Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगबिम्स्टेक राष्ट्रका निजी क्षेत्रका लगानीकर्तालाई नेपालमा लगानी बढाउन आग्रह

बिम्स्टेक राष्ट्रका निजी क्षेत्रका लगानीकर्तालाई नेपालमा लगानी बढाउन आग्रह


काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) राष्ट्रका निजी क्षेत्रका प्रतिनिधिहरूलाई नेपालमा लगानी बढाउन आग्रह गरेका छन् ।

कन्फेडेरेसन अफ इन्डियन इन्डष्ट्रिजले विदेश मन्त्रालयसँगको सहकार्यमा भारतको नयाँदिल्लीमा आयोजना गरेको मन्त्रीस्तरीय बिम्स्टेकको व्यापार शिखर सम्मेलनलाई सम्बोधन गदै मन्त्री भण्डारीले क्षेत्रीय मूल्य शृङ्खला र व्यापारमा नेपालको एकीकरणलाई सहयोग पुर्याउन तथा सहयोग बढाउन आग्रह गरेका हुन् । उनले यो फोरम क्षेत्रभित्र व्यापार, लगानी, पर्यटन र ‘कनेक्टिभिटी’जस्ता क्षेत्रमा नेटवर्किङ र व्यापार सहयोग सुधार गर्नुपर्नेमा जोड दिएका थिए । व्यापार, लगानी, दिगो कृषि अभ्यास, कनेक्टिभिटी, ऊर्जा र वातावरणीय सुरक्षा तथा जलवायु परिवर्तनका लागि अनुकूलन र न्यूनीकरण रणनीतिमा सुधारिएको सहयोगलाई प्राथमिकता दिनुपर्ने उनले बताए । सुदृढ क्षेत्रीय सहयोगले अर्थतन्त्रको पूर्ण क्षमतालाई केही सुधार गर्न, थोरै रोजगारी सिर्जना गर्न र जनताको जीवनस्तरमा सुधार ल्याउन मद्दत गर्नसक्ने उनको भनाइ थियो ।

नेपाल प्रचुर प्राकृतिक स्रोत, लाभदायक स्थान, विविध सांस्कृतिक सम्पदा, अनुकूल जलवायु र बढ्दो प्रतिस्पर्धात्मक मानवपुँजीले सम्पन्न रहेको उल्लेख गर्दै उनले यी सबै कारणले नेपालमा लगानी र व्यापारका लागि अवसर रहेको बताए । उनले नेपाल सरकारले आफ्ना छिमेकी र बाहिरका मुलुकसँग व्यापार, लगानी र सम्पर्क प्रवर्द्धन गर्न निरन्तर नीतिगत सुधार गरेको उल्लेख गरे । हालै काठमाडौंमा सम्पन्न तेस्रो लगानी सम्मेलनअघि लगानी र व्यवसायसँग सम्बन्धित प्रक्रिया पनि सुव्यवस्थित र सरलीकृत गरिएको उनले जानकारी गराएका थिए ।

यो बिम्स्टेक व्यापार शिखर सम्मेलनले बजार पहुँच, मूल्य शृङ्खला एकीकरण, निजी क्षेत्रको वृद्धि र सार्वजनिक–निजी साझेदारीमा वृद्धि गर्नका लागि ठोस नतिजा प्रदान गर्ने मन्त्री भण्डारीले उल्लेख गरे । भू–परिवेष्ठित देशका रूपमा नेपालले विभिन्न समस्याको सामना गरिरहेको उल्लेख गर्दै उनले मूलतः वैदेशिक व्यापारमा नेपालजस्तो भूपरिवेष्ठित देशको पारवहन अधिकारका लागि छिमेकी तथा अन्य मित्र राष्ट्रहरूले निरन्तर सहयोग र ऐक्यबद्धता देखाएको बताए । साना र भूपरिवेष्ठित अर्थतन्त्रका लागि बिम्स्टेकले विशेष ध्यान दिनेमा आफूहरू आशावादी रहेको उनको भनाइ थियो ।

बङ्गालको खाडी क्षेत्रमा दिगो विकास र समृद्धिका हाम्रा साझा लक्ष्य हासिल गर्न बिम्स्टेकभित्र उत्पादनशील, जनकेन्द्रित र कार्यमुखी सहकार्यका लागि नेपाल सरकारका तर्फबाट मन्त्री भण्डारीले प्रतिबद्धता जनाए । उनले भने, ‘हामीले बिम्स्टेक क्षेत्रको परिकल्पना गरेका छौँ, जुन आर्थिकरूपमा उन्नत, भौतिकरूपमा एकीकृत, प्राविधिकरूपमा नवप्रवर्तनशील, पारिस्थितिकरूपमा लचिलो र विविधताका लागि सामाजिक–सांस्कृतिकरूपमा खुला छ ।’


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x