ईसेवामा देखिएको समस्या के हो, डिजिटल भुक्तानीका माध्यम कति सुरक्षित छन ?
काठमाडौं,नेपालको अनलाइन भुक्तानी गर्ने एउटा गेटवे ‘ईसेवा’को एपलाई यसै साता दुई दिनसम्म गुगल प्लेस्टोरबाट हटाइएपछि नेपालमा सञ्चालित यस्ता विद्युतीय भुक्तानी माध्यमको सुरक्षाबारे कैयौँ प्रयोगकर्ताले प्रश्न उठाएका छन्।
ईसेवाले भने व्यावसायिक एपबारे गुगलको नयाँ निर्देशिकानुसार आफ्नो कम्पनीले गुगललाई बुझाएका कागजपत्र र तेस्रो पक्षले गुगललाई उपलब्ध गराएका दस्तावेजमा कम्पनीको नाम फरक देखिएका आधारमा प्लेस्टोरले ईसेवाको एपलाई हटाइदिएको बताएको छ।
सुरक्षा वा गोपनीयतासम्बन्धी कुनै पनि कारणले नभई कागपत्र प्रमाणीकरणका क्रममा फरक पर्न जाँदा त्यस्तो भएको उसको दाबी छ।यद्यपि सामाजिक सञ्जालमा कैयौँ प्रयोगकर्ताहरूले “सुरक्षाका कारण एप हटाइएको हुन सक्ने” आशङ्का व्यक्त गरेका थिए। कतिपयले ईसेवा प्रयोग नगर्न तथा त्यसमा रहेको नगदलाई अन्यत्र सार्ने सुझाव पनि दिएका थिए।अहिले ईसेवाको एप प्लेस्टोरमा उपलब्ध भइसकेको छ।
नेपाल राष्ट्र ब्याङ्कले उक्त घटनालाई गम्भीरतापूर्वक लिएको र त्यसबारे थप बुझेर आवश्यक काम गर्ने जनाएको छ।
बीबीसीले नेपालमा ८० लाखभन्दा बढी प्रयोगकर्ता भएको भनिएको उक्त एपलाई प्लेस्टोरबाट हटाइनुको कारणसँग सम्बन्धित प्रश्नहरू सोधेर गुगललाई पठाएको इमेलको उत्तर भने हालसम्म प्राप्त गरेको छैन।
साइबर सुरक्षाविज्ञहरू ईसेवाले भने जस्तै कागजपत्र प्रमाणीकरणका कारण यस्तो समस्या देखिएको हो भने पनि त्यस्तो अवस्था आउन नदिन भुक्तानी सेवा दिने कम्पनीहरू चनाखो हुनुपर्ने सुझाव दिन्छन्।ईसेवामा देखा परेको समस्यागत सोमवार बेलुका गुगल प्लेस्टोरबाट हराएको ईसेवा एप बुधवार रातिदेखि मात्र उपलब्ध भएको थियो।
ईसेवाले पनि मङ्गलवार बिहान आफ्नो आधिकारिक फेसबुक पेजमार्फत् त्यसबारे जानकारी दिएको थियो।
“ईसेवा प्रालि, ईसेवा लिमिटेडमा परिणत भएसँगै उक्त विवरण गुगल प्लेस्टोर र डीयूएनएस (डेटा यूनिभर्सल नम्बरिङ सिस्टम)मा अप्डेट गर्ने क्रममा रहेको छ,” त्यसमा भनिएको थियो।”त्यसै कारण ईसेवा एप अस्थायी रूपमा प्लेस्टोरमा उपलब्ध नभएको तथा अहिले डाउनलोड भइसकेका ईसेवा एपहरूमा केही असर नपर्ने व्यहोरा यही सूचनामार्फत् जानकारी गराउन चाहन्छौँ।”
उक्त सूचना आए पनि सामाजिक सञ्जालमा धेरै प्रयोगकर्ताले ईसेवाको सुरक्षा प्रणालीलाई लिएर प्रश्न उठाए।
पत्रकार गजेन्द्र बुढाथोकीले सामाजिक सञ्जाल ‘एक्स’मा लेखेका थिए, “चाहे जेसुकै कारण देखाए पनि एक वर्ष नबित्दै किन गुगलले दोस्रो पटक प्लेस्टोरबाट हटायो भन्ने प्रश्न गम्भीर छ। यसअघि २०८० असोजमा पनि प्लेस्टोरबाट हटेको थियो।”कतिपयले साइबर सुरक्षासँग यो घटनालाई जोडे पनि त्यस्तो नभएको ईसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले बताए।
उनले भने, “गुगलको अहिलेको नियमानुसार हामीले प्लेस्टोरका लागि अप्लोड गरेका कागजातहरूको भेरिफिकेशन तेस्रो पक्षले पनि गरेको हुनुपर्ने हुन्छ।”
“गुगलले त्यस्तो भेरिफिकेशनका लागि डीयूएनएस (डेटा यूनिभर्सल नम्बरिङ सिस्टम) नम्बर प्रयोग गर्छ। त्यसका लागि डुन एन्ड ब्र्याडस्ट्रीट कम्पनीले आफैँले रिसर्च गरेर हाम्रो कम्पनीको विवरण गुगललाई पठाउँछ।””हामीले गुगलमा पेस गरेको र डीयूएनएसले पठाएको नाममा केही भिन्नता देखिएपछि प्लेस्टोरले समस्या आएको हो। यो प्रयोगकर्ताको सुरक्षा र गोपनीयतासँग कुनै पनि हिसाबले सम्बन्धित छैन।”
उनले पहिले प्राइभेट लिमिटेड रहेको ईसेवा गत वैशाखदेखि पब्लिक लिमिटेड भएकाले नाममा पनि त्यस्तो फरक पर्न गएको बताए।
गुगललाई त्यो सबै बताएर प्रमाणीकरण भएपछि एप पुन: सञ्चालनमा आएको ईसेवाका अधिकारीहरूको भनाइ छ।
खड्काले आफूहरू प्रयोगकर्ताको डेटा सुरक्षा तथा साइबर सुरक्षामा गम्भीर भएको बताए। “हामीले त्यसका लागि विश्वमा उपलब्ध सबै नयाँ प्रविधिलाई अपनाएका छौँ,” उनले भने, “हामीले सुरक्षामा कहिल्यै पनि सम्झौता गरेका छैनौँ।”राष्ट्र ब्याङ्क के भन्छ
वित्तीय तथा विद्युतीय भुक्तानी सेवाको समेत नियामक रहेको नेपाल राष्ट्र ब्याङ्कका प्रवक्ता रामु पौडेलले यस्ता घटनालाई राष्ट्र ब्याङ्कले गम्भीरतापूर्वक लिने गरेको बताउँछन्।
उनले भने, “पहिले सामान्य सुपरिवेक्षण मात्र गरिन्थ्यो भने अहिले विशेष प्रकारको सुपरिवेक्षण गर्न थालेका छौँ।”
उनले भने, “हाम्रो नियमनभित्र रहेका कम्पनीमा हुने यस्ता घटनामा हामी एकदमै गम्भीर छौँ। यो हाम्रा लागि सिकाइ पनि हो। यसले थप सुधार गर्न पनि बल पुग्छ।”उनले ईसेवाको घटनाबारे पनि राष्ट्र ब्याङ्कले थप बुझेर आवश्यक कार्य अघि बढाउने बताए।
उनले सूचना प्रविधिमा व्यापक र तीव्र विकास भएकाले त्यसको नियमन र सुपरिवेक्षणका लागि पनि त्यसैअनुरूप आफूलाई चुस्त बनाउनुपर्ने चुनौती भने रहेको बताए।
साइबर सुरक्षा सुपरिवेक्षण किन आवश्यकसाइबर सुरक्षाविज्ञ विजय लिम्बु यदि ईसेवाले जारी गरेको सूचना जस्तै अवस्था आएको भए त्यो एप विकासकर्ताका लागि नौलो नभएको बताउँछन्।
यद्यपि त्यसले एप विकास तथा सञ्चालकले आवश्यक कागजपत्र र प्रक्रिया पूरा गर्ने कुरामा “दिनुपर्ने कुरालाई ध्यान नदिएको अवस्था” उजागर गरिदिएको उनको भनाइ छ।
यस्ता कुराले सर्वसाधारण प्रयोगकर्तालाई सुरक्षाबारे चासो हुनु स्वाभाविक भएको उनको भनाइ छ।
“नेपालमा पहिलेको तुलनामा अहिले सबैजना साइबर सुरक्षाप्रति अलि बढी चनाखो भएको र त्यसैअनुसार काम भइरहेको देखिन्छ तर अझै यो पर्याप्त छैन,” उनले भने।
उनी नेपालमा डिजिटल माध्यमबाट हुने कारोबार व्यापक हुँदै गएकाले अब यस्ता सेवा प्रदायकहरूलाई बारम्बार र नयाँ खालका सुरक्षा चुनौती तथा प्रविधि आउने बित्तिकै सतर्क गराउने तथा बाध्यकारी रूपमा नियमहरू पालन गराउने एउटा छुट्टै निकाय आवश्यक भइसकेको बताउँछन्।”त्यस्तो भयो भने नियमित रूपमा ‘सेक्युरिटी अडिट’ हुन्छ र त्यसले सबैलाई सतर्क हुनका लागि अनि समयमै कदम चाल्न बाध्य पार्छ,” उनले भने।
उनले नेपालमा अहिले सञ्चालनमा रहेका डिजिटल भुक्तानी माध्यमहरूले निकै सुरक्षित रहेको तर अझै पनि कतिपय अपनाउनुपर्ने सावधानी अपनाउन नसकिएको बताए।
यद्यपि यस्ता सेवाको सुरक्षाका लागि सञ्चालकहरूले मात्र गर्ने एकदर्फी कामले नहुने उनको भनाइ छ।
“प्रयोगकर्ताले जानेर वा नजानेर यस्ता सेवा प्रयोग गर्दा असावधानी अपनाएकाले ह्याकिङ गरेका घटना पनि छन्, नियामकले नियमहरू पालन गराउन भूमिका नखेल्ने र आफैँ स्रोतसाधन तथा जनशक्तियुक्त नहुने समस्या पनि छ,” उनले भने।
“यी सबै पक्षलाई ध्यान दिएर मात्र हामीले समग्र साइबर सुरक्षाको चुनौतीलाई सामना गर्न सक्छौँ।” (बीबीसी)
क्याटेगोरी : समाचार
ताजा अपडेट
- दहचोकस्थित इन्द्रदहमा स्नान तथा मेला भर्न भक्तजनको घुइँचो
- जोमसोमको ऐतिहासिक काठेपुल सौन्दर्यकरण गरिँदै
- २५ सय ७६ बिन्दुमा खुम्चियो शेयर बजार
- ‘संविधानलाई प्रभावकारी बनाउन आपसी सहकार्य र समन्वय आवश्यक छ’
- बुद्ध एयरले भारतको वाराणसीमा उडान थप्यो
- ट्याक्टर सेती नदीमा खस्दा दुई जना बेपत्ता
- शिक्षा क्षेत्रको पछ्यौटेपन हटाउन सरकार लागिपरेको छ: प्रधानमन्त्री
- दिल्लीका मुख्यमन्त्री केजरीवालद्वारा पदबाट राजीनामा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया