Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअर्थतन्त्रमा आन्तरिक गतिविधि खुम्चिँदो, सूचक भने सकारात्मक

अर्थतन्त्रमा आन्तरिक गतिविधि खुम्चिँदो, सूचक भने सकारात्मक


काठमाडौँ,नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको ११ महिनाको तथ्याङ्कमा आधारित आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी रिपोर्टमा अर्थतन्त्रका केही सूचकहरू धेरै नै सहज देखिएका छन् । तर आन्तरिक अर्थतन्त्र अझै पनि दबाबमुक्त हुन सकेको छैन । रेमिट्यान्स आप्रवाह र विदेशी विनिमय सञ्चितिमा वृद्धि देखिएको छ । चालू खाता र शोधनान्तर स्थिति बचतमा छन् । बाह्य क्षेत्रका सूचकमा देखिएको सुधारले आर्थिक गतिविधि विस्तारका लागि बलियो आधार बनेको छ । तर, आन्तरिक अर्थतन्त्रमा गतिविधि खुम्चिँदै जाँदा बैंकहरूको कर्जा विस्तार निकै सुस्त देखिएको छ । आर्थिक गतिविधि बढ्न नसक्दा निजी क्षेत्र निराश देखिएको छ ।

मूल्यवृद्धि नियन्त्रण उन्मुख बन्दै गएको छ, ब्याजदर घटेको छ, वित्तीय प्रणालीमा प्रशस्तै लगानीयोग्य रकम छ र अर्थतन्त्रको बाह्य क्षेत्र पनि मजबुत बनेको छ । तर पनि आन्तरिक अर्थतन्त्र चलायमान बन्न सकेको छैन । निजी क्षेत्रमा कर्जाको माग न्यून देखिएको छ । सरकारी वित्तमा दबाब परेको छ । आयात र निर्यात दुवै घटेका छन् । यी आधारमा अर्थतन्त्रका केही सूचक सहज देखिए पनि आर्थिक क्रियाकलाप बढ्न नसकेको देखिन्छ ।

तथ्याङ्कमा घट्यो महँगी
केन्द्रीय बैंकको तथ्याङ्कमा महँगी घटेको छ । तर, उपभोक्ताले महँगी घटेको अनुभूति गर्न पाएका छैनन् । राष्ट्र बैंकका अनुसार गत जेठ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति चार दशमलव १७ प्रतिशत कायम छ । एक वर्षअघि जेठ महिनामा मुद्रास्फीति छ दशमलव ८३ प्रतिशत थियो । खाद्य तथा पेयपदार्थ समूहको पाँच दशमलव ७६ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको दुई दशमलव ९४ प्रतिशत मूल्यवृद्धि भएको छ । तरकारीको मूल्यवृद्धि १६ दशमलव शून्य दुई प्रतिशत, दाल तथा गेडागुडीको ११ दशमलव ७६ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको सात दशमलव ३२ प्रतिशत, चिनी तथा चिनीजन्य वस्तुको छ दशमलव ९८ प्रतिशत र गैरमदिराजन्य पेयपदार्थको पाँच दशमलव ९५ प्रतिशतले मूल्य बढेको छ । घ्यू तथा तेल उपसमूहको मूल्य पाँच दशमलव ५१ प्रतिशतले घटेको छ ।गैरखाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवाहरू उपसमूहको वार्षिक विन्दुगत मूल्य सूचकाङ्क १२ दशमलव ४७ प्रतिशत, शिक्षाको पाँच दशमलव ६४ प्रतिशत र कपडाजन्य तथा जुत्ता चप्पलको तीन दशमलव ४६ प्रतिशतले बढेको छ । काठमाडौं उपत्यकाको मुद्रास्फीति चार दशमलव २५ प्रतिशत, तराईको तीन दशमलव ८२ प्रतिशत, पहाडको चार दशमलव ६३ प्रतिशत र हिमालको चार दशमलव ७७ प्रतिशत छ ।

रेमिट्यान्स १३ खर्ब २७ अर्ब रुपैयाँ भित्रियो

वैदेशिक रोजगारीबाट प्राप्त हुने आय अर्थात् रेमिट्यान्स अप्रवाह बढेको छ । चालू आर्थिक वर्षको ११ महिनामा रेमिट्यान्स १९ दशमलव तीन प्रतिशतले बढेर १३ खर्ब २७ अर्ब ५१ करोड रुपैयाँ भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह २२ दशमलव सात प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७ दशमलव तीन प्रतिशतले वृद्धि भई नौ अर्ब ९८ करोड पुगेको प्रतिवेदनमा उल्लेख छ । अघिल्लो वर्ष अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १३ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या चार लाख २२ हजार नौ सय ३६ पुगेको छ । यस अवधिमा पुनः श्रम स्वीकृति लिनेको संख्या दुई लाख ६२ हजार सात सय पाँच रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः चार लाख ५९ हजार चार सय १५ र दुई लाख ६० हजार दुई सय ६२ रहेको थियो । प्रतिवेदनअनुसार चालू आवको पछिल्लो ११ महिनामा खुद ट्रान्सफर १७ दशमलव तीन प्रतिशतले बढेर १४ खर्ब ४३ अर्ब छ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २१ दशमलव नौ प्रतिशतले बढेको थियो ।

विदेशी विनिमय सञ्चिति करिब २० खर्ब
नेपालको विदेशी विनिमय सञ्चिति करिब २० खर्ब पुगेको छ । चालू आर्थिक वर्षको ११ महिनामा विदेशी विनिमय सञ्चिति १९ खर्ब ६७ अर्ब १९ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको असार मसान्तमा विदेशी विनिमय सञ्चिति १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ थियो ।अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८१ जेठ मसान्तमा २५ दशमलव सात प्रतिशतले बढेर १४ अर्ब ७२ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड रुपैयाँ रहेकोमा २०८१ जेठ मसान्तमा ३० दशमलव दुई प्रतिशतले बढेर १७ खर्ब ५२ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ । राष्ट्र बैंकबाहेकका बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा एक खर्ब ९३ अर्ब ५९ करोड रहेकोमा २०८१ जेठ मसान्तमा १० दशमलव आठ प्रतिशतले बढेर दुई खर्ब १४ अर्ब ४२ करोड कायम भएको छ । २०८१ जेठ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२ दशमलव तीन प्रतिशत रहेको छ ।

१५ महिनाको वस्तु आयात पुग्ने
चालू आर्थिक वर्षको ११ महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १५ महिना तीन दिनको वस्तु आयात र १२ महिना १८ दिनको वस्तु तथा सेवा आयात गर्न पुग्ने देखिन्छ । २०८१ जेठ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ३४ दशमलव पाँच प्रतिशत, एक सय पाँच दशमलव दुई प्रतिशत र २९ दशमलव दुई प्रतिशत छ । २०८० असार मसान्तमा यी अनुपातहरू क्रमशः २८ दशमलव आठ प्रतिशत, ८३ प्रतिशत र २५ प्रतिशत थियो ।

शोधनान्तर स्थिति र चालू खाता बचतमा
मुलुकको शोधनान्तर स्थिति बचतमा देखिएको छ । गत जेठ मसान्तसम्म शोधनान्तर स्थिति चार खर्ब २५ अर्ब ६७ करोडले बचतमा देखिएको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति दुई खर्ब २४ अर्ब ९० करोडले बचतमा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा एक अर्ब ७१ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा तीन अर्ब २० करोडले बचतमा थियो । चालू खाता दुई खर्ब ३९ करोडले बचनमा छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता ७९ अर्ब ५३ करोड घाटामा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ६१ करोड ३२ लाखले घाटामा रहेको चालू खाता यस वर्ष एक अर्ब ५१ करोडले बचतमा छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x