Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारविदेशी मुद्राको कारोबार गर्न इजाजत नै नभएको क्यासिनो प्यालेसले अवैध क्रिप्टोमार्फत भुक्तानी गरेको आशंका

विदेशी मुद्राको कारोबार गर्न इजाजत नै नभएको क्यासिनो प्यालेसले अवैध क्रिप्टोमार्फत भुक्तानी गरेको आशंका


कानुनमा नै नभएको अनलाइन जुवा खेलाउन अनुमति पाएको दरबारमार्गस्थित होटल अन्नपूर्णमा सञ्चालित क्यासिनो प्यालेसको विदेशी मुद्रा कारोबारको अनुमति चार वर्षअघि नै रद्द भएको पाइएको छ ।
एटलान्टिक रिक्रियसन प्रालिको नाममा विनय शाहले सञ्चालन गरेको क्यासिनो प्यालेसले व्यवसाय सञ्चालन गर्न लिनुपर्ने विदेशी मुद्रा सटहीको इजाजत पत्र २०७७ को साउनमा नै रद्द भएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंक स्रोतका अनुसार क्यासिनो सञ्चालन गर्न पर्यटन विभागको स्वीकृतिपछि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको सटही गर्न इजाजतपत्र दिने गर्दछ तर होटल अन्नपूर्णमा सञ्चालित क्यासिनो प्यालेसले पर्यटन विभागको क्यासिनो सञ्चालन गर्न पाउने अनुमतिपत्र सन् २०२० जुलाई १४ सम्मको मात्र बुझाएको र त्यसपछिको नदिएकोले राष्ट्र बैंकले विदेशी मुद्राको सटही इजाजतपत्र सोही मितिदेखि लागू हुनेगरी खारेज गरेको थियो ।

क्यासिनो सञ्चालन गर्ने अनुमति नै नलिएको अवस्थामा त्यसपछि कहिले लियो र विदेशी मुद्रा सटही कहाँबाट कसरी ग¥यो भन्ने जानकारी नेपाल राष्ट्र बैंकलाई नभएको राष्ट्र बैंक स्रोतले बतायो । स्रोतका अनुसार विदेशी मुद्राको कारोबार गर्न इजाजत नलिएर क्यासिनो प्यालेसले अवैध क्रिप्टोमार्फत भुक्तानी गर्नेगरेको थियो । अवैध क्रिप्टोको कारोबार गर्नकै लागि पर्यटन विभाग र मन्त्रालयसँग सेटिङ मिलाएर कानुनविपरीत अनलाइन क्यासिनोको अनुमति लिएको समेत स्रोतले दाबी गरेको छ ।

डलरमा मात्र खेल्न पाइने क्यासिनोमा डलर साट्ने इजाजत नै नहुँदा समेत चार वर्षसम्म कसरी डलरको कारोबार भयो र खेल खेलाइयो भन्ने कुरा पर्यटन विभाग र पर्यटन मन्त्रालयले समेत गुपचुप राखेको छ ।
यसअघि अनलाइन जुवा खेलाएको सूचना प्राप्त भएपछि छापा मारेर भारतीय नागरिकहरू गौरव चोपरा, श्रणम पावा, गुलाव सिंहलगायतका व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेर अदालतमा पेस गरेपछि क्यासिनोले बुझाएको अनुमतिपत्रको एसओपीको पृष्ठ १९ मा अनलाइन जुवा खेलाउन पाइने उल्लेख भएको पाइएपछि अदालतले रिहा गरेको थियो ।

अझ रोचक कुरा त के छ भने पाँचतारे होटल बन्द भएको अवस्थामा सोही होटलमा क्यासिनो मात्र सञ्चालन गर्न पाइने परिकल्पना पर्यटन ऐन, २०३५ को दफा ४५च (२) र ४५७, क्यासिनो नियमावली, २०७० नियम ५(१) को देहाय खण्ड (ख)ले नगरेको अवस्थामा समेत निर्बाधरूपमा क्यासिनो चलाउने अनुमति पाएको थियो । पर्यटन ऐन तथा क्यासिनो नियमावलीविपरीत पाँच वर्षदेखि सञ्चालित क्यासिनोले विदेशी मुद्राको कारोबार गर्न लिनुपर्ने इजाजत नलिई विनारोकतोक क्यासिनो सञ्चालन हुनु, कानुनमा नै नभएको अनलाइन क्यासिनो चलाउन अनुमति पाउनुको पछाडि पर्यटन विभागको उच्च नेतृत्वको साथै नेता र पर्यटन मन्त्रालयका कर्मचारीहरुको कुन स्वार्थले प्रेरित थियो भन्ने खुल्न सकेको छैन ।

पर्यटन विभागले गत जेठ ३० गते एट्लान्टिक रिक्रियसन प्रालिले नवीकरणको लागि दिएको निवेदनको जवाफ लेख्दै कानुनले नै परिकल्पना नगरेको बन्द होटलमा क्यासिनो सञ्चालन गर्न इजाजत दिन नसकिने बताएको थियो । विभागले आगामी दिनको लागि सञ्चालन इजाजत बन्द गरे पनि यसअघि दिइएको पर्यटन विभागकै भाषामा अवैध रहेको इजाजत कसले किन दियो भन्ने छानबिन गर्न माग गर्दै केही दिनअगाडि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेसँगै मिलेमतोमा अवैध अनुमति दिने कर्मचारीहरूको छटपटी सुरु भएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x