभर रहेका सशस्त्र प्रहरी बलका कार्यालयहरूमा २४सै घण्टा स्टेन्डबाई रहने गरी बाहिनी मुख्यालहरू, शिक्षालय तथा गणहरूमा सिनियर अफिसरको कमान्डमा एक प्लाटुन, जिल्लास्थित गुल्ममा जुनियर अफिसरको कमान्डमा २० जना, अन्य गुल्महरूमा जुनियर अफिसरको कमान्डमा १५ जना, बीओपी तथा सुरक्षा बेसहरूमा जुनियर अफिसरको कमान्डमा १० जनाको टोली आवश्यक सामग्रीसहित २४सै घण्टा खटिईने गरी स्टेन्डबाई रहेका छन् । यसैगरी झापा, सप्तरी, बारा, चितवन, रुपन्देही, बाँके, कैलाली, भक्तपुर, मकवानपुर र तनहुँमा रहेका १० वटा सशस्त्र प्रहरी बल नेपालका इमिडियट रेस्पोन्स टिम पोस्ट तथा सबै प्रदेशमा रहेका १३ वटा हेभी इक्युपमेन्टहरूलाई समेत तयारी अवस्थामा राखिएको छ । त्यस्तै, राष्ट्रिय आपतकालीन सञ्चालन केन्द्रको स्वामित्वमा रहेको सामग्रीहरूजस्तै लत्ताकपडा, त्रिपाल, टेन्टहरू सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी, नं. २० विपद् उद्धार गण र नं. २२ गुहेश्वरी गण भक्तपुर तयारी अवस्थामा राखिएको छ ।

विपद् प्रतिकार्यको पूर्वतयारीको लागि सशस्त्र प्रहरी बल नेपालले विभिन्न संघसंस्था तथा महानुभावहरूसँग छलफल गरी विपद् व्यवस्थापनका चुनौती तथा प्रतिकार्यका लागि समुदाय लक्षित तालिम सञ्चालनलगायत विविध विषयहरूमा छलफल समेत गरेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 7

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x