Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारचीन र श्रीलङ्कासँग डिजिटल कारोबारसम्बन्धी सम्झौता हुँदै

चीन र श्रीलङ्कासँग डिजिटल कारोबारसम्बन्धी सम्झौता हुँदै


काठमाडौं, नेपाल राष्ट्र बैंकले चीन र श्रीलङ्कासँग डिजिटल भुक्तानी कारोबारसम्बन्धी अन्तिम तयारी भइरहेको जनाएको छ । नेपाल उद्योग वाणिज्य महासंघले मंगलबार राजधानीमा आयोजना गरेको आगामी आर्थिक वर्षको मौद्रिक नीतिसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै गभर्नर महाप्रसाद अधिकारीले यस्तो जानकारी दिएका हुन् । भारतसँग डिजिटल कारोबार सुरु भइसकेको उल्लेख गर्दै गभर्नर अधिकारीले अब चीनको ‘अलि पे’ र श्रीलङ्काको ‘लंका पे’सँग डिजिटल भुक्तानी कारोबारका लागि सम्झौता गर्न अन्तिम तयारी भइरहेको जानकारी दिएका हुन् ।

गभर्नर अधिकारीले नेपालमा भारतीय पाँच सयभन्दा ठूला दरका नोटको कारोबार खुलाउनेबारे भारतीय रिजर्भ बैंकसँग छलफल भइरहेको जानकारी पनि दिए । आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउँदा तथ्य, तथ्याङ्क र व्यवहारको वस्तुनिष्ठ विश्लेषण गरिने गभर्नर अधिकारीले बताए । निजी क्षेत्रले चालू पुँजी कर्जा मार्गदर्शनको व्यवस्था खुकुलो बनाउनुपर्ने माग राखेको भए पनि साना ऋणीलाई यो मार्गदर्शनले समस्या नपारेको उनले बताए । बैंक र सेवाग्राहीबीचको सम्बन्ध हेर्ने गरी राष्ट्र बैंकमा छुट्टै शाखा स्थापना गरिएको जानकारी दिँदै उनले कोही पनि सेवाग्राही बैंकको व्यवहारबाट समस्यामा परे उजुरी गर्न आग्रह गरे ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंक वित्तीय संस्थामा पर्याप्त तरलता रहे पनि कर्जा विस्तार हुन नसकेको विद्यमान परिस्थितिमा बजार माग बढाउन र उद्योगको उत्पादन क्षमता विस्तार गर्न सहज हुनेगरी मौद्रिक नीति ल्याउन सुझाव दिए ।

अध्यक्ष ढकालले उत्पादनमूलक उद्योगको क्षमता बढाउने र व्यापारिक प्रयोजनभन्दा औद्योगिक प्रयोजनका लागि कर्जाको ब्याजदर कम गर्नेगरी मौद्रिक नीति ल्याइनुपर्ने माग गरे । समग्र मागमा आएको सङ्कुचनको कारण उद्योगीको ऋण तिर्ने क्षमता ह्रास भएको भन्दै अध्यक्ष ढकालले त्यसलाई सम्बोधन गर्न आग्रह गरे । कर्जाको ब्याजदर घटे पनि निक्षेपको तुलनामा कर्जा प्रवाह आधा मात्रै बढेको, नगद प्रवाहमा भएको समस्या, न्यून उत्पादन, निजी क्षेत्रको गिर्दाे मनोबलका कारण नयाँ लगानीका योजनासमेत स्थगन भइरहेको अध्यक्ष ढकालले बताए । उनले पुराना लगानीकर्तालाई थप लगानी गर्ने र नयाँ लगानीकर्तालाई आकर्षित गर्ने वातावरण निर्माण गर्नेगरी मौद्रिक नीति आउनुपर्नेमा जोड दिए । माग सिर्जना गर्न गाउँ र साना सहरमा कर्जा सुविधा विस्तार गर्न बैंकहरूलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । सहकारी र लघुवित्तमा देखिएकोे समस्याका कारण बजारमा नगद प्रवाह हुन नसकेकोले मौद्रिक नीतिले यसलाई समेट्नुपर्ने धारणा राखे ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x