Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारराज्यको सर्वाङ्गिण विकासमा युवाहरूको विशेष योगदान छ: राष्ट्रपति

राज्यको सर्वाङ्गिण विकासमा युवाहरूको विशेष योगदान छ: राष्ट्रपति


काठमाडौं । राजधानीमा सोमवार अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आयोजित युवा सम्मेलन, २०२४ लाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले राज्यको सर्वाङ्गिण विकासमा युवाहरूको विशेष योगदानका लागि उपयुक्त अवसर प्रदान गर्ने नीति आवश्यक रहेको बताएका छन् ।

राष्ट्रपति पौडेलले सङ्घीयता, सूचना प्रविधिको विकास तथा बदलिदो सामाजिक परिवेशअनुसार परिवर्तन भएका युवाका आवश्यकता र भावनालाई सम्बोधन गर्नेगरी नयाँ नीतिको आवश्यकता रहेको स्पष्ट पारे ।

दिनानुदिन विदेश पलायन भइरहेको युवा शक्तिलाई नेपालमै रोकेर राष्ट्र निर्माणमा कसरी प्रयोग गर्ने भन्ने कुरा आज धेरै गम्भीर बनेर आएको बताउँदै उनले हामीसँग यति धेरै प्राकृतिक सम्भावना छन्, तिनलाई समुचित ढङ्गले उपयोगमा ल्याउन सके नेपालले समृद्धिका लागि कतै भौतारिन नपर्ने बताए ।

परापूर्वकालदेखि नेपाली युवाले साहसी, योद्धा, वीरताको प्रतिक तथा विकास र परिवर्तनको संवाहकको रुपमा भूमिका निर्वाह गर्दै आएको जनाउदै राष्ट्रपति पौडेलले युवा राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणका अग्रदूत, परिवर्तनका संवाहक साथै राष्ट्रको अमूल्य सम्पत्ति भएको बताए ।

नवौं पञ्चवर्षीय योजनादेखि पहिलो पटक युवासम्बन्धी विषयलाई योजनाबद्ध विकास प्रयासमा समेट्ने प्रयास भएको पनि स्मरण गर्दै उनले भने, ‘२०६६ सालमा नेपाल सरकारले १६ देखि ४० वर्ष उमेर समूहलाई युवाको रूपमा परिभाषित गरेपछि पहिलो पटक युवा नीति २०६६ जारी गरियो र पछि राष्ट्रिय युवा नीति, २०७२ जारी भयो ।’

राष्ट्रपति पौडेलले २०७८ सालको जनगणना अनुसार, नेपालमा १६ देखि ४० वर्ष उमेर समूहको युवा जनसङ्ख्या कुल जनसङ्ख्याको ४२।५६ प्रतिशत रहेको बताउँदै यो ऐतिहासिक क्षणलाई समाज रुपान्तरणको माध्यम बनाउन युवाको सर्वाङ्गीण विकास गरी क्षमताको गुणात्मक बढोत्तरीबाट जनसांख्यिक लाभ लिई राष्ट्र निर्माणको मूलधारमा ल्याउन आवश्यक रहेको स्पष्ट पारे ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x