Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकरिब चार करोड रुपैयाँ स्टार्ट अप उद्यम कर्जा वितरण

करिब चार करोड रुपैयाँ स्टार्ट अप उद्यम कर्जा वितरण


स्टार्ट अप उद्यमीले आफू नजिक पर्ने बैंक तथा वित्तीय संस्थाबाट सहुलियत दरको ऋण प्राप्त गर्नेभएका छन् । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले स्टार्ट अप उद्यमको लागि तीन करोड ७२ लाख रुपैयाँ वितरण गर्न लागेको हो । ७४ जना उद्यमीलाई तीन करोड ७२ लाख रुपैयाँ कर्जा वितरण गर्न लागिएको प्रतिष्ठानका कार्यकारी निर्देशक उमेश गुप्ताले जानकारी दिएका छन् ।उद्यमीहरूले आवश्यक कर्जा राष्ट्रिय वाणिज्य बैंकको शाखाहरूमा पठाइसकेको हुँदा उनीहरूले आफ्नो घरपायकको शाखामा गएर रकम लिनसक्ने गुप्ताले बताए । उद्यमीले आफूलाई पायक पर्ने वाणिज्य बैंक तथा वित्तीय संस्थाको नाम टिपाएसँगै एक साताभित्र रकम प्राप्त गर्न सक्नेछन् ।

प्रतिष्ठानले तीन सय ९४ वटा परियोजनामार्फत एक सय ८३ वटा परियोजन छनोट गरेको हो । परियोजना तथा आवेदकहरूले व्यावसायिक प्रस्तावको प्रस्तुतीकरण दिएपछि उनीहरूलाई छनोट गरिएको हो । प्रस्तुतीकरणमा सकेसम्म प्रस्ट, बुँदागत र स्टार्ट अप उद्यम कर्जाका लागि पेस गरिएको परियोजना प्रस्तावअनुसार हुनपर्नेलगायतका मापदण्ड तयार गरिएको थियो भने छनोटका लागि समिति समेत निर्माण गरिएको थियो । कार्यविधिअनुरूप स्टार्ट अप उद्यम कार्यक्रम सुव्यवस्थितरूपले सञ्चालन गर्न, स्टार्ट अप उद्यम छनोट गर्न, स्टार्ट अप उद्यमलाई प्रवद्र्धन गर्ने, अनुकूल इकोसिस्टम निर्माण एवं नवप्रवर्तनलाई संरक्षण तथा प्रवद्र्धन गरी स्टार्ट अप उद्यमलाई आवश्यक नीतिगत, आर्थिक प्राविधिकलगायतका क्षेत्रहरूमा कार्यक्रम गर्नका लागि सात सदस्यीय स्टार्ट अप उद्यम कार्यान्वयन समितिको व्यवस्था गरेको थियो । प्रतिष्ठानले एक सय ८३ जनालाई १९ करोड ५० लाख रुपैयाँ वितरण गर्ने लक्ष्य राखेको छ ।

प्रतिष्ठानले सरकारले २५ करोड रुपैयाँ विनियोजन गरेको मध्येबाट उद्यमीहरूलाई उक्त कर्जा प्रदान गर्न लागिएको हो । बैंक तथा वित्तीय संस्थाले सेवा प्रवाह गरेबापत शून्य दशमलव शून्य शून्य एक प्रतिशत सेवाशुल्क लिन्छन् । सरकारले भने वितरण रकमको २५ प्रतिशत रकम निक्षेप तथा कर्जा सुरक्षण कोषमा राख्ने छ । जोखिमयुक्त लगानी भएको खण्डमा परिपूर्ति गर्नका लागि सरकारले उक्त रकम विनियोजत गरेको हो । वित्तीय विभाजनअन्तर्गत प्रतिष्ठानले भने तीन प्रतिशत रकम प्राप्त गर्नेछ । स्टार्ट अप उद्यम कार्यका लागि ‘स्टार्ट अप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८० अनुरुप बैंकले कर्जा प्रवाह गर्दा बढीमा पाँच लाख रुपैयाँसम्मको कर्जाको हकमा एक किस्ता, १५ लाख रुपैयाँसम्मको लागि दुई किस्ता र सोभन्दा माथि २५ लाख रुपैयाँसम्मको कर्जाको हकमा तीन किस्तामा कर्जा रकम उपलब्ध गराइने व्यवस्था गरिएको छ । सोहीअनुरूप हाल रकम वितरण गर्न लागेको हो ।

सरकारले स्टार्ट अप उद्यमका लागि भने १६ वटा क्षेत्र तथा पुँजी निर्धारण गर्दै कार्यविधि तय गरिएको छ । १६ वटा क्षेत्रहरूमा कृषि तथा पशुपन्छी, वन (जडीबुटी, वन पैदावर), पर्यटन प्रवद्र्धन तथा मनोरञ्जन र अतिथि सत्कार, विज्ञान, प्रविधि, सञ्चार तथा सूचना प्रविधि, मानव स्वास्थ्य सेवा, शिक्षा तथा शिक्षण सिकाइ, सहज र सुरक्षित यातायात तथा पारवहन रहेको छ । यस्तै पूर्वाधर निर्माण, अटोमोबाइल, परम्परागत प्रविधि उत्पादन र सेवाप्रवाहको प्रक्रियामा सुधार, खानी तथा खनिज अनुसन्धान र विकास, घरायसी वा दैनिक जीवनयापनलाई सरल, सहज र सुरक्षित बनाउने, खाद्य उत्पादन तथा प्रशोधन र फोहोरमैला व्यवस्थापन तथा वातावरण समेत समेटिएको छ ।

स्टार्ट अप उद्यमलाई कर्जा सुविधा प्राप्त गर्नका लागि भने चुक्ता पुँजी ५० लाख रुपैयाँभन्दा बढी नभएको, उद्यमको कुल आम्दानी वार्षिक ५० लाख रुपैयाँभन्दा बढी नभएको, स्थिर पुँजी (घर जग्गा मूल्यबाहेक) दुई करोड रुपैयाँभन्दा बढी नभएको हुनुपर्नेछ । यसका साथै स्टार्ट अप उद्यम वा व्यवसायको मापदण्डअन्तर्गत उद्यममा पूर्णकालीन कामदारको संख्या १० जनाभन्दा बढी नभएको, कुनै वस्तु वा सेवाको उत्पादन वा वितरण प्रक्रियामा उपभोक्ताले भोग्दै आएको समस्यालाई समाधान गर्न सूचना प्रविधिको उपयोग एवं सिर्जनशील सोचको प्रयोग भएको, उद्यमले वार्षिकरूपमा गर्ने कुल खर्चको कम्तीमा पाँच प्रतिशत अंश उत्पादन विकास, बजार विकास एवं अनुसन्धान र विकासमा खर्च गर्ने गरेको, उद्यमको बौद्धिक सम्पत्तिको पेटेन्ट वा डिजाइन वा सफ्टवेयर दर्ता भएको वा पेटेन्ट वा डिजाइन र सफ्टवेयर दर्ता गर्न योग्य रहेको हुनुपर्नेछ ।
त्यस्तै, उद्योग विभाग महानिर्देशक संयोजक रहेको उक्त समितिले छनोट गरेको परियोजनाहरूमा दुध, तरकारी, फलफूल, च्याउ, मह, विभिन्न जातका बिरुवा उत्पादनको लक्ष्य राखिएको छ । साथै माछापालन, बाख्रापालन, मयुर उद्योग, काजग उद्योग, बस सेवा, धोवीलगायतका सेवा सञ्चालन गर्ने परियोजनाहरू रहेका छन् । स्टार्ट अप उद्यम तथा व्यवसायका लागि दिइएको आवेदनमा कृषि तथा पशु फर्म, जडीबुटी सङ्कलन सिलाइ, डेरी, पोल्टीलगायतका उद्योग तथा व्यवसाय सञ्चालन गर्न इच्छुक रहेका थिए । साथै निर्माण, प्रविधि, गार्मेन्ट, मासुजन्य उद्योग सञ्चालन गर्न इच्छुक रहेका थिए ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x