Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारविदेशी लगानीका आयोजनामा नेपालका बैंकले लगानी गर्दा स्वदेशी आयोजना समस्यामा

विदेशी लगानीका आयोजनामा नेपालका बैंकले लगानी गर्दा स्वदेशी आयोजना समस्यामा


काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले विदेशी लगानीका आयोजनामा नेपालका बैंकले लगानी गर्दा स्वदेशी आयोजनाहरू समस्यामा परेको बताएका छन् ।

इप्पानले सोमबार राजधानीमा आयोजना गरेको एक कार्यक्रममा अध्यक्ष कार्कीले विदेशी परियोजनामा पुँजी पनि विदेशबाटै ल्याउनुपर्ने बताए । ‘बैंकहरूले निश्चित सीमामा रहेर ऊर्जा क्षेत्रका परियोजनामा लगानी गरेका हुन्छन्, यस्तोमा त्यो लगानी विदेशी लगानीका आयोजनामा जाने हो भने निजी क्षेत्रका परियोजनाले कर्जा नै नपाउने अवस्था रहन्छ’, उनले भने, ‘त्यसैले विदेशी लगानीमा निर्माण हुने आयोजनामा पुँजी पनि विदेशबाट ल्याउनुपर्छ ।’ नेपाल विद्युत् प्राधिकरणका निर्देशक केदारराज सिलवालले जलविद्युत् आयोजना निर्माणसँगै प्रसारणलाइन पनि निर्माण जरुरी रहेको बताए । उनले हाल कुल १२ हजार चार सय ४६ मेगाभोल्ट एम्पायर ऊर्जा वहन क्षमताको प्रसारणलाइन निर्माण भइसकेको उल्लेख गरे । सन् २०३० मा सो क्षमता ३५ हजार छ सय ७५ मेगाभोल्ट एम्पायर पुग्ने गरी प्रसारणलाइन निर्माण भइसक्ने उनले जानकारी दिए ।

इप्पानका उपमहासचिव प्रकाश दुलालले संविधानमै जलविद्युत् आयोजनाको क्षेत्राधिकार कुन तहसम्म हुने भन्ने स्पष्ट नभएको बताए । उनले प्रस्तावित विद्युत् विधेयक निजी क्षेत्रमैत्री नभएको भन्दै विभिन्न बुँदामा संशोधन आवश्यक भएको उल्लेख गरे । उपमहासचिव दुलालले उक्त मस्यौदामा सरकारी आयोजनाले प्रतिस्पर्धा गर्न नपर्ने र निजी लगानीका आयोजनालाई मात्रै प्रतिस्पर्धा गर्नुपर्ने व्यवस्था निजी लगानीमैत्री नभएको बताए । बिजुली सस्तो बनाएर रोजगारी सिर्जना गर्नुपर्नेमा महँँगो बनाएर राजस्व सङ्कलन गर्ने सरकारको नीति सही नभएको उनको जिकिर थियो ।

कार्यक्रममा इप्पान कार्यसमिति सदस्य सुमन जोशीले सरकारले २८ हजार मेगावाट विद्युत् उत्पादन गर्न सकिने योजना अघि सारेको भन्दै त्यसका लागि ६० खर्ब रुपैयाँभन्दा बढी लगानी आवश्यक भएको बताए । उनले हाल बैंक तथा वित्तीय संस्थाले ऊर्जा क्षेत्रमा तीन खर्ब ५१ अर्ब रुपैयाँ लगानी गरेको बताए । यो कुल कर्जाको सात दशमलव एक प्रतिशत मात्र भएकाले लगानी बढाउन आवश्यक रहेको उनको भनाइ थियो । जोशीका अनुसार बैंक तथा वित्तीय संस्थाले गरेको कर्जाको प्रतिबद्धता भने पाँच खर्ब ३६ अर्ब रुपैयाँ छ । निजी क्षेत्रले ऊर्जा क्षेत्रमा लगानी गर्ने हो भने विदेशी लगानीका आयोजनामा स्वदेशी बैंकले लगानी गर्न नहुने जोशीको भनाइ छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x