Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारस्टकमा थपियो ८१ अर्ब ५५ करोड रुपैयाँको सेयर

स्टकमा थपियो ८१ अर्ब ५५ करोड रुपैयाँको सेयर


सुरेश राउत
काठमाडौं, असार ११
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा ८१ अर्ब रुपैयाँभन्दा बढीको सेयर थप भएको छ । चालू आर्थिक वर्षको पछिल्लो १० महिनामा सबै किसिमका गरी ८१ अर्ब ४५ करोड रुपैयाँको सेयर सूचीकरण भएको छ ।

नेपाल राष्ट्र बैंकको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनअनुसार यस अवधिमा २६ अर्ब २५ करोडबराबरको बोनस सेयर, २१ अर्ब ४६ करोडबराबरको डिबेन्चर, १२ अर्ब १६ करोडबराबरको साधारण सेयर, पाँच अर्ब ७५ करोडबराबरको म्युचुअल फण्ड, चार अर्ब ११ करोडबराबरको हकप्रद सेयर र ११ अर्ब ८३ करोडबराबरको अन्य गरी कुल ८१ अर्ब ५५ करोडबराबरको थप सेयर सूचीकृत भएको हो ।

चालू आवको १० महिनामा बोर्डले २१ अर्ब ४५ करोडबराबरको डिबेन्चर, चार अर्र्ब ४१ करोडबराबरको हकप्रद सेयर, तीन अर्र्ब २३ करोडबराबरको साधारण सेयर र एक अर्ब ८० करोडबराबरको म्युचुअल फण्ड गरी ३० अर्ब ८९ करोडबराबरको धितोपत्र निष्काशन गर्न अनुमति दिएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।

कोभिड–१९ संक्रमण नियन्त्रणका लागि अवलम्बन गरिएका उपायहरुका कारण नेपाल स्टक एक्सचेन्जको कारोबार २०७६ चैत १० गतेयता बन्द रहेकोमा २०७७ वैशाख ३० र ३१ मा खुला गरिएको थियो । सोही आधारमा २०७६ वैशाख मसान्तमा १३ सय १५ दशमलव पाँच विन्दु रहेको नेप्से सूचकांक २०७७ वैशाखमा १२ सय एक दशमलव छ विन्दुुमा कायम भएको छ ।

२०७६ असार मसान्तमा यस्तो सूचकांक १२ सय ५९ रहेको थियो । २०७७ वैशाख मसान्तमा धितोपत्र बजार पुँजीकरण १५ खर्ब ३६ अर्ब ४२ करोड कायम भएको छ । २०७६ असार मसान्तमा बजार पुँजीकरण १५ खर्ब ६७ अर्ब ५० करोड रुपैयाँ रहेको थियो ।

विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को रोकथाम तथा संक्रमण नियन्त्रणको लागि सरकारले चैत ११ गतेदेखि लकडाउन घोषणा गरेसँगै सेयर बजार पनि प्रभावित भएको छ । सोही कारण पनि सूचीकृत कम्पनीहरुको बजार पुँजीकरण पछिल्लो समय घटेको हो ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या दुुई सय १२ रहेको छ । सूचीकृत कम्पनीहरूमध्ये एक सय ४८ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ३३ जलविद्युत् कम्पनी, १९ उत्पादन र प्रशोधन उद्योग, चार/चार वटा होटल तथा व्यापारिक संस्था र चार अन्य समूहका रहेका छन् ।

राष्ट्र बैंकका अनुसार २०७६ असारमा सूचीकृत कम्पनीहरूको संख्या दुुई सय १५ रहेको थियो । सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ८० दशमलव एक प्रतिशत रहेको छ ।

त्यसैगरी जलविद्युत् कम्पनीको हिस्सा पाँच दशमलव नौ प्रतिशत, उत्पादन र प्रशोधन उद्योगको हिस्सा तीन दशमलव आठ प्रतिशत, होटेलको हिस्सा एक दशमलव तीन प्रतिशत, व्यापारिक संस्थाको हिस्सा शून्य दशमलव तीन प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा आठ दशमलव छ प्रतिशत रहेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०७७ वैशाखसम्ममा सूचीकृत चार अर्ब ७० करोड सेयरको चुक्ता मूल्य चार खर्ब ६० अर्ब ६१ करोड रुपैयाँ रहेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया