प्रधान सेनापतिको कार्यभार रथी सिग्देललाई
काठमाडौं । प्रधान सेनापति प्रभूराम शर्माले बलाधिकृत रथी अशोकराज सिग्देललाई आफ्नो कार्यभार हस्तान्तरण गरेका छन् । सैनिक मुख्यालय जङ्गीअड्डामा बिहीबार आयोजित विशेष समारोहमा प्रधान सेनापति शर्माले शुक्रबारदेखि सम्हाल्ने गरी वरिष्ठतम् रथी सिग्देललाई प्रधान सेनापतिको कार्यभार बुझबुझारथ गरेका हुन् ।
सैनिक ऐन, २०६३ को दफा ८ को उपदफा (३) अनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबारदेखि लागू हुनेगरी यसअघि नै रथी सिग्देललाई कायममुकायम प्रधान सेनापतिको जिम्मेवारी तोकिसकेका छन् । प्रधान सेनापति शर्मा तीनवर्षे पदावधि आगामी भदौ २४ गते समाप्त भई अनिवार्य अवकाशमा जाँदै छन् । प्रधानसेनापति शर्मा नेपाली सेनाको सहायक सेनानी दर्जामा नेपाली सेनामा प्रवेश गरेका थिए । प्रधान सेनापति अवकाश हुनुअघि एक महिना घर बिदामा बस्ने प्रावधान रहेअनुसार रथी सिग्देलले कामु प्रधान सेनापतिको जिम्मेवारी पाएका हुन् । मुलुकको प्रमुख सुरक्षा सङ्गठन नेपाली सेनाको ४५औँ प्रधान सेनापतिका रूपमा बलाधिकृत रथी सिग्देलले करिब एक महिनापछि जिम्मेवारी सम्हाल्दै छन् ।
कार्यभार बुझबुझारथ समारोहमा प्रधान सेनापति शर्माले नेपाली सेनाको सबै तह र तप्कालाई राम्रो बुझेको, नीति, नियम र पद्धतिबारे गहन बुझाइ राख्ने, व्यावहारिक र व्यावसायिक क्षमता भएका उत्तराधिकारीका रूपमा बलाधिकृत रथी सिग्देललाई कार्यभार बुझाउन पाएको बताए । सो कार्यक्रममा पूर्वप्रधान सेनापतिहरू, रक्षा मन्त्रालयका सचिव, रथीवृन्दलगायत उपस्थित थिए । यस्तै, प्रधान सेनापति शर्माले वीरगति प्राप्त सकल दर्जाको सम्मानमा वीर स्मारक छाउनी र सैनिक मञ्च टुँडिखेलमा श्रद्धाञ्जलीसमेत अर्पण गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
कामु प्रधान सेनापतिको जिम्मेवारी पाएका बलाधिकृत रथी सिग्देलले स्वदेश तथा विदेशबाट व्यावसायिक सैन्य शिक्षा हासिल गरेका छन् । आर्मी कमान्ड एन्ड स्टाफ कलेज शिवपुरी र चीनको नेसनल डिफेन्स युनिभर्सिटीबाट स्नातक उनले आर्मी वार कलेजमा हायर कमान्ड एन्ड म्यानेजमेन्ट कोर्स र भारतबाट डिफेन्स म्यानेजमेन्ट कोर्स पूरा गरेका छन् । साथै, उनले त्रिभुवन विश्वविद्यालय र चीनको राष्ट्रिय रक्षा विश्वविद्यालयबाट रणनीतिक अध्ययनमा स्नातकोत्तर उपाधि हासिल गरेका छन् । सिग्देलले सन् २०२२ मा अमेरिका–नेपाल तेस्रो ल्यान्ड फोर्स वार्ताका लागि नेपाली सेनाको प्रतिनिधिमण्डलको पनि नेतृत्व गरेका थिए । कोरोना महामारीका समयमा कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) को सचिवका रूपमा पनि उनले काम गरेका थिए । उनले सैनिक सङ्गठनभित्र युद्धकार्य, सम्भार विभाग, नीति महानिर्देशक र उपत्यका पृतनाजस्ता महत्वपूर्ण जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरिसकेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 8
ताजा अपडेट
- साझा प्रकाशनमा १५ दिने विशेष पुस्तक प्रदर्शनी
- क्यान्सर उपचार सेवा विस्तारको सम्झौता
- अमेरिकामा इन्ट्रा कप भलिबल, रुकुम र बेलमण्ट विजयी
- लागुऔषध दुर्व्यसनसँग लड्न एकीकृत ढङ्गबाट अघि बढ्नुपर्ने
- अमेरिकाले बंगलादेशलाई दुई सय मिलियन डलर सहयोग दिने
- फिनल्यान्डमा नाटो उपस्थितिको नेतृत्व गर्न स्विडेन इच्छुक
- अमेरिकामा ट्रम्पमाथि हमला गर्ने प्रयास
- बजारमा आइफोन १६को माग अपेक्षाभन्दा कम
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया