एभरेष्ट प्यारेन्टेरल्सको लापरबाही प्यारासिटामोल र सिप्रोफ्लोक्सासिन ड्रपमा ब्याक्टेरिया भेटियो
वीरगञ्ज पथलैयास्थित औद्योगिक कोरिडोरमा रहेको एभरेष्ट प्यारेन्टेरल्स प्रालिले उत्पादन गरेको प्यारासिटामोल इन्फ्युजन र सिप्रोफ्लोक्सासिन ड्रपमा मानव स्वास्थ्यका लागि प्रतिकूल ब्याक्टेरियासहितको फङ्गल भेटिएको छ । विश्वव्यापीरूपमा कोभिड महामारीका समयमा मुलुकमा कोभिड १९ को भाइरस परीक्षणका लागि भीटीएम किट उत्पादन सुरु गरेर चर्चामा आएको एभरेष्ट प्यारेन्टेरल्स प्रालिको उत्पादन प्यारासिटामोल इन्फ्युजन र सिप्रोफ्लोक्सासिन ड्रपमा ब्याक्टेरियासहितको फङ्गल भेटिएको हो ।
सन् २०२३ मा उत्पादन भएको र २०२५ अक्टोवरमा एक्सपायरी हुने ब्याच नम्बर सीटीएल ०२१ को प्यारासिटामोल इन्फ्युजन र २०२४ मा उत्पादन भएको र जनवरी २०२६ मा म्याद सकिने ईसीई २२१ ब्याच नम्बर रहेको सिप्रोफ्लोक्सासिन ड्रपमा ब्याक्टेरियासहितको फङ्गल भेटिएसँगै अन्य औषधि बिक्रेताको साथै चिकित्सकहरू समेत तरङ्गित भएका छन् । नेपाली औषधि बजारमा दुई अर्बभन्दा बढी लगानीमा अत्याधुनिक प्रयोगशाला, उच्च प्रविधिको रिसर्चसहित दर्जनौँ गुणस्तरीय उत्पादनहरू बजारमा बिक्री–वितरण गर्दै आएको दाबी गर्ने एभरेष्ट प्यारेन्टेरल्सले उत्पादन गरेको औषधिमा मानव स्वास्थ्यमा असर गर्ने ब्याक्टेरिया भेटिएसँगै यस कम्पनीले उत्पादन तथा बिक्री गरिरहेको अन्य औषधिहरूको विषयमा समेत प्रश्न उठेको छ ।
मानव अङ्ग आँखामा प्रयोग हुने सिप्रोफ्लोक्सासिन ड्रप र सामान्य जरो रुघाखोकी टाउको दुखेको समयमा प्रयोग गरिने प्यारासिटामोल इन्फ्युजनमा नै यस्तो लापरबाही भेटिएपछि यस कम्पनीले उत्पादन गरेको अन्य औषधिहरूलाई समेत बजारबाट फिर्ता ल्याएर पुनः परीक्षण गर्न दबाब बढेको छ । स्रोतका अनुसार एभरेष्ट प्यारेन्टेरल्सको उक्त उत्पादन लुम्बिनी प्रादेशिक अस्पताल, सुदूरपश्चिम प्रादेशिक अस्पतालका बिरामीलाई प्रयोग गर्ने क्रममा भेटिएको हो भने काठमाडौंमा औषधि बजार र अस्पताल फार्मेसीमा यस कम्पनी बिक्री गरेको सो ब्याचका औषधिहरू ब्यारेक्टियासहितको फङ्गल्स भएका औषधि फेला परेसँगै एभरेष्ट प्यारेन्टेरल्सको बदमासी खुलेको हो ।
महेश राणासरिया सञ्चालनक र उमङ्ग राणासरिया प्रबन्ध निर्देशक रहेको एभरेष्ट प्यारेन्टेरल्स प्रालिले उत्पादन गर्नेगरेको अर्थोपेडिक, सर्जरी, गाइनो, युरोलोजी, क्रिटिकल केयरका लाइफ सेभिङ ड्रग्स सलाइनलगायत प्राय सबै किसिमका औषधिहरूमा केही न केही कैफियत हुनेगरेको स्रोतले दाबी गरेको छ । स्रोतका अनुसार केही समयअघि यस कम्पनीको उत्पादन स्लाइन प्रयोग गर्दा बिरामीको मृत्य समेत भएको थियो तर यो प्रकरणलाई आर्थिक लेनदेनसहित कम्पनी व्यवस्थापनले गुपचुप राखेको दाबी गरिएको छ । स्रोतका अनुसार कम्पनीको उत्पादन रहेको स्लाइन मानवस्वास्थ्य प्रतिकूल र गुणस्तरहीन देखिएसँगै औषधि व्यवस्था विभागले नयाँ उत्पादनमा रोक लगाएको छ । त्यस्तै पछिल्लो समय प्यारासिटामोल इन्फ्युजन र सिप्रोफ्लोक्सासिन ड्रपमा ब्याक्टेरियासहितको फङ्गल भेटिएपछि अस्पताल, उपभोक्ता, औषधि व्यवस्था विभागका शाखा कार्यालय विराटनगर, वीरगञ्ज र औषधिका थोक बिक्रेताको गुनासो र उजुरीपछि कारबाहीका लागि आवश्यक सिफारिससहित केन्द्रीय विभागमा पत्राचार भएको थाहा भएको छ ।
नेपालको सबैभन्दा ठूलो इन्जेक्सन उत्पादन गर्ने औषधि उत्पादक एभरेष्ट प्यारेन्टेरल्सको उत्पादन गुणस्तरहीन भएको जिकिरसहित विभागमातहतकै शाखाबाटै पत्राचार भएपछि केन्द्रीय औषधि व्यवस्था विभागले प्यारासिटामोल इन्फ्युजन र सिप्रोफ्लोक्सासिन ड्रपमा देखिएको ब्याक्टेरियासहितको फङ्गलको छानबिनको लागि विभागका आठौँ तहका कर्मचारी राजेश श्रेष्ठको संयोजकत्वमा समिति गठन गर्दै समितिको रिपोर्ट नआएसम्मका लागि कम्पनीको थप औषधि दर्ता गर्न रोक लगाएको छ ।
विभागले एभरेष्ट प्यारेन्टेरल्सको उत्पादनमा भेटिएको कैफियत र गुणस्तरताको छानबिनको लागि समिति गठन गरे पनि बजारमा रहेको मानव स्वास्थ्य प्रतिकूलका गुणस्तरहीन औषधिका विषयमा रिकल गर्दै उपभोक्तालाई सजग गराउनुपर्ने आफ्नो दायित्वबाट विभाग विमुख हुनुले विभागको कामकारबाही आफैँमा संशयको घेरामा परेको छ । यस विषयमा हामीले विभागले गठन गरेको समितिका संयोजक राजेश श्रेष्ठसँग टेलिफोन सम्पर्क गर्दा उनले एभरेष्ट प्यारेन्टेरल्सका उत्पादनको विषयमा विभागीय मेलमा प्राप्त उजुरीअनुसार वास्तविकता बुझ्नका लागि बजारबाट कैफियतपूर्ण भनिएका औषधिका स्याम्पल उठाएर आजभन्दा करिब दुई साताअघि ल्याब टेस्टका लागि ल्याबमा पठाएको र त्यसको रिपोर्ट आउन बाँकी रहेको बताए ।
नेपाली उत्पादन हो भन्दैमा बिरामीको स्वास्थ्यसँगै सम्झौता गर्दै गुणस्तरहीन औषधिको प्रयोग गर्न नसकिने, बिरामीमा उल्टो रियाक्सन देखिने र उपचारका लागि आएका बिरामीको अवस्था थप जटिल हुनेगरेका कारण कम्पनीबाट उत्पादित कुनै पनि औषधिलाई थप गुणस्तरयुक्त बनाउनुपर्ने चिकित्सकहरूले बताउन थालेका छन् । लुम्बिनी प्रादेशिक अस्पताल स्रोतका अनुसार एभरेष्टले उत्पादन गरेको एट्रोपीन इन्जेक्सन (विष सेवन गरेको बिरामीमा विषको प्रभावलाई निष्क्रिय पार्ने औषधि) १०० एम्पुल प्रयोग गर्दा पनि औषधिले काम नगरेर बिरामीको स्वास्थ्यमा सुधार नआएपछि अर्को उत्पादकको सोही औषधिको प्रयोगपछि बिरामीको स्वास्थ्यमा सुधार आएपछि एभरेष्ट कम्पनीका बजार प्रतीनिधिलाई यसबारेमा जानकारी गराइएको थियो । त्यस्तै विभागीय महानिर्देशक नारायण प्रसाद ढकालले औषधिको गुणस्तर परीक्षणका लागि स्याम्पल राष्ट्रिय चिकित्सा प्रयोगशालामा पठाएको लामो समय भइसक्दा पनि कुनै रिपोर्ट नआएका कारण यथार्थ बुझ्न गाह्रो भएको मात्र नभई कारबाहीको प्रक्रिया समेत अघि बढाउन नसकेको बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- दहचोकस्थित इन्द्रदहमा स्नान तथा मेला भर्न भक्तजनको घुइँचो
- जोमसोमको ऐतिहासिक काठेपुल सौन्दर्यकरण गरिँदै
- २५ सय ७६ बिन्दुमा खुम्चियो शेयर बजार
- ‘संविधानलाई प्रभावकारी बनाउन आपसी सहकार्य र समन्वय आवश्यक छ’
- बुद्ध एयरले भारतको वाराणसीमा उडान थप्यो
- ट्याक्टर सेती नदीमा खस्दा दुई जना बेपत्ता
- शिक्षा क्षेत्रको पछ्यौटेपन हटाउन सरकार लागिपरेको छ: प्रधानमन्त्री
- दिल्लीका मुख्यमन्त्री केजरीवालद्वारा पदबाट राजीनामा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया