Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारवैतेश्वर गाउँपालिकाद्वारा आफ्नै बजेटमा सडक कालोपत्रे

वैतेश्वर गाउँपालिकाद्वारा आफ्नै बजेटमा सडक कालोपत्रे


दोलखा, असार ७
दोलखाको वैतेश्वर गाउँपालिकाले आफ्नै बजेटमा सडक कालोपत्रे गरेको छ । पालिकाको खर्चबाट सडक कालोपत्रे गर्ने पहिलो स्थानीय तह नै वैतेश्वर भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले आफ्नै बजेटमा पालिकाको वडा नं. १ गैरीमुदी जाने गोपीखोलादेखि वडा नं. १ को वडा कार्यालयसम्म पुग्ने सडक कालोपत्रे गरेको हो । त्यस्तै वडा नम्बर ६ बुस्तीदेखि वडा नम्बर ३ पुतलीकाठ जोड्ने सडकको कालोपत्रेका लागि पनि अन्तिम तयारीमा जुटेको गाउँपालिकाले जनाएको छ । हालै गाउँपालिकाले ४ किलोमिटर सडक पिचका लागि ६ करोड रकम खर्च गरेको छ ।

विकासको मुख्य आधार र नागरिकको उन्नति भनेकै सडक रहेकोले सडकको स्तरोन्नतिलाई प्राथमिकतामा राखेर काम अगाडि बढाएको गाउँपालिकाका अध्यक्ष छवि लामाले बताए । आर्थिक वर्ष २०७७।०७८ भित्र ८ वटा वडा समेटेर निर्माण गरिएको २७ किलोमिटर रिङरोड नै पिच गर्ने लक्ष्यका साथ अगाडि बढेको अध्यक्ष लामाले जानकारी दिए । सोहीबमोजिम सबै वडा कार्यालयसम्म मुख्य राजमार्गबाट कालोपत्रेले जोड्ने लक्ष्यअनुसार पहिलो चरणमा ३ वटा सडकमा काम सुरु गरेको उनको भनाइ छ । उनले पहिलो चरणमा गाउँपालिका केन्द्रबाट वडा केन्द्रसम्मको सडक कालोपत्रे गर्ने बताए ।

गाउँपालिकाका सबै वडाबाट द्रुत गतिमा गाउँपालिका केन्द्र जोड्ने सडक निर्माण गरेको गाउँपालिकाले अहिले कालोपत्रे गर्ने र १२ महिना नै मुख्य सडकहरू सञ्चालन हुनेगरी काम गरिरहेको छ । गाउँपालिकाले पहिलो वर्ष दु्रतमार्ग निर्माण गरेको थियो । अहिले जुनसुकै वडाबाट पनि एक घण्टाभित्र गाउँपालिका कार्यालय पाडुँडाँडा पुग्न सकिने अध्यक्ष लामाले बताए । एक साताअघि गोपीखोला गोपीटार सडकको ४ किलोमिटर सडक कालोपत्रे भएको गाउँपालिकाका प्रमुख लामाले जानकारी दिए । बुस्ती पुतलीकाठ सडक पनि केही दिनमै एक किलोमिटर सडक कालोपत्रे हुने उनको भनाइ छ ।

आगामी आर्थिक वर्ष पनि सुरु भएका सडकमा बजेट निरन्तर पर्ने र अन्य सडक पनि कालोपत्रेका लागि थप गर्ने योजना रहेको बताए । गाउँपालिकाकै लगानी र व्यवस्थापनमा २ वटा झोलुङ्गे पुलसमेत निर्माण भएका छन् । गोपी खोला र खानी खोलामा उपभोक्ता समितिमार्फत पुल निर्माण भएको पालिकाले जनाएको छ । झोलुङ्गे पुल ४ वटा बनाउनु पर्नेमा २ वटा पूरा भए पनि २ वटा अर्को वर्ष पूरा हुने अध्यक्ष लामाले बताए ।

गाउँपालिकाको चालू आर्थिक वर्षमा तीन सय १५ वटा योजना रहेका थिए । त्यसमध्ये तीन सय वटा योजना पूरा भएका छन् । सबै योजना जेठ मसान्तभित्र भुक्तानी समेत गर्ने लक्ष्य भए पनि कोरोना महामारीका कारण भएको लकडाउनले केही योजनाको ठेक्का लाग्न नसक्दा शत प्रतिशत लक्ष्य हासिल गर्न भने नसकिएको उनले बताए । उपभोक्ता समितिमार्फत गर्ने कामहरू चैतमा नै पूरा भए पनि ठेक्कामार्फत गर्ने काममा प्रक्रियागतरूपमा जाँदा लामो हुने भएकोले सबै काम गर्न नसकेको उनको भनाइ छ । उनले पूरा भएका आयोजनाको भुक्तानीको काम पनि अन्तिम चरणमा पुगेको बताए ।

दोलखाको वैतश्वर गाउँपालिकाका प्रमुख छवि लामा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन् । हेर्दा सामान्य लाग्ने लामाले गाउँपालिकाको विकासमा अहोरात्र खटेर दोलखामा नै उत्कृष्ट कार्य गरिरहेका छन् । कागजीरूपमा पुरस्कार र सम्मान अन्य गाउँपालिकाका प्रमुखले पाए पनि लामाले पुरस्कार र सम्मानको पछाडि नलागिकन नागरिकहरूको सेवामा तल्लीन रहिरहेको स्थानीयहरूको भनाइ छ । विभिन्न नाममा अन्य गाउँपालिकाका प्रमुखहरू विवादमा आए पनि लामा भने कहिल्यै विवादमा नआएको उनका विपक्षीहरूले नै बताउँछन् । ‘खासगरी कम बोल्ने तर काम धेरै गर्ने स्वभावका रहेछन् लामा’, वैतेश्वर गाउँपालिका मैनापोखरीका एक स्थानीयले भने । लामा स्वभावले खरो भएकैले पनि विकासे कामले तीव्रता पाएको स्थानीयको बुझाइ छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया