Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार‘तारागाउँ रिजेन्सी होटलले गैरकानुनी ढंगले राज्यलाई क्षति पुर्यायो’

‘तारागाउँ रिजेन्सी होटलले गैरकानुनी ढंगले राज्यलाई क्षति पुर्यायो’


काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले बौद्ध टुसालस्थित तारागाउँ रिजेन्सी होटल लिमिटेडले गैरकानुनी ढङ्गले राज्यलाई क्षति पुर्याएको बताएका छन् । प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले तारा गाउँविकास समितिका सम्बन्धमा आयोजित छलफलमा उनले तारागाउँ विकास समितिको एक सय ५० रोपनी जग्गा विवादमा राज्य नै ठगिएको बताएका हुन् । तारागाउँ रिजेन्सी होटलले समितिको जग्गा गैरकानुनी ढंगबाट प्रयोग गरिरहेको पाइएको उनले बताए । यसको विस्तृत अध्ययन गर्नुपर्ने भन्दै उनले गैरकानुनी ढंगले अरू कोही पोसिने र राज्य लुटिने अवस्थाको अन्त्य गर्नुपर्नेमा जोड दिए । यस्तै, उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र मन्त्रालयबीचको तादम्यता नमिल्दा विगतका विभिन्न समितिले दिएका निर्देशन कार्यान्वयन गर्न समस्या भएको जानकारी दिए । यस सम्बन्धमा अख्तियारमा उजुरी परेपछि अख्तियारको निर्देशन र संसदीय समितिको निर्देशनसँग नमिल्दा समस्या भएको बताए ।

समितिले तारागाउँ विकास समितिका सम्बन्धमा देखिएका समस्या एवं समाधानका उपायसहितको कार्ययोजना यथाशीघ्र पेस गर्न सरकारलाई निर्देशन दिएको छ । समितिका नाममा रहेको चलअचल सम्पत्तिको विवरण तथा सम्पत्तिको सञ्चालन तथा सदुपयोग हुनेगरी कार्ययोजना बनाई समितिमा पेस गर्न समितिले निर्देशन दिएको हो । बैठकमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समितिअन्तर्गत सञ्चालन भएका सम्पूर्ण होटल तथा रिसोर्टको यथास्थितिबारे जानकारी गराउन माग गरेका थिए । ‘तारागाउँ विकास समितिका सम्बन्धमा विगतदेखि नै ठूलो विवाद भइआएको छ । सरकारले विवादको दीर्घकालीन समाधानसहित स्पष्ट दृष्टिकोण बनाउन आवश्यक छ’, उनले भने, ‘समिति र अख्तियारबीच सो सम्बन्धमा फरक धारणा भए पनि सरकारले टुङ्गोमा पुर्याउने गरी काम गर्नुपर्छ ।’

समितिका सदस्य नारायणप्रकाश साउदले समस्या समाधान हुने गरी काम अगाडि बढाउन सुझाव दिएका थिए । सातै समस्या समाधान गर्नेगरी कार्ययोजना ल्याउन आवश्यक रहेको उनले बताए । अर्का सदस्य भीमप्रसाद आचार्यले तारागाउँ विकास समितिका नाममा भएको जग्गा हड्प्ने कार्य भएको देखिएको उल्लेख गरे । तारागाउँ विकास समितिका अध्यक्ष सुरेश जोशीले समस्या समाधान समिति एक्लैले गर्न नसक्ने उल्लेख गर्दै सरकारको साथ आवश्यक भएको बताए । बैठकमा तारागाउँ रिजेन्सी होटल लिमिटेडमा तारागाउँ विकास समितिको सेयर संरचना, लगानी र प्रतिफल, विभिन्न समयमा गठित समितिका सुझावका विषयमा सांसदहरूले छलफल गरेका थिए । समिति सभापति राजकिशोर यादवका अनुसार मन्त्रालयले विस्तृत अध्ययन गरेर कार्ययोजना पेश गरेपछि समितिमा थप छलफल हुनेछ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x