Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारधितोपत्रको दोस्रो बजार कारोबार खोल्न सुझाव

धितोपत्रको दोस्रो बजार कारोबार खोल्न सुझाव


सुरेश राउत
काठमाडौं, असार ९
नेपाल धितोपत्र बोर्ड र अर्थ समितिका सदस्यहरुबीच धितोपत्र बजारमा देखिएका समस्याहरुको विषयमा छलफल भएको छ । विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रण तथा रोकथाम नियन्त्रणको लागि सरकारले गत वर्ष चैत ११ गतेदेखि लकडाउनको घोषणा गरेपश्चात् हालसम्म पनि धितोपत्रको दोस्रो बजार कारोबार बन्द छ । यो अवस्थामा समितिका सदस्यहरुले यस क्षेत्रमा देखिएको समस्या समाधान गरी धितोपत्र कारोबार खुुल्ला गर्नुुपर्ने बताएका छन् ।

कार्यक्रममा धितोपत्र बजार तथा नियमन सम्बन्धमा अध्ययनका लागि अर्थ समितिका सभापति कृष्ण प्रसाद दाहालको नेतृत्वमा बोर्डमा आएको उक्त टोलीमा पुँजी बजार अध्ययन उपसमितिका संयोजक तथा अर्थ समितिका सदस्य रामकुमारी झाँक्री, अर्थ समितिका सदस्य तथा उपसमितिका सदस्य मेटमणि चौधरी, अर्थ समितिका सदस्य तथा उपसमितिकी सदस्य प्रमिला राई, अर्थसमितिका सचिव सुरेन्द्र अर्याल, अर्थ समिति सचिवालयकी उपसचिव सीता काफ्ले रहेका थिए । धितोपत्रका तर्फबाट बोर्ड अध्यक्ष भीष्मराज ढुुंगाना तथा उच्चपदस्थ कर्मचारीहरु रहेका थिए ।

बोर्डका उपकार्यकारी निर्देशक डा. नवराज अधिकारीले हालको धितोपत्र बजारको अवस्था, बजार बन्द गर्नुपरेको कारणहरु, बोर्डका भावी कार्यक्रम तथा प्राथमिकता आदिका बारेमा प्रस्तुतीकरण गरेका थिए । कार्यक्रममा सांसद मेटमणि चौधरीले धितोपत्रको दोस्रो बजारको अनलाइन कारोबारका लागि प्रयोग हुने प्रविधि र हाल दोस्रो बजार बन्द भएको विषयमा चासो राखेका थिए । यस्तै झाँक्रीले दोस्रो बजारमा हुने सूचना सम्प्रेषण, लगानीकर्ताका संघ/संस्थाको गतिविधिबारे चासो राख्दै लगानीकर्ता संघ तथा आर्थिक पत्रकारलाई आवश्यक परे अन्य नियमन निकायसँग समेत समन्वय गर्दै आचारसहिंता लागू गर्नपर्ने, नेपालको पुँजी बजारलाई भरपर्दो र विश्वसनीय बनाउनुपर्ने, बोर्डको संस्थागत एवं नियमन क्षमता सुदृढ गरी बोर्डलाई सबल र सशक्त नियमन निकायको रुपमा विकास गर्न प्रयास गर्नुपर्ने धारणा राखेका थिए ।

अर्थ समितिका सभापति दाहालले नेपालको वित्तीय प्रणालीमा पुँजी बजार र यसको नियमन निकाय बोर्डको भूमिका अत्यन्त महत्वपूर्ण भएको हुनाले यसको विश्वसनीय एवं दिगो विकासका लागि कटिबद्ध भएर लाग्नुपर्ने धारणा राखे । उनले धितोपत्रको प्राथमिक बजारको विकास उत्साहजनक देखिए पनि दोस्रो बजारको विकास भने सोही गतिमा हुन नसकेको बताए । आगामी दिनमा वास्तविक क्षेत्रका कम्पनीहरुलाई भित्र्याउन पहल गर्नुपर्ने, सार्क क्षेत्रका अन्य देशमा जस्तै नेपालको धितोपत्र बजारमा पनि विदेशी रणनीतिक साझेदार भित्र्याई बजारको स्तर अभिवृद्धि गर्नुपर्ने, पुँजी बजारलाई अन्तर्राष्ट्रिय बजारसँग आबद्ध गराउनुपर्ने, वस्तु विनिमय बजारसम्बन्धी पूर्वाधारको विकास गर्नका लागि मार्गनिर्देश गरे ।

साथै उनले बजारको विकासका लागि सम्बन्धित निकायहरुको भूमिका समन्वयकारी हुनुपर्नेमा जोड दिए । उनले बोर्डको संस्थागत क्षमता अभिवृद्धि र धितोपत्र नियमन तथा बोर्ड सञ्चालनसम्बन्धी कानुनी अपर्याप्तता हटाई यसलाई सुदृढ गर्नका लागि समितिले पर्याप्त भूमिका निर्वाह गर्ने आश्वासन समेत दिएका छन् ।

बोर्डका कार्यकारी निर्देशक निरज गिरीले पुँजी बजारको विकासका लागि बोर्डले विगतमा विभिन्न उल्लेखनीय कार्यहरु गर्दै आएको र लकडाउन अवधिमा दोस्रो बजार सञ्चालनका लागि ईडीएसको व्यवस्था तथा ब्रोकरले पुँजीगत लाभ कर म्यानुअली सिस्टममा भर्नुपर्ने व्यवस्थाको अन्त्य गर्नुका साथै बजार सञ्चालन लगायका कार्यका लागि नेप्से, सीडीएससीलगायतका संस्थालाई आवश्यक तयारी गर्न निर्देशन दिएको बताए ।

कार्यक्रममा धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाले हाल दोस्रो बजार सञ्चालनमा रहेका व्यवधानहरुको चर्चा गर्दै केहीको समस्या समाधान भएको र केही समाधानको क्रममा रहेको जानकारी दिए । उनले पुँजी बजार संवेदनशील बजार भएको र यसको सम्बन्ध वित्तीय प्रणालीको अन्य क्षेत्रसँग पनि भएकोले सम्बन्धित निकायहरुमा समस्या समाधानका लागि अनुरोध गरेको बताए । उनले पुँजी बजारको दिगो विकासको लागि बोर्ड, नेप्से, सीडीएससीको संरचनात्मक सुधार गर्नुपर्ने, नेप्सेमा विदेशी रणनीतिक साझेदार भित्र्याउनुपर्ने, धितोपत्र बजार सञ्चालन र बोर्ड सञ्चालनका लागि छुट्टाछुट्टै ऐन तर्जुमा गर्नुपर्ने आवश्यकता रहेको बताए ।

उनले विदेशी पुँजी परिचालन गर्न र देशमा उद्यमशीलता तथा नवप्रवर्तनलाई पवर्द्र्धन गर्न बोर्डले छिट्टै प्राइभेट इक्विटी तथा भेञ्चर क्यापिटल सञ्चालनका लागि कोष व्यवस्थापकलाई अनुमति दिनुका साथै वस्तु विनिमय बजारको पूर्वाधार विकासका लागि बोर्डले छिटै प्रक्रिया अगाडि बढाउने बताए । कार्यक्रममा सहभागी सबैलाई बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानाले धन्यवाद ज्ञापन गरेका थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया