Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारकोशी प्रदेशविराटनगर भन्सारमा एजेन्टभन्दा उद्योग प्रतिनिधि धेरै

विराटनगर भन्सारमा एजेन्टभन्दा उद्योग प्रतिनिधि धेरै


विराटनगर । विराटनगर भन्सारलाई आफ्नो कार्यक्षेत्र बनाएर भन्सार जाँचपासमा संलग्न एजेन्टभन्दा उद्योगका प्रतिनिधिहरूको संख्या दिनानुदिन बढ्न थालेको पाइएको छ ।

भन्सारमा उद्योगका प्रतिनिधिहरूको संख्यामा वृद्धि हुन थालेपछि उनीहरूलाई पनि कानुनी दायरामा ल्याउनुपर्ने आवाज उठ्न थालेको छ । सोपश्चात विराटनगर भन्सारले गत साउन १७ गते सार्वजनिक सूचना जारी गरी आवश्यक परामर्श सुरु गरेको छ । संघीय सरकारको अर्थ मन्त्रालयअन्तर्गत रहेर देशभरका भन्सार कार्यालयमा उद्योगहरूले आफ्नै उद्योगको भन्सार जाँचपासको सहजीकरण गर्ने उद्देश्यले भन्सार विभागको निर्देशनअनुसार भन्सार प्रतिनिधिका रूपमा काम गर्ने गरी प्रतिनिधि तोकेका थिए । तर पछिल्लो समय उद्योग प्रतिनिधिले आफूले पाएको अधिकारको व्यापक दुरुपयोग गरेको पाइएपछि विराटनगर भन्सारले त्यस्ता प्रतिनिधिहरूले आफ्नो उद्योगबाहेक अन्य व्यवसायीको भन्सारसम्बन्धी कुनै काम नगर्न सचेत गराएको छ ।

सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योगीहरूले आफूले पाएको सुविधाको दुरुपयोग गरी भन्सार प्रतिनिधि तोक्न थालेका छन् । हाल भन्सार कार्यालयमा हुने भन्सार जाँचपाससम्बन्धी काममा अकल्पनीयरूपमा भन्सार राजस्वमाथि नै खेलवाड गर्दै भन्सार जाँचपास हुने गरेको भन्सारस्रोतको दाबी छ । यसले गर्दा विराटनगर भन्सारले उद्योगको प्रतिनिधिका रूपमा भन्सारमा आएर विभिन्न व्यवसायीको भन्सार पासमा संलग्न हुने प्रतिनिधिलाई कारबाही प्रक्रिया बढाउनु अगाडि सचेत गराएको हो । स्रोतका अनुसार विराटनगर भन्सारमा उद्योग प्रतिनिधिका रूपमा भन्सार प्रतिनिधि व्यापक नियुक्ति हुन थालेपछि विराटनगर भन्सारले कठोर कदम चालेका हो ।

भन्सार एजेन्टभन्दा उद्योग प्रतिनिधि भएर भन्सार जाँचपासमा संलग्न हुँदा उद्योगको टाउकोमा दायित्व जाने भएकाले पनि भन्सार प्रतिनिधिलाई आम्दानीको स्रोत बनाउने राम्रो अवसर भएको बताउन थालिएको छ । विराटनगर भन्सारमा कार्यरत उद्योग प्रतिनिधिहरूले विगतमा सामान्य जीवन यापन गर्दै आएकामा अहिले उनीहरूको जीवनशैली नै विलासीमय बन्दै गएको देखिन थालेको छ । यसले सरोकारवाला निकायलाई विशेषरूपमा चिन्तित बनाउँदै गएको छ । भन्सार विभागको निर्देशनअनुसार नै विराटनगर भन्सारले कठोर कदम चाल्न लागेको दाबी पनि स्रोतले गरेको छ । यसरी छोटो समयमा उद्योगका प्रतिनिधिको जीवनशैली विलासी बन्दै जानुको कारण अनुसन्धान गरी सरोकारवाला निकायबाट कानुनी दायरामा ल्याउने प्रयास सुरु गरिएको बताइएको छ ।


क्याटेगोरी : समाचार, कोशी प्रदेश
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x