Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसुनसरी–मोरङ औद्योगिक करिडोरका पाम उद्योग बन्द

सुनसरी–मोरङ औद्योगिक करिडोरका पाम उद्योग बन्द


विराटनगर, असार ८
कोरोना भाइरसको माहामारी नियन्त्रण तथा रोकथामका लागि गरिएको लकडाउनका कारण नराम्रोसँग थलिएका सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगहरू लकडाउनमा केही सहजता भएपछि खुल्न थालेका छन् । तर सुनसरी मोरङ औद्योगिक करिडोरबाट सञ्चालन हुँदै आएका पाम आयल उत्पादन गर्ने उद्योगहरू भने लकडाउन खुकुलो भए पनि पूर्णरूपमा बन्द भएका छन् ।

भारत सरकारले नेपालबाट निर्यात हुने पाम तेलमा प्रतिबन्ध लगाएपछि यस क्षेत्रमा पाम उद्योगहरू बन्द भएका हुन् । विभिन्न मुलुकबाट कच्चापदार्थ आयात गरेर नेपालमा प्रशोधनपछि पाम तेल भारत पठाइने गरिएको उद्योगिहरूले जानकारी दिएका छन् । नेपालबाट सन् २०१८ मा एक लाख ८९ हजार ७८ टन पाम तेल निर्यात भएको थियो । यस्तै २०१९ मा पैठारी हिस्सा अघिल्लो वर्षभन्दा तीन सय १४ प्रतिशतले बढेको थियो ।

अहिले नेपाललगायत विश्व नै कोभिड १९ का कारण लकडाउनमा भएको मौक्का छोपी भारत सरकारले एकपक्षीय ढंगबाट भारतीय बजारमा पाम आयल आयातमा रोक लगाएको छ । भारतीय बजारमा पाम आयल प्रशस्त मात्रामा रहेकाले आयात रोक्नुपरेको भारत सरकारले जनाएको छ । पाम आयलको नेपालबाट हुने निर्यात नै बन्द भएपछि सुनसरी मोरङ औद्योगिक करिडोरका पाम उत्पादन गर्दै आएका आधा दर्जन उद्योगहरू पूर्णरूपमा बन्द भएको क्वालिटी रिफाइनरी आयलका सञ्चालक विपिन कावराले जानकारी दिए ।

कावराका अनुसार भारतले पछिल्लोपटक निकासी खुला गरेपछि सुनसरी मोरङ औद्योगिक करिडोरका पाम उद्योगीहरूले कच्चापदार्थको आयात ह्वात्तै बढाएका थिए । तर एक्कासी पुनः प्रतिबन्ध लगाएपछि यो लकडाउनका कारण धरासायी बनेका उद्योगहरू थप मारमा परी अर्बौंको क्षति व्यहोर्नुपर्ने उनको भनाइ छ ।

कोभिड १९ का कारण करिब ८५ दिनदेखि बन्द रहेका सुनसरी मोरङ औद्योगिक करिडोरका पाम उद्योगहरूले उद्योगमा पनि कच्चापदार्थ भरिएको र आयातको चरणमा पनि कच्चापदार्थ रहेको हुँदा अब भारत सरकारसँग पहल गरी नेपाल सरकारले पाम तेलको निकासी नखोल्ने हो भने यहाँ सञ्चालनमा रहेका उद्योग खण्डहर बन्ने अवस्था आएको उद्योगीहरूले बताएका छन् । उनीहरूले पाम आयतको निर्यातका लागि भारत सरकारसंग सहकार्य गर्न नेपाल सरकारसँग आग्रह समेत गरेका छन् । नेपालमा इन्डोनेसिया र मलेसियाबाट पामको कच्चा तेल भित्रिन्छ । चालू आर्थिक वर्षमा मात्र कुल १५ अर्ब ३५ करोड रूपैयाँको पाम तेल नेपालबाट भारततर्फ निर्यात भएको जानकारी पनि उद्योगीहरूले दिएका छन् ।

त्यसैगरी झापाको मेची भन्सार नाका हुँदै भारततर्फ निकासी हुँदै आएको अदुवा, अलैँची, अमलिसोलगायतका वस्तु भारतको बंगाल सरकारले भारत जान मेची भन्सारमाबाट रोकेका कारण नेपाल सरकारले ठूलो क्षति व्यहोर्नु परेको उद्योगी तथा व्यवसायीले बताएका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया