Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार‘कोरोना नियन्त्रणका लागि स्थानीय तहलाई केन्द्र सरकारले पैसा पठाएको छैन’

‘कोरोना नियन्त्रणका लागि स्थानीय तहलाई केन्द्र सरकारले पैसा पठाएको छैन’


धनबहादुर जप्रेल,
कञ्चनपुर, असार ७
कोरोना भाइरस (कोभिड–१९) को नियन्त्रण तथा रोकथामका लागि केन्द्र सरकारले प्रदेश सरकार र स्थानीय तहलाई पैसा नपठाएको स्थानीय जनप्रतिनिधिहरूले बताएका छन् । गत बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभामा सम्बोधन गर्दै कोरोना भाइरस (कोभिड–१९) को नियन्त्रण तथा रोकथाममा खर्च भएको १० अर्ब रूपैयाँ प्रदेश सरकार र स्थानीय तहमा पठाइएको दाबी बताएका थिए ।

उनले स्थानीय तहहरूले क्वारेन्टाइन बनाउँदा र त्यहाँ बसेकाहरूलाई खुवाउँदा उक्त रकम खर्च भएको बताएका थिए । तर यता स्थानीय तह र प्रदेश सरकारले भने क्वोन्टाइन बनाउन, राहत बाँड्न केन्द्र सरकारले हालसम्म एक रूपैयाँ पनि सहयोग नगरेको बताएका छन् । सुदूरपश्चिम प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी खगेन्द्र साउँदले सुदूरपश्चिम प्रदेश सरकारलाई केन्द्र सरकारले कोरोना रोकथाम, राहत वितरण तथा क्वारेन्टाइन निर्माणका लागि तोकेर कुनै पनि प्रकारको बजेट विनियोजन गरेर नपठाएको बताए । उनले प्रदेश सरकारले आफ्नै स्रोतबाट कोरोना नियन्त्रण र राहतका लागि दुई किस्तामा स्थानीय तहहरूलाई बजेट दिएको जानकारी दिए ।

उनका अनुसार उपमहानगरपालिकालाई पाँच लाख, नगरपालिकालाई चार लाख र गाउँपालिकाहरूलाई तीन लाख बजेट प्रदेश सरकारले दिएको हो । यसका साथै राहत वितरणका लागि पनि सबै स्थानीय तहहरूलाई बजेट उपलब्ध गराएको उनले बताए । तर केन्द्र सरकाले प्रदेश सरकारलाई हालसम्म कोरोना रोकथामका लागि सहयोग नगरेको उनको भनाइ छ ।

यता स्थानीय तहहरूले पनि प्रदेश सरकारले बाहेक केन्द्र सरकारले आफूहरूलाई कुनै सहयोग नगरेको बताएका छन् । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका नगरप्रमुख दिलबहादुर ऐरले कोरोना नियन्त्रणका लागि भन्दै प्रदेश सरकारबाट चार लाख बजेट आएको भए पनि केन्द्र सरकारबाट भने आफूहरूलाई सहयोग आएको आफूलाई जानकारीमा नआएको बताए ।

यस्तै महाकाली नगरपालिका दार्चुलाका नगरप्रमुख हंशराज भट्टले केन्द्र सरकारले लकडाउनको मिति तोक्नेबाहेक अरु कुनै सहयोग नगरेको बताए । उनले ११ लाख राहतका लागि र चार लाख कोरोना नियन्त्रणका लागि प्रदेश सरकारबाट सहयोग भएको बताएका छन् । उनले केन्द्र सरकारबाट आफूहरूलाई कोरोना नियन्त्रण तथा रोकथाम र राहत वितरण तथा क्वारेन्टाइन निर्माणका नाममा सहयोग नआएको बताए । यस्तै महाकाली नगरपालिका कञ्चनपुरका नगरप्रमुख वीरबहादुर सुनारले पनि आफूहरूलाई प्रदेश सरकारले एक पटक १७ लाख र अर्काे पटक चार लाख कोरोना नियन्त्रण तथा रोकथाम र राहतलगायतका लागि बजेट निकासा गरेको भए पनि केन्द्र सरकारले सहयोग गरेको बारेमा जानकारी नरहेको बताए ।

प्रदेश सरकारको कोरोना विपद् व्यवस्थापन कोष समितिका सयोजक तथा सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहले प्रदेश सरकारले स्थापना गरेको कोषबाट कोभिड १९ को रोकथाम, नियन्त्रण रोक्न र राहतका लागि १६ करोड खर्च भएको बताए । यस्तै अस्पतालमा भेन्टिलेटर खरिद र औषधि खरिदलगायतमा ३० करोड, प्रदेशमा रहेको सुरक्षा निकायको व्यवस्थापन र परिचालनमा डेढ करोड, आइसोलेसन र कवारेन्टाइन व्यवस्थापनमा छ करोड खर्च भएको बताएका छन् । केन्द्र सरकारले उक्त कोषका लागि सहयोग नगरेको बताए । केन्द्र सरकारले कोरोनाको नाममा १० अर्ब भ्रष्टाचार गरेको भन्दै चर्काे आलोचना र विरोध खेपिररहेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया