Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनिर्माण क्षेत्रमा लगानी गर्न कोही आएनन्

निर्माण क्षेत्रमा लगानी गर्न कोही आएनन्


काठमाडौं, मंसिर २९
नेपालको उद्योग क्षेत्रमा लगानीकर्ताबाट आउने लगानी प्रतिबद्धतामा कमी आएको छ । उद्योग विभागका अनुसार चालू आर्थिक वर्ष (२०७६/०७७) को पाँच महिना साउनदेखि मंसिर २८ गतेसम्म उद्योग क्षेत्रमा आउने लगानी प्रतिबद्धतामा कमी आएको हो । सोही कारण उद्योगको संख्या र रोजगारी प्रतिबद्धतामा समेत कमी आएको छ ।

चालू आवको पाँच महिनाको अवधिमा लगानीकर्ता तथा व्यवसायीहरुमार्फत उद्योग क्षेत्रमा ८४ अर्ब ६८ करोड १९ लाख रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । उनीहरुले एक सय ६२ उद्योग स्थापना गर्न उक्त लगानी प्रतिबद्धता जनाएका हुन् । सो अनुसार लगानी आए दश हजार सात सय ९२ जनाले रोजगारी पाउनेछन् । जुन गत आव २०७५/०७६ को सोही समयमा व्यवसायीहरुले जनाएको लगानी प्रतिबद्धताभन्दा १५ अर्ब तीन करोड ६१ लाखले कमी हो । समीक्षा अवधिमा ८१ वटा उद्योग तथा एक हजार आठ सय ५६ जनालाई दिइने रोजगारी समेत कम हो । गत आवको तुलनामा यस आवको सोही समयमा कृषि, ऊर्जा र उत्पादनमा लगानी प्रतिबद्धता घट्दा सूचना र पर्यटनमा लगानी प्रतिबद्धता बढेको छ भने निर्माण क्षेत्रमा कुनै पनि लगानी प्रतिबद्धता आएको छैन ।

विभागका अनुसार व्यवसायीहरुले गत आवको सोही समयमा ९९ अर्ब ७१ करोड ८० लाख लगानी प्रतिबद्धता जनाएका थिए । दुई सय ४३ वटा उद्योग स्थापना गर्ने भन्दै सो लगानी प्रतिबद्धता जनाएका थिए । उक्त अवधिमा १२ हजार छ सय ४८ जनालाई रोजगारी प्रतिबद्धता आएको थियो ।

चालू आवको पाँच महिनामा व्यवसायीहरुले कृषि तथा वन पैदावरमा सातवटा उद्योग स्थापना गर्ने भन्दै ७४ करोड १४ लाख, ऊर्जामा २२ वटा उद्योग स्थापना गर्न ४९ अर्ब ९५ करोड ९९ लाख, सूचना तथा सञ्चार प्रविधिमा ११ वटा उद्योग स्थापना गर्न दुई अर्ब ४५ करोड, ३० वटा उत्पादनमूलक उद्योग स्थापना गर्न ११ अर्ब ६५ करोड ३३ लाख, २६ वटा सेवामूलक उद्योग स्थापना गर्न चार अर्ब ४९ करोड १० लाख र ६६ वटा पर्यटनमूलक उद्योग स्थापना गर्न १५ अर्ब ३८ करोड ६२ लाख लगानी प्रतिबद्धता जनाएका छन् ।

प्रतिबद्धताअनुसार काम भए कृषि तथा वन पैदावर उद्योगतर्फ दुई सय ९२ जना, ऊर्जामा आठ सय १९ जना, सूचना तथा सञ्चार प्रविधिमा एक हजार तीन सय ३१ जना, उत्पादनमा दुई हजार चार सय आठ जना, सेवामा दुई हजार चार सय ३३ जना र पर्यटनमा तीन हजार पाँच सय नौ जना गरी कुल १० हजार सात सय ९२ जनाले रोजगारी पाउनेछन् ।

गत आवको सोही समयमा व्यवसायीहरुले १२ वटा कृषि तथा वन पैदावर उद्योग स्थापना गर्न एक अर्ब ३६ करोड ८३ लाख, तीनवटा निर्माण उद्योग स्थापना गर्न एक अर्ब दुई करोड ४० लाख, नौवटा ऊर्जा उद्योगका लागि ५७ अर्ब ७२ करोड ४७ लाख, ११ वटा सूचना तथा सञ्चार प्रविधि उद्योगका लागि ३७ करोड ५९ लाख, ६२ वटा उत्पादन उद्योगमा २९ अर्ब ६ करोड १० लाख, ७२ वटा सेवा उद्योगमा चार अर्ब २४ करोड २५ लाख र ७४ वटा पर्यटन उद्योगमा पाँच अर्ब ९२ करोड १३ लाख लगानी गर्ने प्रतिबद्धता जनाएका थिए  ।

गत आवमा कृषि तथा वन पैदावर उद्योगमा तीन सय ७० जना, निर्माणमा एक सय ५३ जना, ऊर्जामा चार सय ६८ जना, सूचना तथा सञ्चार प्रविधिमा पाँच सय १४ जना, उत्पादनमा छ हजार ९९ जना, सेवामा दुई हजार आठ सय नौ जना र पर्यटनमा दुई हजार दुई सय ३५ जना गरी कुल १२ हजार छ सय ४८ जनालाई रोजगारी दिने प्रतिबद्धता आएको थियो । सरकारले उद्योग क्षेत्रको विकासको लागि पर्याप्त ध्यान नदिँदा लगानी प्रतिबद्धता तथा उद्योगको संख्यामा समेत कमी आएको सरोकारवालाहरु बताँउछन् ।

लगानी प्रतिबद्धता आए पनि रकम नआउने प्रवृत्तिले गर्दा नेपालको उद्योग क्षेत्रमा कुनै ठोस प्रगति हुन सकेको देखिँदैन । उद्योग क्षेत्रको समस्या भनेको उद्योग दर्ता, स्वीकृत लगायतको झन्झटिलो प्रक्रिया तथा पर्याप्त स्रोत साधन नहुनुको साथै भौतिक सुविधाहरु समेत पर्याप्त नहुनु हो । यस्तै स्थानीय तह र स्थानीयहरुले समेत उद्योग स्थापनाको लागि असहज वातावरण बनाइदिने गरेको उद्योगीहरुको आरोप छ । विभागका अनुसार नेपालको उद्योग क्षेत्रमा सबैभन्दा लगानी गर्नेमा दुई छिमेकी मुलुक चीन र भारतका लगानीकर्ताहरु छन् । यद्यपि नेपालको उद्योग क्षेत्रमा एसिया, युरोपका साथै केही मात्रामा अफ्रिकाबाट समेत लगानी प्रतिबद्धता आएको पाइन्छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया